केपीको बयलगाडा र नेपालको गणतन्त्र

कुनैपनि ब्यक्तिलाई बिचार, क्षमता र योग्यतामा पराजित गर्न सकिएन भने उसको चरित्रमा प्रहार गर्नुपर्दछ। यदि चरित्रपनि ठिकै छ भने उसको भनाईलाई समाउनु पर्दछ। उसको स्वभावलाई केलाउनु पर्दछ। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएकाले ओलीको अभिब्यक्त वा भनाईलाई मिसनको रुपमा चलाएको पाइन्छ। कुनैबेला उनले ब्यक्त गरेका आफ्ना भनाईलाई टार्गेट गरेर बारबार ओलीको मर्ममा प्रहार गर्दा उनीहरु नांगिएको कमैले मुल्यांकन गरे होलान। 

प्रसंग हो, बिहीबार माधव–प्रचण्ड समुहले फेरि पनि ओलीलाई बयलगाडा शब्दले प्रहार गरे। कमरेड प्रचण्डले बारम्बार भनिरहे ‘जब हामी राजसंस्थाको बिरुद्ध आन्दोलन गर्दा’ उहाँले ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्नुभयो। उहाँ गणतन्त्र बिरोधी हो भन्नुभयो। यसो भन्दैगर्दा प्रचण्ड आफैं कति खुइलिए भन्ने उहाँलाई हेक्का छैन। अब धेरै उता नगइकन २०५७ देखि यता गणतन्त्र, संघीयता र बयलगाडामा विश्लेषण गरौं। 

२०५७ सालमा तत्कालीन माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको विचारका रुपमा ‘माक्र्सवाद–लेनिनबाद र प्रचण्डपथ’ पारित भयो। प्रचण्डपथ र प्रचण्डका विचार भनेर किताबहरु छरपष्ट निस्किए। त्यतिबेला प्रचण्ड जंगलका सिंहजस्ता थिए, मिडियामा उनको तस्बिर सार्वजनिकसमेत भएको थिएन। प्रचण्ड एउटा अनुमान मात्र थिए सबैका लागि।

०६२/०६३ को जनआन्दोलन पश्चात प्रचण्ड सार्वजनिक भए। वालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको राप र तापले देशले न्यानो महशुस गर्न थालेको थियो। भाषण गर्दागर्दै वालुवाटारमा लाइन गएपछि प्रचण्डले देशको हालत यस्तो भनेर कटाक्ष गरेका थिए।   
२०६४ सालमा संविधानसभाको निर्वाचन भएपछि माओवादीले ६०१ स्थानमध्ये माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ स्थान प्राप्तगरी संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो। ०६५ साल साउनमा संविधानसभाको बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चुन्यो।

प्रचण्ड प्रधानमन्त्री भएपछि कर्मचारीबृत्तमा सर्तकता, कालाब्यापारीको भागाभाग, मेनपावरहरुले अफिसमा पासपोर्टहरु नराख्ने, प्रहरी प्रशासनहरु सबै डराएका थिए। अव देशमा प्रचण्डले कहाँ कहाँ छापा हानेर देश कसरी हाँक्छन् भनेर सबैक्षेत्र त्रासमय भएको मैले अनुभव गरेको थिएँ। हामी केही सरकारी गैरसरकारी क्षेत्रमा पुगेर प्रतिक्रिया लिँदा त्यो थाहा पाउँथ्यौं।

अस्थिरतामा खेल्न रमाउने प्रचण्ड

मान्छेले एउटा उचाई कायम राख्नु र राखिरहनु फरक कुरा हो। सगरमाथामा झण्डा गाडिरहन सकिँदैन। प्रचण्डले आफ्नो उचाई घटाउँदै लगे। ०६५ सालमा प्रधानसेनापतिको अवकाशलाई लिएर नेपाली सेनामाथी प्रचण्डको प्रहार तुहाइयो। तत्कालिन सेनापति रुक्मागत कटुवाललाई प्रचण्डले हटाइदिए। तर राष्ट्रपति रामवरण यादले असंवैधानिक कदम भनेर पुर्नस्थापना गरेपछि नैतिकसंटक आइलाग्यो र प्रचण्डले प्रधानमन्त्रीबाट चैत्रमा २२ गते राजीनामा दिए। संसदवादी दलदलमा प्रचण्ड फस्न पुगेँ। उनले चुनाव हारेका माधव नेपाललाई ल्याएर एमालेसँग मिलेर प्रधानमन्त्री बनाइदिए। फेरि माधव नेपाललाई फालेर उनले झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिए। एमालेभित्र प्रचण्ड ‘किंगमेकर’ बनेर खेल्नुसम्म खेले।

