‘ए बाबु! त्यसरी किन दौडेको?– कयौंले सोध्ने गर्थे
म बच्चादेखि नै चञ्चले थिएँ। जहाँ गए नि दौडिने। बिस्तारै हिँड्दै नहिँड्ने। हिँड्नै नजान्ने। जेठो दाइ (कृष्णबहादुर रोकाया) बाट प्रेरण पाएँ। उहाँ एक सय र दुई सय मिटरको दौडमा दौडिनु हुन्थ्यो। सात कक्षामा पढ्ने ताका स्कुलमा गरिने प्रतियोगितामा प्रथम भएँ। हुन त त्योभन्दा अघि पनि ओडोदोडो भन्ने खेल खेल्थ्यौं। त्यो खेल्दा एउटाले छुने हुन्थ्यो। एउटाले अर्कोलाई छुदै जादा अन्तमा बाँकी रहनेलाई सबै मिलेर छुने हुन्थ्यो। लाष्टसम्म रहने म नै हुन्थे र कसैले मलाई छुन नै सक्दैन थिए। म अन्तमा दौडिदै घर पुग्थेँ। स्कुल पढ्दै गर्दा बीरेन्द्र शिल्डमा खेल्ने अवसर पाएँ। प्रथम भएँ। त्यसपछि क्षेत्रीय खेल्ने मौका पाएँ। २०४१ सालमा राष्ट्रिय गेम खेल्ने अवसर पाएँ। बैकुण्ठ मानन्धरको नाम सुनेको थिएँ। त्यो नाम पनि मेरा लागि प्रेरणा बन्यो।
दाङमा राष्ट्रिय गेम थियो। जहाँ मैले पनि खेल्ने मौका पाएको थिएँ। प्रतिस्पर्धिमा थिए वैकुण्ठमानन्धर, पुष्पराज ओझा, अमिर यादवलगायतका हस्तीहरु। मलाई दौडिने ट्यक्टिस थाहा थिएन। दौड भन्ने नै थाहा थिएन। बल (शक्ति)को हिसाबले हावामा दौडिने हो, यही नै थियो दिमागमा। उनीहरु आफ्नो ट्याक्टिसमा दौडिरहेका रहेछन्। म उनीहरुलाई जितेर अगाडी जान्थेँ। अगाडी गएर स्वीचो वेस माग्थेँ। यसो मुखमा राख्थेँ अनि फेरि फस्ट ट्याकमै आउथेँ। उनीहरु सोच्दा रहेछन् – यो कस्तो मान्छे हो जुम्लाको। दौडिन तालिम नलिएको हो कि ? दौडिनै नजानेको हो कि ? पछि लाष्ट फिनिसिङमा उनीहरुले संचित गरेको शक्ति लगाए। मेरो त शक्ति नै गैसकेको थियो। तै पनि कसोकसो उनीहरुसँगै दौडिएँ। दुईसय मिटरबाट त मलाई पछारी हाले। यति हुँदा पनि तेस्रो भएँ। अनि बैकुण्ठ दाइले भन्नु भयो –‘यसले तालिम लिएको भए त हामीलाई जित्ने रैछ।’ कर्णालीबाट पहिलो पटक मेडल भित्र्याउने नि म नै भएँ।
जुम्ला बजारमै भत्केबाडा भन्ने ठाउँमा छ घर। घरबाट नजिकै थियो स्कुल। कक्षा १ देखि ९ सम्म चन्दन नाथ माबिमा पढेँ। पछि कुँडारी स्कुलमा गएर पढेँ। कुँडारीबाटै २०३९ सालमा टेष्ट उत्तीर्ण गरेँ। एस एल सीको परीक्षा फर्म पनि भरेको थिएँ तर त्यही वर्ष गेम खेल्न काठमाडौं जानु पर्यो। परीक्षा दिन पाइनँ। दोश्रो वर्ष पनि त्यस्तै भयो।
पछिल्लो समयको संघर्ष यहि नै भैहाल्यो नि खेलाडी पठाउन कठिनाइ छ। खेलाडीलाई डाइट पुग्दैन। त्यो समस्या एकातिर छ। खेलाडीलाई कसरी बाहिर पठाउने त्यो समस्या अर्कातिर छ। यस्तै त हो नि।
