घोडाचढी (इक्वेस्टेरियन) को विश्व कप छनोट खेलमा नेपाली खेलाडीभन्दै भारतीय खेलाडीलाई सहभागिता गराइएको खुलासा भएको छ।
भारतको युपी राज्यको ग्रेटर नोयडामा हालै घोडचढीको सबैभन्दा पुरानो विधा टेन्ट पेगिङको विश्व कप छनोट खेल १६–१८ मार्चमा सम्पन्न भएको थियो।
पाँच राष्ट्र सहभागी छनोट प्रतियोगितामा भारत, पाकिस्तान, बेलारुस, अमेरिका र नेपाल सहभागी भएको जानकारी दिइएको थियो।
भारतले ६ स्वर्ण, एक कास्य जित्दै कूल ५ सय १५ अंक बटुलेर विश्व कपका लागि छनोट भएको थियो। विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोजना हुँदैछ।
छनोट प्रतियोगितामा पाकिस्तान दोस्रो तथा नेपाल तेस्रो भएको थियो। भारतीय अखबारहरूले हालै यस कुराको खुलासा गर्दै छनोट खेलमा सहभागी नेपाली खेलाडी सबै भारतीय नागरिक भएको बताएका छन्।
नेपालबाट चार खेलाडी योगेन्दर, गोलाम, कपिल र विनायकको नाम दर्ता थियो। खेलाडीको थर भने समावेश गरिएको थिएन। भारतको चर्चित पत्रिका ‘टाइम्स अफ इन्डिया’ को वेभ पोर्टलमा जनाइएअनुसार गोलामको खास नाम गुलाब मोहम्मद हो।
विनायकको थर विनायक कुमार हो। ‘यी सबै भारतीय नागरिक हुन्,’ पोर्टलमा भनिएको छ।
अन्तर्राष्ट्रिय टेन्ट पेगिङ फेडरेशन (आइटीपीएफ) का अनुसार विश्व कप छनोट आयोजना गर्न पाँच वटा देश अनिवार्य सहभागी हुनुपर्छ।
भारतीय पदाधिकारीले चार वटा देश मात्र समावेश भएको अवस्थामा नेपालको नाम थपेर बदमासी गरेको हुनसक्ने नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारले बिएल नेपाली सेवालाई बताए।
भारतीय इक्वेस्टेरियन संघ (इएफआई) का महासचिव कर्णेल जयवीर सिंहले भारतीय नागरिकलाई नेपाली भनेर किन खेलाइएको भन्ने प्रश्नमा नेपाली पदाधिकारीतर्फ उल्टै दोष थोपरेका छन्।
उनले नेपालको इक्वेस्टेरियन संघबाट नाम आएको दावी गर्दै आफूहरूले नाम र थरलगायत उनीहरूको पासपोर्टको विषयमा खोजी गरिरहन आवश्यक नठानेको बताए।
‘नेपाली संघले नाम पठाएको हो। आइटीपीएफले नेपालको सहभागितालाई सुनिश्चित गरेको हो। त्यसैले हामीलाई लाग्यो, यी खेलाडीको नाम वास्तविक हो।
कुनै देशको राष्ट्रिय संघले खेलाडीको नाम स्विकृति गरेर पठाउने गर्छ, हामी यसैलाई आधार मान्छौं। नेपाली नागरिकलाई भारत आउन भिसा आवश्यक पर्दैन। त्यसैले हाम्रो ध्यान पाकिस्तान र अमेरिकी नागरिकतर्फ गयो’, इएफआई महासचिव जयवीरले भारतीय अखबारहरूको प्रश्नमा भने।
तर, नेपाल ओलम्पिक कमिटीले यसको खण्डन गरेको छ। उसले छनोट प्रतियोगिताका लागि कुनै नेपाली खेलाडीलाई स्विकृति नदिएको बताएको छ। आइटीपीएफले छनोट प्रतियोगितामा भारतीय पक्षबाट भएको यस्तो हर्कतको छानवीन गर्ने भएको छ।
नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष राजकर्णीकारले आफूहरू यस विषयमा अन्जान रहेको र कुनै खेलाडी नपठाएको बताए।
‘उनीहरूले किन भारतीय नागरिकलाई नेपाली भनेर खेलाए हामीलाई थाहा हुने कुरा भएन। हामीले खेलाडी नै पठाएका छैनौं,’ अध्यक्ष राजकर्णीकारले भने, ‘नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउँदा राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग सम्वन्य गर्नुपर्छ। हामीलाई प्रतियोगितामा सहभागी हुन न कुनै पत्र आएको छ, न कुनै जानकारी नै छ।’