आफ्नै सहकर्मीलाई प्रधानमन्त्री बनाउने खेलमा नलागेको भन्दै चौतर्फी उनको आलोचना भएपछि ०६८ सालमा बाबुराम भटृराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे। रामचन्द्र पौडेललाई हराएर बाबुराम भटृराई संविधानसभाबाट प्रधानमन्त्री चयन भए। सोही वर्ष २०६९ साल जेठ २ गते बाबुराम भटृराइको समितिले संविधान जारी गर्दैथियो। देव गुरुङले सबै ड्राफ्ट गर्दैथिए। प्रचण्डको लोकप्रियता घट्दै थियो र बाबुराम लोकप्रियताको शिखर चढ्दै थिए। अब संविधान बाबुरामले ल्याउनेछन् भन्ने भयबाट रातरात असफल बनाइयो र ०६९ कै जेठ १४ मा संविधानसभा भंग गरियो। यो भंग हुनुमा प्रचण्डको हात छ। इतिहासमा दुर्भाग्यका रुपमा यो घटनालाई लिइन्छ। बाबुराम भटृराईले संविधान जारी गर्न नसकेपछि राजीनामा दिए। यस घटनाभन्दा अघि फेरि एकपटक पछाडि फर्कौ।

कसरी  छाडे प्रचण्डले माओवाद?

०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरस्थित खरिपाटीमा चलेको राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक दस्तावेजमा ‘प्रचण्डपथ’ समेटिएको थियो। त्यो सम्मेलनमा प्रचण्डपथलाई पुनर्विचार गर्नुपर्ने भनेर मोहन बैद्यले फरक दस्तावेज पेश गरे।

सोही वर्षको पुष ३० गते नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रसँग पार्टी एकता गर्दै प्रचण्डपथ र माओवादी छाडिए। प्रचण्डले लिखितरुपमै प्रचण्डपथलाई स्थगित गर्दै ‘माक्सवाद–लेनिनवाद–र माओवाद विचारधारालाई पार्टीको पथप्रदर्शक’ सिद्धान्त मान्ने प्रस्ताव थियो। यसबाट के प्रष्ट हुन्छ भने माओवाद र प्रचण्डपथ छाडेर हामी विचारधारामा मात्रै मान्ने भए सिद्धान्त होइन।

प्रचण्ड कसरी गणतन्त्रबादी भए ?

पहिला प्रचण्ड गणतन्त्रबादी थिएनन्, होइनन्। उनीचाँहि ज्ञानेन्द्रसँग वार्ता गरेर प्रधानमन्त्री हुने लाइनमा थिए। ज्ञानेन्द्रले गणतन्त्रवादी र ननगणतन्त्रवादीबीच कित्ताकाट हुनपरयो भनेपछि प्रचण्डले गणतन्त्र भएकै आधारमा बाबुराम र दिनानाथ शर्मालाई कारवाही गरे।

ज्ञानेन्द्रले अब माओवादी सिद्दियो प्रचण्ड बसेकै घरलाई ताकेर हेलिकप्टरबाट वमवर्षा गरेपछि बाबुरामको शरणमा गणतन्त्रको लाइनमा गए प्रचण्ड। यसलाई बहुचर्चित चुनवाङ बैठक भनिन्छ। सो बैठकको लोकतान्त्रिक गणतन्त्र कार्यनीति पासगर्दै संसदबादी दलहरुसँग सहकार्य गर्ने भनियो र १२ बुँदे कायम भयो। माओवादीले जनयुद्ध सुरु गर्दा गणतन्त्रको कुनै स्वरनै थिएन। जब राजा वीरेन्द्र मारिएपछि मात्र गणतन्त्रको स्वर उर्लेको हो। ०५२ सालमा ४० सूत्रीय मागमा बुझाएर माओवादीहरु जंगलपस्दा स्पष्टरुपमा गणतन्त्र लेखिएको थिएन।
 