विगत त संघर्षमय नै त थियो। जुम्लाका डाँडाँकाँडा तिर दौडेर अभ्यास गरेको हुँ। एकोहोरो दौडिने मात्रै कुनै टेक्टिस थाहा थिएन। रष्ट्रिय खेलिसकेपछि बल्ल थाहा पाएँ। सुरुका दिनमा तालिम नै पाइँन। म दुई तीन ठाउँ (बिदेश) जानबाट पनि बञ्चित भएँ। मैले फस्ट हुँदा समेत बाहिर गएर खेल्न पाइनँ। त्यो समय पनि झेलियो। तर, पनि हिम्मत हारिनँ। एक दिन गरेरै छोड्छु भन्ने थियो। त्यो प्रेरणा भनेको मेरा दाई कृष्ण बहादुर रोकाया र बैकुण्ठ दाइकै हो। बैकुण्ठ मानन्धर दाइले भन्नु हुन्थ्यो –मेरो रेकर्ड तोड्ने हरि बाहेक अरु हुन सक्दैन। उहाँले भनेको त्यो कुरा मेरा लागि एकातिर प्रेरणा बन्यो। अर्कातिर खेलप्रतिको हौसला बढाउने माध्यम बनिरह्यो। उहाँको अरु रेकर्ड त ब्रेक पनि गरेँ म्याराथुन बाँकी रह्यो। म्याराथुनमा पनि रेकर्ड ब्रेक गर्ने सम्भावना थियो। पछि के के राजनीति भयो। छोटकरीमा सकिएन भनौं।
अरु त सबै १६ वर्षको रेकर्ड तोडेको हुँ। अहिले त नेपाल जिन्दगीमा नफसेको ड्रपिङमा फस्यो। ड्रपिङ खुवाउनु पर्ने खेलाडी नेपालमा छैनन्। जानी जानी त पक्कै पनि खाएको हैन होला। बिदेशीले नेपालमा आएर परीक्षण गरेको हो जस्तो लाग्यो मलाई। किन भने यहाँ ट्रेनिङ गर्न पठाउछ। यहाँको खेलाडीलाई खुवाएर कत्तिको सक्सेस भयो अनि आफ्नो देशका खेलाडीलाई खुवाउने त हुन नि। वास्तवमा नेपालको खेलाडीले डाइट मात्र राम्रो खाएर ट्रेनिङ गर्ने हो भने विदेशमा सजिलै जित्छ।
समस्या त अरु पनि छन्। प्रमुख समस्या भनेको डाइट नै हो। नेपाली खेलाडी यतिसम्म बलिया छन् कि बिहान एककप चिया खाएर ४२ किलो मिटर दौडिन्छन्। म मलेशिया ट्रेनिङ गर्न जादा त्यहाँ खेलडीले टन्न खाएको देख्दा ओहो यस्तो खान पाए त हाम्रो नेपालको खेलाडीले कस्तो गर्थे होलान लाग्थ्यो। कोरियामा म गेम खेल्न जादा ७ सय भेराइटिको खाना थियो। त्यो देख्दा हामी त आत्तिने मात्रै हुन्छौं। त्यही खाना युरोपका खेलाडीलाई मन पर्दैनथ्यो, राम्रो छैन भनिदिन्थे। बिना डाइटको खेलाडीलाई ट्रेनिङमा पेलाउन एकदम समस्या हुन्छ। कमजोर बनाउछ। क्षयरोग लाग्छ। के के हुन्छ हुन्छ। उदाहरण मै भै गएँ। म बिहान तीस चालिस कप चिया पिउने। टाइममा नखाने केटाकेटीसँग दौडिने। पहिलो दिन ३५ कि.मी दौडेको मान्छे भोलिपल्ट ५ कि.मी. तेस्रो दिन त झ्यापझुपै भैहाल्यो त। औषधि लिन थालेको पाँच छ दिनमा हातखुट्टा चलाएँ। सातौं दिनमा हिँड्न खोजेँ। आठौं दिनमा बाहिरसम्म आएँ। आठवर्ष भएको थियो मासु खान छोडेको। डाक्टरले मासु खानु पर्छ भने। फेरि सुरु गरेँ। आठ महिना काठमाडौंमै बसेँर उपचार गराएँर फर्किएको छु।
पैसाको लागि हात थापेको भए पैसाको खोलो बग्थ्यो। कसैसँग हात थापिनँ। कति मान्छे घरमै पैसा दिन आए। मेरा छोराले मानेनन्। प्रदेश सरकारले एक लाख र नगरपालिकाले ५० हजार दिएको थियो। सम्मान गरेर दिएको उपचार खर्च भनी दिएको लिन्न भन्ने कुरा भएन। पैसा लिएँ धन्यवाद ज्ञापन गरेँ। त्यो एक लाख पचास हजार रुपैया हरि रोकाया स्पोटस् फउन्डेसनमा जम्मा गरेँ। मैले अक्षय कोष खडा गर्न खोजिरा’छु। भोलि खेलाडीलाई कुनै बिमार भयो भने त्यो पैसा खर्च गर्न सकुँ।
