आज अक्टोबर २ अर्थात १५१ औं महात्मा गान्धी जयन्ती।
गान्धीको १५०औं जन्म जयन्तीका अवसरमा गान्धीको सान्दर्भिकताबारे गत वर्ष मेरो निवासमा एउटा अन्तर संवाद भएको थियो। प्रा आनन्द आदित्य, बिन्देसर गोइत, नरेन्द्रजंग पिटर, डा. राजेन्द्र बिमल, प्रा. वीरेन्द्र मिश्र, पत्रकार दिनेश यादव र साहित्यकार दिनेश गुप्ताको गहकिलो विचार आएको थियो।
यसपटक कोभिडले गर्दा सम्भव नहोला। त्यस बखत गान्धी अम्बेडकर सम्बम्ध, गान्धी गोड्से टकराव आदिबारे विस्तृत बहस भाएको थियो।
पिटरले विचारोत्तेजक पारामा विश्लेषण गरे। म धार्मिक मान्छे होइन, नास्तिक हूँ तर मैले गान्धीबाट कस्मेटिक कुरामा नजान सिकेँ। गान्धीबाट सिकेँ, यसरी बाँच कि, भोलि मर्नुपर्ने हुन्छ। गान्धीबाट सिकेँ कि, मूल्य विनाको विचार कस्मेटिक हुन्छ। गान्धीबाट सिकेँ कि असहमतिलाई स्वीकार गर। अनि सिकेँ अल्पमतको स्वाभिमान रक्षा गर्ने दायित्व बहुमतलाई हुन्छ।
अर्को मौलिक विचार डा. राजेन्द्र विमलको थियो। डा.बिमलले राष्ट्रियताको सन्दर्भमा गान्धीलाई सम्झे। सन १९३५ तिर राष्ट्रियताको ठूलो प्रश्न उठेको प्रसंग कोट्याउँदै डा बिमलले भने, हिन्दू महासभाको राष्ट्रियता र हिन्दूवाद साम्प्रदायिक दिशामा गाको थियो। गान्धीले उतिबेला भनेका थिए- म पनि हिन्दू हूँ तर त्यो हिन्दू जसले सबै धर्मको सम्मान गर्छ, सबै परम्परा र सबै मूल्यको सम्मान गर्छ। नेपालमा पनि यस्तो खाले उदार राष्ट्रियताको खाँचो छ।’
प्रा.आदित्य र गोइतका विचार पनि बडो सान्दर्भिक थिए। प्रा.आदित्यले भने, सच्चा हिन्दूत्व त्यो हो जसले बसुधैव कुटुम्बकममा विश्वास गर्छ।
हिन्दूत्वले घृणा सिकाउँदैन। प्रा गोइतको भनाइ थियो, ‘घृणावाद अस्थायी हो। मूल्य कहिल्यै मर्दैन।’ प्रा. मिश्रले स्वनिर्भरता, सादगीपूर्ण जीवन र सत्य अहिंसा गान्धीवादको मूल मर्म भएको बताए।
प्रायः सबैले भारतमा धार्मिक, सामाजिक असहिष्णुता बढ्दै गएको र हिंसा र घृणाका बाछिटा नेपालसम्म आइपुगेकोमा चिन्ता व्यक्त गरेका थिए।
गान्धी र गान्धीका विचारका बारेमा बहस चलिरहनु कुनै आश्चर्य हुन सक्दैन। भारतका ठूला बाम नेता इएमएस नम्बूरीपादले त गान्धीजी र उनको वाद भनी पुस्तकनै लेखेका छन्। र गान्धीका मनसाय गलत नरहेको निष्कर्ष निकालेका छन्। यद्यपि गान्धीबारे अम्बेडकर बडो कटु रहे।
जमनालाल बजाजले अम्बेडरको तीब्र आक्रोश रहेको सम्झाउँदा गान्धीले यसलाई अ्न्यथा लिएनन्। र भने, ‘अम्बेडरको ठाँउमा म पनि भाको भा यस्तै क्षूब्ध र आक्रोशित हुन्थेँ।’
तर आज भारतमा सत्ताधारीहरुले माथि माथिबाट गान्धीको सम्मान गरेझै देखाउने र व्यवहारमा गान्धीवादको धज्जी उडाउने काम गरिरहेका छन्।
भारतमा जति असहिष्णुता र घृणावाद अहिले छ त्यो कहिल्यै थिएन। गान्धीवाद वास्तवमा उदार र सबै समान, सबैको भलो हुने सहिष्णु र सहअस्तित्वको मानवतावादी भारतको निचोड नै हो।
अफशोश भारतमा अहिले संकीर्णता र घृणावादमात्र बढिरहेको छ। तथापि यो लामो चल्ने छैन। भारतीय जनता धेरै समयसम्म आफ्नो आत्मा बन्धकी राखेर कट्टरता र कटुता पाल्ने छैनन्। गोलीले शरीर सकिन सक्छ, विचार होइन।