एक समय नेपाली चलचित्र उद्योगमा एउटा भनाइ प्रख्यात भएको थियो ‘जब निरुता रुन थाल्छिन् तब निर्माता हाँस्न थाल्छन्’। हुन पनि दक्षिणा चलचित्रबाट नेपाली चलचित्र उद्योगमा निरुता सिंहलाई परिचय गराउँदा निर्देशक तुलसी घिमिरेले भनेका थिए—‘सतकौँको खोजीमा प्राप्त भएकी नायिका हुन, ‘निरुता सिंह’।
नायिका सिंह भन्छिन्—‘त्यतिबेला त्यो भनाइको अर्थ नै मलाई थाहा थिएन।’ तर तुलसी घिमिरेको बोली खेर गएन, निरुताले त्यसको लागि आफुलाई योग्य र सही साबित पनि गरिछाडिन्।
नेपाली चलचित्र उद्योगका सय वटा भन्दा धेरै चलचित्रमा नायिकाको भूमिकामा छिन्, निरुता। र ती सय वटा चलचित्रमा अधिकांस चलचित्र सफल छन्। थुप्रै चलचित्र ब्लकबष्टर छन्। चलेनन् भनेका चलचित्रले पनि लगभग लगानी डुबाएका छैनन्। अब यत्ति भइसकेपछि के भन्न सकिन्छ भने, नेपाली चलचित्र उद्योगबाट निरुताको नाम मात्रै एकै छिनका लागि झिकिदिने हो भने नेपाली चलचित्र उद्योग अपुरो बन्छ र त्यहाँ एउटा खाडलको निर्माण हुन्छ।
निरुता जन्म विसं २०२९ साल असोज १० गते मंगलबार अर्थात सन् १९७२ सेप्टेम्बर २६ मा भएको हो। उनी दार्जेलिङमा जन्मिएकी हुन्। उनी उनका बुबाआमाकी कान्छी छोरी हुन्। उनीभन्दा माथि एकजना दिदी र एकजना दाजु छन्।
निरुता आफ्नो बालापन सम्झिँदै भन्छिन्—‘सानोमा म एकदमै चकचके र बदमास थिएँ। सेतो रङ उनलाई सबैभन्दा मन पर्ने रङ हो।’ उनको घरमा निरुतालाई सबैले ‘निरु’ भनेर बोलाउँछन्। उनी सानो छँदा उनलाई घरका मानिसले र उनका साथीहरूले जिस्काएर बोलाउने नाम ‘बिल्लु’ हो। उनलाई त्यतिबेला ‘बिल्लु’ भनेर बोलाउँदा खुब रिस उठ्थ्यो। निरुतालाई ग्रिन टी पिउन खुब मन पर्छ। उनी क्रिकेटकी फ्यान हुन्। उनी भ्याससम्म साना ठुला क्रिकेटका खेलहरू हेर्ने गर्छिन्। उनलाई सबैभन्दा मन पर्ने ठाउँ काठमाडौँ हो। उनलाई काठमाण्डौ चाहिँ ‘मेरो सबथोक हो, मेरो कर्मभूमि हो’ जस्तो लाग्छ।
नायिका निरुतालाई मनपर्ने जनावर बाँदर हो। उनलाई बाँदर देखेपछि हेरेको हेरेकै गर्न मन लाग्छ। बाँदरको चुलबुले र चककचे स्वाभावले उनलाई मोहित पार्छ रे। उनी सर्पसँग हदै डराउँछिन्। सर्प भन्ने सुन्दा पनि उनको स्वास रोकिन खोज्छ। टीभीमा पनि सर्प देखिन भने कि त आँखा बन्द गर्छिन कि त च्यानल परिवर्तन गर्छिन्।
विं.स. २०४५ सालमा 'ब्लकबष्टर' नायिक तृप्ती नाडकरले चलचित्र खेल्न छोड्दै गर्दा नायिका करिष्मा मानन्धर र गौरी मल्ल नेपाली चलचित्र उद्योगमा उदाउँदै थिए। तर पनि निर्देकश तुलसी घिमिरे भने नयाँ नायिककाको खोजिमा थिए। त्यही सिलसिलामा २०४७ सालमा उनले बनाएको चलचित्र दक्षिणामा पहिलो पल्ट अभिनय गराउँदै तुलसी घिमिरेले नै निरुता लाई नेपाली चलचित्र उद्योगमा भित्र्याएका हुन्।
प्रस्तुति: कृष्ण उदाशी