एनबिए कप च्याम्पियनसिप चैत्र दोश्रो साता

नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप १५–१८ चैत्रसम्म आयोजना हुने भएको छ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गल्र्स यु–१७ र भेट्रान्स युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ।

-याङ्किङ्ग प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, बिभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफले क्लबका खेलाडीले सहभागिता जनाउन पाउने छन्।

करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै युगल तर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै यु– १७ ब्वाईज तथा गल्र्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

बिश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाइने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ बरियताबाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ।

यस्तै यु–१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक व्यवस्थापक रहनेछन्।

कोटामा परेका प्रत्येक खेलाडी, प्रशिक्षक र व्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्नेछन्। कोटाभन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले खान बस्ने व्यवस्था आफू स्वयमले गर्नुपर्नेछ।

प्रकाशित मिति: : 2021-03-14 15:33:00

प्रतिकृया दिनुहोस्