रुपन्देही सुपरलिग : बुटवल राइनोज डिभिजन ‘ए’ मा

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोजले शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनायो। उसका लागि विराट भण्डारीले ५२ र कृष्ण सेनले २३ रन बनाए।

बलिङमा बुटवलका राहुल साहनीले १० ओभरमा १ मेर्डन राख्दै ३६ रन खर्चेर ४ विकेट लिए। यस्तै, अब्दुल नसिम, ईश्वर खनाल र संदीप बश्यालले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बुटवलले ४० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाउँदै लक्ष्य भेट्टायो। उसको जितमा सन्जु बोहराले २३, राहुल साहनीले २२ र मंजीर भुसालले नटआउट १८ रनको योगदान दिए।

बलिङमा शंकरनगरका अखलेस यादवले ३, अमित तामाङ र कृष्ण सेनले समान २/२ विकेट लिए। राहुल साहनी म्यान अफ द म्याच भई पुरस्कृत भए। बिहीबार तिलोत्तमा क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रकाशित मिति: : 2021-02-17 17:01:00

प्रतिकृया दिनुहोस्