नेपाल भाषा पठनपाठनका लागि शिक्षकहरुलाई प्रशिक्षण

काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ। 

यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ। अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ।

संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो।  

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२  शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो। यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ।  

आगामी शैक्षिक सत्रदेखि अनिवार्यरुपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक एक जना र विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जना जम्मा शिक्षक राख्ने कामपाको तयारी छ।। रासस

प्रकाशित मिति: : 2021-03-01 06:48:00

प्रतिकृया दिनुहोस्