‘पत्रकारिता आत्म–सम्मानको पेशा भयो। जतिनै पीडा खेप्नुपरे पनि यस क्षेत्रबाट अलग हुन नसकिने रहेछ। अहिले नेपालमा धेरैजसो मिडियाले तलब दिन सकेका छ्र्रैनन्। सक्नेले पनि नदिएको अवस्था छ। दिइराखेका छौ भनिरहेकाले पनि आधा तलब कटाएर दिएका छन्। त्यही हात थाप्नुपर्ने स्थिति बनेको छ।’
काठमाडौंबाट प्रकाशित एक दैनिकका सम्पादकको यो भनाई सञ्चार क्षेत्रको वर्तमान अवस्थालाई केलाउने एउटा प्रतिनिधि विचार हो। कोरोना भाइरसको महामारीले जनस्वास्थ्य र जीवनका बहुपक्ष थलिएका छन्। वर्षदिन भइसक्यो यसले स्वास्थ्यसँगै अर्थतन्त्रलाई घुँडा टेकाएको छ। स्कूल वा कलेज पढ्ने तरिका बदलिएका छन्। व्यक्तिका दैनिकी आनका तान भएका छन्।
संक्रमितको लागि अंग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी एवं सेवाप्रदायको अवस्था जटिल छ। यिनै सेवा प्रदायकमध्ये एक संचारकर्मी समस्याका भूमरीबीचको कहरसँग भिड्दै छन्। यसै प्रसंगमा यस लेखमा पत्रकारिता क्षेत्रमा कोरोनाले पारेको प्रभावबारे केन्द्रित गर्नेछु। कोरोनाको महामारीको परिणाम पत्रिकाका पृष्ठहरुमा कटौति, पत्रकारहरु हात मुख जोर्ने बाटो बन्द भएको छ। संचारगृहहरु डगमगाएका छन्। संचारक्षेत्रमा लैगिक असमानता थप चौडा भएको छ। कामबाट हटाइनेहरुमा महिलाहरु पहिलो रोजाइमा परेका छन्। कामको भार बढी महिलालाई नै परेको छ।
पत्रकारिता गर्ने शैली बदलिएको छ। छापा माध्यम कै अनलाइन संस्करणका पाठकहरु बढेका छन्। समाचारको माग बढेको छ। तर विज्ञापनमा ह्रास छ। विश्वसनीयतामा ठूलो प्रश्न चिन्ह लागे पनि समाजिक संजालमा पाठकको अर्कषण उत्तिकै बढेको देखिन्छ।
अध्ययन के भन्छन्:
अमेरिकाको पियुरिसर्च सेन्टर अप्रिल महिनामा १० देखि २२ तारिखसम्मको अवधीलाई लिएर कोभिड पेन्डामिकको पत्रकारिता क्षेत्रमा परेको प्रभावबारे एउटा अध्ययन गर्यो। दशहजार एक सय ३९ जना वयस्क अमेरिकी नागरिक समावेश अध्ययनले पेन्डामिकले पत्रकारहरुको रिपोटिङ गर्ने तरिका बदलिएको बताए। ७१ प्रतिशत सहभागीले रिर्पोटिङको तौरतरिका व्यापक वा केही मात्रामा भए पनि बदलिएको छ। २८ प्रतिशत अमेरिकीले भने परिवर्तन गर्नुपर्दैन भन्ने थिए। साथै यसको प्रभाव संचारगृहमा कस्तो पर्ने भनेर ठ्याक्क भन्न कठिन भएको बताउने ३४ प्रतिशत थियो।
त्यस्तै, पोयन्टर संस्थाका अनुसार न्यूयोर्क टाइम्सले अप्रिलमा प्रकाशन गरेको एउटा रिपोर्टमा अमेरिकामा करिब ३३ देखि ३६ हजार पत्रकार र संचारगृहमा कार्यरत बेरोजगार भएछन्। यस संस्थाले संस्करणहरु घटाउने, पत्रकार एवं कर्मचारी कटौति एवं बन्द हुने संचारगृहको अभिलेखीकरण गरिरहेको छ।
