शहरी विकासमन्त्री प्रभु साहले इतिहास अझ एकचोटी रच्ने समय आएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश दुईले वीरगञ्जमा आयोजना गरेको पार्टीको भेलालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘पहिला भन्दा अहिले सशक्त भएर मुलुकलाई एउटा नयाँ दिशामा पुर्याउने समय आएको छ,’ उनले भने,‘यसलाई सदुपयोग गर्नुपर्छ।’
अहिले देश जटिलताको तरफ उन्मुख भएको उनले दावी समेत गरे। उनले भने, ‘पार्टी आन्तरिक कलहले गर्दा विघटनतर्फ गएको छ। यस्तो अवस्थामा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ।’
उनले पार्टी फुटको अवस्थामा पुगिसकेको भन्दै यसलाई जोगाउन दुबै अध्यक्ष अगाडि सर्नुपर्ने बताए।
‘केही दिन पहिला विश्वको रंगमञ्चमा नेपालको गर्वस्थिति निर्माण गरेको अवस्थामा झ्न्डै दुई–तिहाईको अवस्थामा जनमत प्राप्त रहेको कम्युनिष्ट पार्टी अहिले विघटन उन्मुख छ,’ उनले भने,‘ यसबारे गम्भीर रुपमा बिचार दुबै अध्यक्षले गम्भिर हुनुपर्छ।’
उनले बाहिरको शक्तिको हस्तक्षेप नभएको बताउदै पार्टी भित्रकै केही नेता कार्यकार्ताको अन्त्रघाती र अवसरवादी प्रतिक्रान्तिकारीले नै पार्टी विघटन हुने अवस्थामा ल्याएको दाबी गरे।
‘दुश्मनले गर्ने काम पार्टी भित्रबाट नै हुन थालेको छ। यिनीहरुले नै पार्टी फूटको संघारमा ल्याएका हुन्,’ उनले भने,‘जसलाई टिका लगाएर कमिटी
सदस्य बनाएका थियौं उनीहरुले समेत पार्टीलाई राम्रोसँग सञ्चालन गरेनन्’
विश्वमा कतै आफ्नो पार्टीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई अविश्वाशको प्रस्ताव दर्ता नभएको भन्दै साहले अहिले पनी कही नबिग्रे र मिलेर जानुपर्ने बताए।