लहानका दूग्ध किसान भन्छन् : सरकार! हाम्रो दूध बिक्न छाड्यो (भिडियो रिपोर्ट)

लहानका दूग्ध किसानले सरकारसँग बजार व्यवस्था गरिदिन माग गरेका छन्। प्राइभेट डेरी खुल्ने चलन बढेपछि लहान बजारमा आफूले उत्पादन गरेको दूध बिक्न छोडेको उनीहरुको भनाई छ। 

यसले किसानहरुको चिन्ता बढाएको छ। ‘लहानमा खुलेका डेरीहरू सस्तोमा दूध माग्छन्’, लहान नगरपालिका–२१ का दूग्ध किसान रामबाबु यादवले बिएल नेपाली सेवासँग भने, ‘भैँसीलाई पाल्न समेत नपुग्ने रेटमा कसरी दूध दिने?’

 डेरीहरूले उन्नत जातका जर्सीगाई पालेर बजारमा सस्तो मूल्यमा दूध बेच्न थालेपछि लहानका किसानहरू समस्यामा परेका हुन्। सिरहाको प्रमुख शहर लहानमा हालसालै ६ वटा डेरी सञ्चालनमा आएको लहान नगरपालिकाले जनाएको छ। 

दूग्ध किसानहरू एक लिटरको मिनरल वाटरको बोतलमा राखेर साइकलको सहाराले बिहानबिहान घरघरमा गएर दूध बेच्छन्। कतिपयको उठाउना हुन्छ। तर डेरी खुलेपछि आफूहरूको उठाउना ह्वातै घटेको छ। 

बजार डुलेर नबिकेको दूध उनीहरू लहानको तरकारी बजारमा लाम लागेर भूईँमा बेच्न विवस छन्। ‘सरकारले उचित मुल्यमा सबै किसानको दूध एकै ठाउँमा किनिदिए हुन्थ्यो,’ यादवले भने, ‘तर नगरपालिकाले भैँसीको उपचार समेत गरिदिँदैन, भैँसीलाई नियमित लगाउनुपर्ने खोप पनि लगाइदिँदैन।’ 

लहान नगरपालिकाका मेयर मुन्नी साह भने दूग्ध किसानका लागि चालू आर्थिक बर्षमा ७५ तथा भेटनरीका लागि ५० लाख अनुदान छुट्याएको दावी गर्छन्। 

भन्छन्, ‘किसान केही माग्न आउँदैनन्। नगरपालिका त किसानहरूले दूग्ध सहकारी खोलेर सामूहिक डेरी खोलुन् भन्ने पक्षमा छ।’

नगरपालिकाको रेकर्डमा लहानमा करिब १ हजार दूग्ध किसान छन्। लहान नजिकैको धनुषाको ढल्केबरमा रहेको दूग्ध बिकास संस्थानको जनकपुर आयोजनाको काम किसानहरूले उत्पादन गरेको दूध किनेर प्रशोधन र प्याकेजिङ गरि बजारमा बेच्ने काम हो। 

तर त्यही संस्था निजी डेरीसँग मोटो कमिसन बुझेर आफ्नो समस्यामा आँखा चिम्लिँदै आएको किसानहरुको गुनासो छ। 

लहानका १ हजार दूग्ध किसानको समस्याले कृषिमा क्रान्ति गर्छु भन्दै कृषि तथा पशुपञ्छी मन्त्री बनेर सिंहदरवार छिरेका क्रान्तिकारी नेता घनश्याम भुषालको कार्यक्षमता माथी पनि प्रश्न चिन्ह खडा भएको छ।  

सत्तारूढ नेकपाको भातृ संगठनसँगै पार्टी संगठन बिभाग प्रमुख तथ सचिवालय सदस्य रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री बन्ने चक्करमा लागिरहँदा कम्युनिष्ट पार्टीको सुविधाजनक सरकार हुँदा पनि किसानका समस्यामा खासै परिबर्तन आउन नसकेको यहाँको राजनीतिक बृत्तको बुझाई छ। 

स्मरणीय छ, लहान नगरपालिकामा पनि पूर्ब एमालेका मुन्नी साहको नेतृत्वमा बहुमत सहितको सुबिधासम्पन्न नगर कार्यपालिका छ। तर मेयर साहले पनि किसानको क्षेत्रमा खासै काम गर्न सकेका छैनन्। 

प्रकाशित मिति: : 2020-12-15 07:44:00

प्रतिकृया दिनुहोस्