अप्रिलदेखि नोभेम्बर २५ सम्मको अभिलेखमा दुई सय २७ पत्रपत्रिकाले प्रकाशन घटाएको र पत्रकार कटौती गरेका छन्। त्यस्तै १५ वटा टेलिभिजन च्यानलहरु, २७ वटा रेडियो र २४ वटा म्यागजिनले पनि कार्यक्रम उत्पादन घटाउनुका साथै कर्मचारी र पत्रकारलाई केही रकम दिएर विदा गरेछन्। ओपन सोसाइटी फाउन्डेशनअनुसार न्यूयोर्क टाइम्सको पहिलो चौमासिक रिपोर्ट २०२० मा १० प्रतिशतले कूल सब्सक्राइबर बढेको देखियो। र सो पत्रिकाको साइट भिजिट गर्नेहरु दोब्बर बढे। तर दोस्रो चौमासिकको रिपोर्टमा राजश्व ५५ प्रतिशतले घटेको छ।
चुनौतिः
कोभिड महामारीको रिपोर्टिङ गर्नु आफैमा चुनौतिपूर्ण थियो र छ। प्रेस इम्वेलेम क्यामपेन जेनेभाले मार्च २०२० देखि गरेको अभिलेखका अनुसार कोभिड–१९ कै कारण हालसम्म ५७ देशका पाँच सय एक संचारकर्मीको मृत्यु भइसकेको छ। मृत्यु भएका दुई तिहाईभन्दा बढी पत्रकार रिपार्टिङ कै क्रममा संक्रमित भएका थिए। त्यसैगरी कोरोना भाइरसको संक्रमण, सरकारी निकायका प्रयास, एवं लकडाउनले जनजीवनमा पारेको प्रभावबारे समाचार प्रकाशन एवं प्रशारण गरिएको भनी पत्रकारहरु कैद सजाय तोकिएको छ। कतिलाई मुद्धा चलाइएको छ कति अझै बेपत्ता छन्।
ओपन सोसाइटी फाउन्डेनको तथ्यांकमा म्यामार सरकाले समाचार सम्पादक ‘ज ए हैट’ लाई दुई वर्षका लागि जेल सजाय तोकिएको छ। चिनियाँ पत्रकार झ्याङ जेनलाई कोरोना भाइरसका विषयमा रिपोटिङ गरेको अभियोगमा पाँच वर्षको सजाय सुनाउदै जेल चलान गरेको छ। द गार्जियनकी इजिप्टबाट रिर्पोटिङ गरिरहेकी पत्रकार रुथ मिचेल्सन देश छोड्ने आदेश दिएको थियो। मलेसियाकी पत्रकार वान नुर हायातीलाई छ वर्ष जेल सजाय सुनाइएको छ। महामारी कै सामाचार लेखेका कारण नेपालमा चार जना पत्रकार थुनामा परे।
साथसाथै संक्रमणबारे जानकारी माग्ने संचारकर्मीलाई सरकार प्रमुखले नै हप्कीदप्की गरेका छन्। कोलम्बिया विश्वविद्यालयस्थित टो सेन्टर एक हजार चार सय ३९ जना पत्रकार सामेल भएको अध्ययनमा १० प्रतिशत सहभागीले सार्वजनिक रुपमै राजनीतिज्ञले असह्य व्यवहार गरेको बताएका थिए।
पत्रकारहरु सूचना संकलनका लागि पर्याप्त साधन र स्रोतबाट बञ्चित भएका छन्। सही तथ्यांकहरु सरकारहरुले लुकाए। पत्रकारको सूचनामा पहुंच नहँुदा सर्वजनिक स्वास्थ्यको विषयलाई सामान्य नागरिकले थाहा पाउन नसकेको अवस्था छ।
प्रभावकारी संयन्त्रहरुको अभाव छ। सञ्चार माध्यम र सञ्चार गृहहरुले विपत्तिका बेला गर्नेपर्ने तयारीमा निकै कमजोर रहे। स्वतन्त्र प्रेस नीति संकुचित भइरहेको छ। त्यसैगरी पत्रकारलाई पेन्डामिकसम्बन्धी तथ्यांक दिन भिन्न क्षेत्रबाट दबाब आएकाको पत्रकारले जनाएका छन्। डिजिटल दबाब अनुमान गरिएभन्दा फरक डिस्र्टब गर्ने किसिमले व्यहोर्नु परेको छ।
