भागरथीका आमालाई काँग्रेसको सहयोग

नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आज घटनाको बारेमा स्थलगत अवलोकन गरेकाे छ।  उनले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका छन्। पूर्वमन्त्री रमेश लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गरेका हुन्। भेटघाटका क्रममा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए।

सो अवसरमा कांग्रेसले मृतकका आमा द्रोपती भट्टलाई रु दुई लाख नगद सहयोग प्रदान गरेको थियो। कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन्। नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए।

डीआइजी सुवेदीले अनुसन्धान साघुरिँदै गएकोले छिट्टै दोषी पत्ता लाग्ने बताए। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।

भागरथीको न्यायका लागि बैतडीमा आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन्। हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै बैतडीमा आँखामा पट्टी बाँधेर तथा हातमा मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ। भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। 

प्रकाशित मिति: : 2021-02-14 22:52:00

प्रतिकृया दिनुहोस्