प्रचण्डले बिगतमा भारतलाई निम्त्याएका हुन्

नारायणकाजीको साथ पाएपछि प्रचण्डले कहिले मोहन बैद्यलाई कहिले बाबुरामलाई पेल्ने गरेपछि ०६९ सालमा बैद्यहरु फुटे। बाबुरामले पार्टी पुनर्सरचना गरौं भन्दा प्रचण्डले पार्टीलाई पारिवारिक लिमिटेड बनाइदिए। सबै परिवार नातागोतालाई केन्द्रीय समिति बनाइदिए। पहिलो संविधान पनि प्रचण्डकै कारण भाँडिएको पिडा एकातिर बाबुरामहरुलाई थियो।

त्यसअघि बाबुरामको राजीनामापछि पार्टी महाधिवेशनतिर लाग्यो भने प्रचण्डले भारतलाई गुहारेर खिलाराज रेग्मीलाई प्रधानमन्त्री र चुनावी सरकार बनाउन सहयोग गर्न लगाए। यस पंक्तिकारलाई एकदिन बाबुरामका राजनीतिक गुरु मानिने एसडी मुनिले भनेका थिए–‘तिम्रो देशमा अबको पीएम सीजे हो’।

मुनिले एकमहिनाअघि बताएका थिए यी कुरा। मैले तत्कालीन सौर्य दैनिकका प्रधानसम्पादकलाई भनेको पनि थिएँ। मेसेजसहित पठाएको थिएँ यस बारेमा। यसरी प्रचण्डले त्यतिबेला भारतलाई देश चलाउन आव्हान गरे। जसबाट नेपालको इतिहासमा खिलाराज रेग्मी नेपालको  कार्यकारी भएर आए। यही प्रवृति यसपटक पनि गर्न खोजेका थिए श्रीमतीको उपचारका नाममा। तर, भारतको मौनता देखेपछि उनले नेपाल फर्किएर भारतको मौनता रहस्यमय भन्दै भारतको इशारामा केपी ओलीले संसद विघटन गरेको आरोप लगाए। 

यसरी पार्टी पतनतर्फ उन्मुख?

खिलाराज रेग्मीको नेतृत्वले ०७० मंसीरमा दोस्रो संविधानसभाको निर्वाचन गरिदिएपछि समानुपातिक र प्रत्यक्षगरी पार्टी ८० सीटमा खुम्चिन पुग्यो। संविधानसभामा तेस्रो भएपनि बाबुरामलाई संविधान निर्माणको जिम्मेवारी थियो। ०७२ असोज ३ गते नयाँ संविधान जारी गरेर बाबुराम निक्लिए। असोजमै बाबुराम पार्टीबाट निक्लिएर नयाँ शक्ति पार्टी बनाए।

एमालेले सुशील कोइरालालाई प्रधानमन्त्री बनायो। फेरि प्रचण्ड र केपी मिलेर सुशील कोइरालालाई फालियो र केपी ओली प्रधानमन्त्री चुनिए प्रचण्डको सहयोगमा। सरकारमा माओवादी पनि सामेल भयो। फेरि आफैंले बनाएका प्रधानमन्त्रीको बिरुद्ध कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव लगेर केपी ओलीलाई फालेर ंप्रचण्ड आफै प्रधानमन्त्री बने। प्रचण्डले राजनीतिक सहमतिअनुसार शेरबहादुर देउवालाई हस्तान्तरण गरे। शेरवहादुर देउवाले चुनाव गराए।

गणतन्त्र र संघीयता कसको लाइन?

यसरी बैचारिक बिचनल देखिएका प्रचण्डको कुनै राजनीतिक लाइन छैन। संघीयताको लाइन र देशमा संघीयता कार्यान्वयनमा ल्याउन उपेन्द्र यादवको देन छ भने गणतन्त्रको देन बाबुराम भटृराईको हो। गणतन्त्रको वकालत बाबुराम भटृराइले पहिल्यैदेखि गरेका हुन्। उनको दुई दशकअघिको बिजयकुमार सँगको अन्तर्वार्ता गहिरिएर हेर्दा हुन्छ। प्रचण्डले आफू प्रधानमन्त्री हुन बारम्बार ज्ञानेन्द्रसँग बार्ता गरेको कुरा मितेरी अस्पतालका संचालक बिरेन्द्र झापाली र डिआर लामिछाने साक्षी छन्।