पत्रकारले संक्रमितसँग मानवीयताका पक्षलाई जीवनलाई नै जोखिममा राखेर रिपोर्टिङ गरेको पाइएको छ। ६७ प्रतिशतले आर्थिक संकट वेहोर्नु परेको बताएका छन्। पत्रकारहरुले महामारीका बेला सही तथ्यांक पाउन नसक्दा व्यवसायिक पत्रकार निरास बन्ने अवस्था समेत सिर्जना भयो।
महिला संचारकर्मीका कठिनाईः
कोभिड–१९ महामारी असर सबैमा परेको भए पनि त्यसको मार कसलाई कसरी बढी कम छ भन्ने अध्ययन भइरहेका छन्। पत्रकारहरुको अन्तर्राष्ट्रिय छाता संगठन (आइएफजे) ले ५२ देशमा महिला पत्रकारबीच गरेको सर्भेमा पत्रकारिता क्षेत्रमा कोभिडले लैगिक असमानता बढाएको जनाएको छ।
पाँचसय ५८ महिला पत्रकार सहभागी यस सर्भेमा ७७ प्रतिशत महिला पत्रकारले तनाव बढेको बताएका थिए। ५६ प्रतिशतले तनावको कारण ‘वर्क फ्रम होम’ गर्दा कामको बोझ थप भएको जनाएका थिए। १० जनामा ८ जनाले बच्चाको हेरचाह गर्न सुविधाको अभावले तनाव बढेको जनाए। ५९ प्रतिशतले कोभिडले स्वास्थ्य प्रभावित भएको थियो। ६९.८ प्रतिशतले सुत्न समस्या भएको अनुभव सुनाए। ४३.२ प्रतिशतले कोभिडको डर पैदा गरेको र यसकै कारण रोजगारी जाने र आर्थिक अभाव झेल्नु पर्ने दबाब भएको छ।
सकारात्मक असरः
निश्वार्थ कर्मपछिको मिठो फल पाउनेमा महिला पत्रकार अब्बल ठहरिएका छन्। दि फ्याक्चुअलले ४० हजार कोभेड १९ को विषयमा लेखिएका लेख/रचनालाई लेखाजोखा गर्दा महिला पत्रकार अब्बल ठहरिएका हुन्। ७६ भन्दामाथि १०० अंक पाउने महिला पत्रकार १९० थिए भने पुरुष पत्रकार १७४ मात्र थिए।
संस्थागत सञ्चार माध्यमको व्यवसायमा गिरावट आएपनि अनलाईनका सोसियल मिडियाका सब्स्क्राइबहरु बढेका छन्। अनलाईनमा स–प्रेषित सामग्रीको विश्वसनीयता जाँच गर्ने संयन्त्रहरु प्रयोगमा सुचारु हुनाले पत्रकारिताप्रति विश्वास बढ्दो देखिएको छ। महिला पत्रकार स्वयमं सूचना दिन अभियन्ता नै बनेको पाइएको छ।
कोलम्बिया विश्वविद्यालयको माथि उल्लेख गरिएकै अध्ययन सर्वेक्षणमा ६१ प्रतिशत संचारकर्मीले रिपोर्टिङ गर्दा भएको मानसिक तनाव र भावनात्मक उतारचढावले दुःखित बनाए पनि संक्रमणसम्बन्धी मानवीय विषय लेख्दा पत्रकारिताको महत्व र पेशाप्रतिको लगाव अझ प्रवल हुनुको बाबजुद समुदायमा समाचारको स्थान, परिवार, समाजले दिएको आदरले थप जिम्मेवारी बोध भएको जनाएका थिए।
त्यसैगरी सहभागी मध्ये ४३ प्रतिशतले आफना समाचारको महत्वलाई पाठकले विश्वास गरेको र पाठकको संख्या पनि बढेको बताएका थिए। र, ६१ प्रतिशतले पत्रकारितामा थप कटिबद्ध भएको बताएका थिए।
संचार माध्यमले कस्ता समाचार लेखे ?
