तरकारी खेतीमा आकर्षण बढ्दै

रोल्पा नगरपालिका-८ माडीचौरकी गउन बुढामगरले तरकारी खेतीबाट गाउँघरमै राम्रो आम्दानी गर्दै आएका छन्।

३० वर्षको उमेरदेखि तरकारी खेतीमा लागेका गउन अहिले ४० वर्ष भयो, निरन्तर तरकारी खेती गर्दै आएको। उनले टमाटर, बन्दागोपी, काउली, आलु खुर्सानी, अदुवा, लगायतका विभिन्न तरकारी खेती गर्दै आएका छन्।

वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएका गउनले तरकारी खेतीबाट नै ३ सन्तानलाई स्नातकसम्मको अध्ययन गराए। उनी भन्छन्, 'मकै गहुँ छर्न छोडेर तरकारी खेतीमा लागेँ। यसैबाट छोरा छोरी पढाए।'

हाल उनको एक छोरी शिक्षिका समेत भइसकेकी छन्। गउनले आवश्यकता अनुसार ज्यालादारीमा अन्य मान्छेलाई पनि रोजगारी दिँदै आएका छन्। त्यस्तै, सोही ठाउँकी जुनु बुढापनि तरकारी खेतीमा लागेकी छन्।

यहाँका कृषकहरुले तरकारी खेतीबाटै घर खर्चको टार्ने र बचतसमेत गर्दै आएका छन्। रोल्पामा पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ पनि किसानहरुको आकर्षण बढ्दै गएको छ। विस्तारै तरकारीले राम्रो मुल्य पाएपछि तरकारी खेतीतर्फ उनीहरुहरुको आकर्षण बढेको हो। 

हिजोआज कोरोना भाइरसका कारण विदेशबाट फर्केहरुपनि तरकारी खेतीमै लागेका छन्। रोल्पामा मौसमी तथा बेमौसमी दुवै खेती गर्नसकिने ठाउँ भएपनि परमपरागत शैलीमा खेती हुँदै आएको छ।

आधुनिक कृषि प्रणाली अपनाउन सके  उत्पादनमा वृद्धि आउने सरोकारवालाहरुको भनाई छ। हाल कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा विभिन्न कृषकहरुलाई अनुदान दिदै आएका छन्। 

किसानलाई पकेट, ब्लक जस्ता क्षेत्रमा सामुहिक तथा व्यक्तिगत रुपमा अनुदान दिइँदै आएको कृषि ज्ञान केन्द्र, रोल्पाका प्रमुख भरतमणी पोखरेलले जानकारी दिए। जिल्लाका विभिन्न ठाउँमा खेतीको पहिचान गरेर अनुदान दिने गरेको पोखरेलले बताए।

रोल्पा कृषिमा आधारित जिल्ला भएपनि यसरी व्यवसायीक रुपमै तरकारी खेती गर्ने कृषहरुको संख्या भने न्यून रहेको छ। सरकारी निकायबाट वितरण हुने अनुदानपनि वास्तविक कृषकसम्म पुग्न सकेको छैन। 

प्रकाशित मिति: : 2021-03-26 09:29:00

प्रतिकृया दिनुहोस्