जुम्ला रारा म्याराथुनका लागि जुन पैसा आउनु पर्ने थियो आएन। सामाजिक बिकास मन्त्रालयले पुरस्कार खेलाडीको खातामा पठाइदिने भन्यो पुरस्कार बापतको रकम त्यति बेलै दिन सकिएन। खेलाडीको हातमा उधारो चेक थमाउनु पर्दाको क्षणले बहुत दुखित तुल्यायो। पैसा त कहिले कहिले। यसरी कसरी बिकास हुन्छ। प्रत्येक गाउँपालिका, नगरपालिकामा खेलकुद सम्बन्धी रकम छुट्याइएको हुन्छ। तर, आफ्नो नजिकको मान्छेलाई दिइहाल्छन्। हामीलाई अहिलेसम्म चन्दननाथ नगरपालिका, हेमा गाउँ पालिका र तीला गाउँपालिकाले सहयोग गरिरहेका छन्। नेपालमा आफ्नो मान्छे नभएको ठाउँमा कुनै पनि काम नगरे हुन्छ मैले देखिसकेको छु। भोगिसकेको छु।
सिंगापुर जाने बेला पोखरामा १० कि. मिको दौडमा वैकुण्ठ दाइलाई ३०० मिटर पछाडि छोडेँ। अमिर यादवले जहाँबाट तीनवटा गोल्ड मेडल जितेका थिए त्यही बिरगञ्जमा राष्ट्रियमा उनलाई पछारेर तीनवटा गोल्ड मेडल त्यही जितेँ। ५ हजार १० हजार मिटरको सबै खाले दौडमा अरुको रेकर्ड ब्रेकगरिसकेको थिएँ। नेपालमा मात्र ४२ कि.मि. को दौडमा वैकुण्ठ दाइको रेकर्ड ब्रेक गर्न बाँकी थियो। यहाँ राजनीति बढी चल्न थाल्यो। मैले श्रीलंका जानु पर्नेमा रोकि दियो। किनारा लगाइयो। क्रस कन्ट्रि जान पाउनेमा म टप फममा थिएँ। जापान खेल्न पठाउदा म टपफममा भएकोलाई नपठाएर अरु दुई जनालाई पठायो। म्यानेजमेन्टले मलाई लखेट्यो। अनि एभरेष्ट म्याराथुनतिर जाने सोच पलायो र लागेँ उतैतिर। जसले मलाई फाइदा नै गर्यो। वल्ड रेकर्ड राख्न सफल भएँ।
दौडिन त कैयौं ठाउँमा दौडियो। पहिले पहिले बाटामा दौडिराखेको देखेर कतिले सोध्ने गर्थे – ‘ए बाबु ! त्यसरी किन दौडेको ? के भयो कतै झगडा त परेन ?’ म केही हैन भन्दै दोडिरहन्थेँ। कहिले बोल्दै नबोली दौडिरहन्थेँ। सुरुमा लाज पनि लाग्थ्यो। भोलि हारे पछि कसैले केही भन्छन् कि भन्ने हुन्थ्यो। धेरै पछि गएर ती मान्छेहरुले थाहा पाए।
एभरेष्ट म्याराथुनमा दौडिने बेला (वल्र्ड रेकर्ड कायमगर्ने बेला) नाम्चे पुग्नै लाग्दा बुङलुंग लडियो। जुरुक्क उठेर पुनः दौडिएँ। आर्मीका केटाहरुले हेरिरहेका रहेछन् लड्ने बित्तिकै उठेर दौडेको। अनि पछि भन्थे – कति फास्ट उठेको। मान्छे लडेपछि हात खुट्टा भाँचिन्छ। त्यो ठाउँ निकै डेन्जर हो। माथिबाट दौडिंदै तल आउनु पर्ने थियो। मैले आफ्नो टाइम हेरिरहेको थिएँ। रेकर्ड कायम गर्नु थियो। पछि आएर ३ घन्टा ५० मिनेट २३ सेकेन्ड मेरो रेकर्ड भयो।
चोटको त मतलबै भएन नि। अलिकति चोट त लागेको थियो। थाहा भएन चोट त कहाँ गयो गयो। सकेर पनि दौडिदै गएर माथिबाट आफ्नो लुगा ल्याएर आएँ।
ठाउँको लागि केही गरौं भनेर लागेको हुँ। आफ्नो व्यक्तिगत जिन्दगी नै बिताउने हो भने त म अमेरिका बेलायत स्जिरलैण्ड कतै बसि हाल्थे नि। एक छाक खाएर एक सरो लाएर भए पनि देशका लागि जन्मेको ठाउँका लागि केही गरौं भनेर लागिपरेको छु। अब बाँचुन्जेल यतै जुम्लामै बसेर तालिम दिन्छु। कोही क्लबबाट आउन या खेलकुद परिषद जहाँबाट आए नि निशुल्क तालिम दिन्छु। अन्तिम सास छन्जेल जुम्लामै बस्ने मन छ। निशुल्क तालिम दिइरहेको छु।