कोरोना भाइरसबारे शुरुवाती समयमा तथ्यांगत समाचार पाउन कठिन भयो। स्वास्थ्यकर्मीको सुरक्षा, सूचनामा पहुंच, संक्रमणबारे जानकारीमूलक समाग्री, सर्तकता, लकडाउनका पक्ष र विपक्ष, सरकारी गतिविधि, रोकथामका योजना, कार्यान्वय पक्ष, अस्पतालको तयारी, सरकारी व्यवस्थापन एवं कमजोरी, संक्रमणबाट बच्न चाहिने समाग्री खरिदमा भ्रष्टाचारसम्बन्धी सामग्रीहरुको दुरुपयोगलगायतका विषयमा समाचार आए। संक्रमणको दर एवं जनस्वास्थ्यको विषय गम्भीर बन्न नसकेको अवस्था र माननीय संवेदना समेटिएका समाचार व्यपाक रुपमा आए।
नेपालः
विश्वजस्तै नेपाली संचार जगतमा पनि नराम्ररी थालिएको छ। फ्रिडम फोरमले कोभिड–१९ बारे तयारपारेको रिपोर्टमा ४० प्रतिशत कार्यरत पत्रकार कामविहीन भएका त्यति नै संख्याका पत्रकारलाई तलब कटौति भएको छ। ६० प्रतिशतभन्दा बढीले तलब पाएका छैनन्।
नेपाल पत्रकार महासंघ र सेयस काष्टको सहकार्यमा गरेको कोभिडसम्बन्धी २००८ जना संचारकर्मी सहभागी अध्ययनमा ४० प्रतिशत पत्रकारले रोजगारी गुमाएका छन्। ७० प्रतिशतभन्दा बढीले समाचार संकलनमा कठिनाई भएको बताए। दुई तिहाईलाई काम गर्न नै असुरक्षित महसुस भएको छ।
त्यस्तै, नेपाल प्रेस इन्ष्टिच्युट र बर्निमाउथ युर्निभसिटी सहकार्यमा २१८ महिला र ९१२ पुरुष पत्रकार सहभागी मध्ये ७५ प्रतिशतले तनावयुक्त भएको बताएका थिए। ८३ प्रतिशतले पत्रकारिता गर्दा जोखिम बढेको महसुस गरेका छन्। ७४ प्रतिशत आर्थिक रुपमा प्रभावित भइसकेका छन्। ६६ प्रतिशतलाई काम गर्ने समय घटाइएको बताएका छन्।
समग्रमा, सूचनामा पहुंच कठिन एवं पत्रकारिता पेशा नै जीवन धान्ने माध्यम बन्न कठिन भएपनि पत्रकारका प्रति जनमानसको विश्वास बढेको छ। अनलाईन मिडियाका पाठकमा बढेका छन्।
त्यसैले सञ्चार गृहले आपतकालीन कोषको व्यवस्था (सरकारी एवं व्यवस्थापकी पक्षद्धारा पारदर्शी ढंगले) गरे समय–समयमा आइपर्ने प्राकृतिक विपत्ती एवं अन्य चुनौतीका बेला पत्रकार र पत्रकारिता जगतलाई सबल सुदृढ र जिम्मेवार बनाउन सघाउन पुग्ने छ। र त्यसले आम नागरिकलाई सूसुचित बनाउन योगदान दिन्छ।