लामिछानेको मृत्यु भैसकेपनि झापाली जिवित छन्। दोस्रो वार्ताकालमा सिधै ज्ञानेन्द्र र प्रचण्डको वार्ता गराउने मध्यस्थकर्ता यी दुई थिए। जब प्रचण्ड बसेको ठाउँमा राजा ज्ञानेन्द्रबाट सैनिक परिचालन भयो, त्यसपछि बाबुरामको शरणमा पुगेर प्रचण्ड बाबुरामको लाइनमा पुगेका हुन्। तराई नरसंहारबाट संघीयता आएको हो। यसको देन उपेन्द्र यादवमाथी जान्छ। राजनीतिक विश्लेषकहरुले यी कुरा बुझेका छन्।  

बयलगाडा भनाईको अर्थ के हो ?

०६२/०६३ को जनआन्दोलन चलिरहेको थियो। कांग्रेसमा गुरु घिमिरे र गगन थापाले गणतन्त्रको स्वर सडकमा ल्याएका थिए। तर कांग्रेसको विधानमा ‘संबैधानिक राजतन्त्र’ भन्ने थियो भने एमालेको बिधानमा पनि संबैधानिक राजतन्त्रसहितको प्रजातन्त्र भनिएको थियो। यस्तोमा दुईचार जनाले सडकबाट गणतन्त्र र पार्टीमा दुईचारजनाले गणतन्त्र भनेर पाखुरा मुर्सादा पार्टीको लाइन एकातिर गणतन्त्र अर्कोतिर हुने हुँदा यसरी आन्दोलन गरियो भने कहिँ पुगिन्न। त्यसकारण यस्तो किसिमको आन्दोलनले ‘बयलगाडा चढेर अमेरिका जान खोज्नु जस्तो हो’।

पार्टीको लाइन, विचार र दृष्टिकोण एकातिर, यात्रा अर्कोतिर भयो भनेर उहाँले भन्नुभएको थियो। त्यसपश्चात एमालेले राजसंस्था उन्मुलन गर्दै गणतन्त्रमा जाने पार्टीको नीति र विधान बनायो। सँगसँगै केपी ओली र नरहरी आचार्य मिलेर महाराजगञ्जमा बसेको गोप्य बैठकले एउटा प्रतिवेदन बनायो। सो प्रतिवेदन गिरिजा बाबुलाई बुझाईयो। गिरिजा बाबुले पार्टीको बिधानबाट संबैधानिक राजतन्त्र हटाएर गणतन्त्र भनेर लेख्न लगाए। त्यो कुरालाई वयोवृद्ध नेता कृष्णप्रसाद भटृराइले विरोध गरेपनि कांग्रेसले टेरेन।

अन्ततः दुइटा पार्टीले गणतन्त्रमा जाने जोड दिए। जसको श्रेय केपी ओलीलाई जान्छ। र त्यसपछि बल्ल नीतिगत रुपमा दुवै पार्टीले गणतन्त्रको लागि आन्दोलन गरे। त्यसपछि बल्ल सडकमा जनता उर्लेका हुन। इतिहासमा सहि र तथ्य कुरालाई लेख्न भन्न डराउनु हुँदैन। बयलगाडाले नै गणतन्त्र ल्याएको हो। यसरी बल्ल बयलगाडाबाट गणतन्त्र आएको हो भन्दा अत्युक्ति हुँदैन।

यसरी उनीमाथी बयलगाडा भन्ने शब्द प्रहार गर्नुभन्दा पहिले त्यो शब्द किन र के कारणले भनिएको थियो भन्ने कुरामा ध्यान नदिई त्यसको मर्म र गहिराईमा नगई केपी ओलीलाई खुइल्याउने तल्लो र नीच स्तरको ब्यबहार हो भन्ने कुरा स्पष्ट हुन्छ। 

जनताले कस्ता नेतालाई चुन्ने, छान्ने भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ। त्यसकारण उनीमाथी अन्य कुनै तत्व र कारणले पराजित गर्न नसकेपछि यही एउटा शब्द विरोधीको मुखमा झुण्डिएको हो। बयलगाडाका कारण नै कांग्रेसले बिधान परिवर्तन गर्नु परेको हो भने एमालेले दस्तावेज परिवर्तन गर्नुपरेको तथ्यलाई भुल्न हुँदैन। 

(लेखक गैरआवासीय नेपाली हुन्।) 
 

प्रकाशित मिति: : 2021-01-25 18:17:00

प्रतिकृया दिनुहोस्