परिवारको खुशीको खोज्न मलेसिया पुगेका लक्ष्मी बाकसमा फर्किए, विमानस्थलमा छोराको शव उठाउदै भक्कानिए बुवा। शनिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खचाखच थियो। नेपालबाट बाहिरिने र भित्र्नेकाहरुको चाप उस्तै।
कोही आफन्तालई बिदाइ गर्न फूलमालासहित विमानस्थल पुगेका थिए त कोही त्यसै गरी स्वदेश फर्किएकालाई स्वागत गर्न। सबैकाे मुहार हँसिलाे थियाे।
तर त्यही भिडकाे बिचमा मलिनाे अनुहार बनाएर बसेका थिए,पाँचथर कुम्मायक गाउँपालीका-३ का नरबहादुर माझी। उनी हातमा एक कागज समातेर रन्थनिदै थिए।
निकै चिन्तित मुद्रामा देखिएका उनले प्रहरीलाई सोधे, ‘विदेशबाट आएका शव कहाँबाट लिने होला?’
छेउमै रहेको एक प्रहरीले उनलाई केही सान्तोना दिने प्रयास गरे। तर नरबहादुरको मलिन अनुहार देखेर उनलाई प्रश्नको जवाफ दिन बाध्य बनायो।
प्रहरीले भने,‘एकछिन उता बस्नुहोस्, अझै कर्मचारी आएका छैनन, आएपछि बोलाउँछौ’।
विमानस्थल भवनको पिँढिमा टुसुक्क बसे। उनको प्रतीक्षाको कारण थियो छोरा लक्ष्मीकुमार माझी। उनी परिवारलाई खुशी बनाउन ८ वर्ष अगाडि मलेसिया भासिएका थिए।
तर दैवले उनको परिवार खुशी भएको देख्न सकेन। लक्ष्मीले उतै अन्तिम सास फेरे।
‘३/४ दिनसम्म काममा नगइ कोठामै सुतेर बसेको थियो रे, मंसिर २६ गते अचेत अवस्थामा देखेपछि साथीभाइले अस्पताल लगेछन्। अस्पतालले मृत्यु भएको बताएछ।उसका साथीहरुले तपाईको छोरा मर्यो भन्नेर फोन गरेका थिए। डेढ महिनापछि छोराको शव आएकोले लिन आएको हुँ,’ नरबहादुर भन्दै थिए।
उनको शव नेपाल फर्काउने सूचना पाउनेबित्तिकै बुबा नरबहादुर शनिबार काठमाडौं ओर्लिएका थिए। केहीबेरमा नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १९ जनाको शव विमानस्थलमा झर्यो।
उनलाई हतास थियो छोराको शव हेर्न। नजिकै रहेका कर्मचारीले उनलाई शव परिचाहन गर्न सहजिकरण गरिदियो। उनले आफ्नो छोराको शव चिने र बाकस आफै तान्दै विमानस्थलको गेटबाट बाहिर निस्किए।
घरसम्म पुर्याउन शवलाई तान्दै गह्रौं पाइला अगाडि बढाए। बाहिर उनको छोराको शव लैजान गाडिमा कुरिरहेको थियो। बुढो हड्डि त्यसमाथि पारिवारिक बिछोडको पीडा। उनी एक्लैले शव सकिनसकि गाडिमा राखे।
तर गाडीमा शव राखेसँगै उनले आफ्नो आँशु थाम्न सकेनन्। छेउमै रहेको गाडी नजिकै थचक्क बसेर भक्कानिए।
खेतीपाती गरेर खानलाई जग्गा जमिनकाे अभाव रहेछ। प्रेम विवाह गरेपछि माछा मारेर मात्रै खान नपुगेपछि परिवारकै सल्लाहमा उनी मलेसिया हिँकिएका रहेछन्। उनी उतै रहेको बेला जन्मिएको रहेछ छोरी।
‘छोरी जन्मिने बेलासम्म सबै कुरा राम्रै थियो। ३ वर्षपछि छोरा नेपाल फर्किने बेलैमा उसकी पहिलो श्रीमती धन पैसा लगेर अर्कैसँग बिहे गरेर गइन्। छोराले कमाएको धन बुहारीले च्यापेर हिँडेपछि हामीलाई पुन: आर्थिक चापले पेल्न थाल्यो,’ उनले भने।
लक्ष्मीले बुढा बुबालाई स्याहार गर्न अर्को बुहारी ल्याउने सोच बनाए। छोराको जिद्दीको अगाडि केही लागेन नरबहादुरको।
लक्ष्मीले दोस्रो विहे गरे। ‘कान्छी श्रीमतीबाट २ वटा छोरा जन्मिए। हामी त काम गरेर खान सक्ने थियौं। तर छोराछोरीलाई पढाउन् र श्रीमतीलाई पाल्न गाह्रो भएपछि छोरो पुनः मलेसिया हिँड्यो। पैसा कमाएर ल्याउँला सोचेका थियौं, तर उसको सास पनि नेपाल फर्किन पाएन,’ नरबहादुर भक्कानिदै बिगत सुनाउन थाले।
उनका छोरा लक्ष्मी दोस्रो पटक मलेसिया गएको ८ वर्ष भएको थियो। उनी त्यहाँ पुगेर करिब डेढ वर्ष नेपालबाट तय भएको कम्पनीमा काम गरे। कम्पनी नियमित पैसा नदिएपछि कम्पनी छोडेर भगे। त्यसपछि साथीहरुसँग बसेर अबैधानिक रुपमा काम गर्दै आएका थिए।
त्यही क्रममा उनको गएको हो ज्यान। उनको मृत्युपछि शव घर ल्याउन धेरै मुस्किल भयो। त्यहाँ भएका साथीभाइले चन्दा उठाएर उनको शवलाई नेपालसम्म ल्याउने व्यवस्था मिलाएका हुन्।
‘छोरा विदेश भएको बेला कमाउन नसकेको भन्दै घरमा नियमित पैसा पठाउँदैन थियो। आर्थिक अभावले पारिवरिक अवस्था नाजुक हुँदै गयो। घरम केटाकेटीलाई खानलाउनसमेत गाह्रो भएको थियो,’ उनले भने।
मृतक लक्ष्मीको घरमा आमाबुबा, श्रीमती र २ छोरा १ छोरी छन्। छोरीले झापाको निजि विद्यालयमा पढ्छिन्। २ छोराले गाउँमै पढ्छन्। श्रीमतीले गाउँमा मेलापातको काम गर्छिन्।
‘अहिले यहाँ शव ल्याउन आउदा पनि गाउँमा चन्दा उठाएर आएका हौं। अब घरमा कसरी काजक्रिया कसरी गर्ने थाहा छैन। गाउँपालिकाले शव घर ल्याएपछि १५ हजार दिन्छु भनेको छ, त्यसैले धान्नुपर्ला,’ नरबहादुरले आँखु खसाल्दै भने।