दलितभित्रको आन्तरिक विभेदको अन्त्य गरी दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि देशव्यापी बृहत् राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरुआत हुने भएको छ।
सामाजिक न्याय, मुक्ति र विभेदविरुद्ध पूर्वको राजविराजस्थित रङ्गशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सो अभियान शुरु हुने अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले जानकारी दिए।
पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पीडित समुदायले बलिदानी दिइरहे तर, दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने अझै फेरिएको छैन' उनले भने, 'दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना अझै भइरहेको छ।'
यी र यस्ता घटनालाई मध्यनजर गर्दै न्याय, मुक्ति र विभेदविरुद्ध सडकमा देशभरिकै दलित समुदाय एकीकृतरुपमा उत्रिनुपर्ने बाध्यता आइलागेको उहाँको कथन थियो। अभियानका क्रममा दलित समुदायभित्र रहेका विभेदको विषयमा छलफल, बहस गरिने, अहिलेसम्म दलित समुदायको अवस्थामा सुधार नआउनुको पछाडिको कारणबारे देशव्यापी बहस चलाइने जनाइएको छ।
‘संयुक्त दलित सङ्घर्षको राष्ट्रिय दलितमुक्ति जागरण अभियानले देशव्यापीरुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने जनाएको छ।
सरस्वती पूजामा हुने विकृति रोक्न सक्रियता
वसन्तपञ्चमीका नाममा हुने छाडापन र विकृतिजन्य कार्य रोक्न सिरहाको स्थानीय प्रशासनले कडा नीति अपनाएको छ।
सरस्वती पूजाको अवसरमा चर्काे स्वरमा डिजे बाजा र अश्लिल गीत बजाउन रोक लगाउँदै स्थानीय प्रशासनले त्यस्तो कार्य गर्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सरस्वती पूजामा डिजेबाजा र अश्लिल गीत बजाए कानूनबमोजिम कारवाही गरिने जनाएको छ।
सरस्वती पूजामा डिजेबजाको प्रयोग नगर्न र भोजपुर, मैथिली, नेपाली अश्लिल किसिमको गीत नबजाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलद्वारा हस्ताक्षरित सूचनामा बेवास्ता गरी चर्काे स्वरमा डिजे बजाउने, अश्लिल गीत बजाउनेलाई तत्काल पक्राउ गरिने उल्लेख छ।
पक्राउ पर्ने डिजे जफत गरी सम्बन्धित व्यक्तिमाथि कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै सरस्वती पूजाको नाममा विद्यालयले उठाइरहेको चन्दासमेत तत्काल रोक्न निर्देशन दिँदै सूचनामा विद्यार्थीबाट सरस्वती पूजाको नाममा जिल्लाका सामुदायिक तथा निजी विद्यालयले उठाइरहेको चन्दा नउठाउनु र उठाएको चन्दासमेत फिर्ता गर्न निर्देशन दिएको छ। रासस