पाडालाई अँगाली डाँको छोडी रून्थेँ

दसैंको बेला नवरात्री सुरू हुने वित्तिक्कै पुग्थे ग्राहकहरु घरमा। मोलमोलाई हुन्थ्यो पाडाको। दसैंमा बेच्ने ध्येका साथ पालिएका हुन्थे त्यतिखेर पाडा। बाआमासँग पाडो नबेच्न हात जोडेर अनुरोध गर्थे तारानाथ पहारी र उनका भाइ रोशन। आखिर बचेरै छोड्थे बाले पाडो। पाडो लगेको बाटोमा घन्टौं नजर डुलाई आँखाका परेला पुछिरहन्थे उनी।

तारानाथ भन्छन्, ‘सानोमा अति भावुक थिएँ। अतिमाया गरेको पाडो बेच्दा तुरूक्क आँसु आउँथ्यो। अरूको पाडोले आऽऽई गरेर कराएको सुन्दासमेत आफ्नो पाडो सम्झी भक्कानो जान्थ्यो छातिमा।’

बाल्यकालमै जागेको हो तारानाथको जनावरप्रतिको मोह। हरेक वर्ष दसैंमा बेचिने पाडोलाई जिस्क्याएर मार्चे (हिर्काउने) बनाएको विगतको स्मृति आइदिन्छ सम्झनामा हिजो आज पनि जब देखिन्छन् कसैका पाडाहरु, टक्क अडिएर हेर्न मन लाग्छ उनलाई। अनि सम्झिन मन लाग्छ विगत। लाग्छ ती दसैंहरू जिन्दगीकै महत्त्वपूर्ण दसैं थिए। त्यो उमेर निकै नै आनन्दको थियो। बिस्तारै जिम्मेवारीले गाँज्दै गएपछि व्यस्त प्रायः भैदिन्छ जिन्दगी। मात्र सम्झनामा बास बस्न थाल्छ विगत।

‘सर फ्री ट्याक्सी कम कम’, भनेर कुइरेलाई बोलाएको हिजै हो जस्तो लाग्छ उनलाई। ‘तर वर्ष बितेको पत्तै नपाइँदो रहेछ,’ विगतको त्यो कथा सुनाउँछन् उनी,‘बुवाको पोखरा पिस होम भन्ने गेष्ट हाउस थियो। जो भाडामा दिइएको थियो। पछि मैले एक जना पार्टनर लिएर आफैं चलाउन थालेँ। प्लेन र बसबाट आउने समयको ख्याल गरेर एयरपोर्ट र बसपार्कको गेटमा हाजिर भैसक्थेँ। गेष्ट फकाउन फलाक्न थाल्थेँ, ‘सर फ्रि ट्याक्सी, चिप होटेल विथ बिग गार्डेन, कम कम। गेष्ट कोठामा छिरेपछि आफू गार्डेनमा कुरेर बस्थेँ। ऊ निस्केपछि चिया कफि के खान्छ सोध्थेँ। एकछिन कहाँबाट आएको हो के इन्ट्रेस्ट हो सबै कुरा बुझेर ट्रेकिङको कुरा गर्थेँ। एउटा ट्रेकिङ बुक भइदिँदा मनमा खुसी छाउँथ्यो सफारी छुट्यो भनेर सम्झाइदिन्थेँ पाहुनालाई। ट्रेकिङ सफारी र टिकेट बुक गरेर राम्रो मार्जिन आउँथ्यो। त्यो बेला कसमिक एयरले एजेन्सीलाई ४५ प्रतिशत कमिसन दिन्थ्यो। हामीले ३५ प्रतिशतसम्म पाउँथ्यौ। फ्लाइट टिकेट बुक गर्दा नि पुग्ने। अहिलेको मार्जिन नै नभएको स्थिति हेर्दा पैसा नै नभए जस्तो लाग्छ।’

होटेल फेवा जाने बाटोमा देवीस्थान नेर कन्टिनेन्टल बुक इस्टल नामक पुस्तक पसल थियो। आठ कक्षामा पढ्दै गर्दा उनी बुवालाई पार्ट टाइम हेल्प गर्थे बुकसपमा। विदेशीहरू किताब किन्न आउँथे। कति त नेपाली पैसा चिन्नै नजान्ने हुन्थे। हजारलाई सय भनेर पनि दिइदिन्थे। अनि उनले यो त हजार हो नि भनिदिँदा खुसी हुन्थे। उनी काउन्टरमै बिलाउने सानो फुच्चे थिए। माया गरेर राम्रै टिप्स दिएर जान्थे। कैयौंपल्ट पाँच सयको नोट दिएर दुई सयपैतालिसको पुस्तक किनी बाँकी रहेको रकम उनलाई नै छोडि दिएका थिए। उनी सुनाउँछन्,‘किप दि चेन्ज भन्थे अनि म खुसी हुन्थेँ। बुवाको सेलिङ एकातिर। आफ्नो टिप्स अर्कोतिर राख्थेँ।’

लेक साइडमा घर थियो। त्यो बेला अहिलेका जस्ता धाराहरू थिएनन्। सबैले पानी खाने भनेको तालकै हो। टोल टोलका छुट्टाछुट्टै पानी भर्ने घाट हुन्थे। डोकोमा गाग्री राखेर पानी भर्न जानेको लामै पंक्ति देखिन्थ्यो बिहान। कपडा धुनु पर्दा बाटा, बाल्टिनमा पानी ल्याएर फेवातालको किनारमा अलि माथि नै धुने गर्थे। जसले गर्दा कपडा सफा गरेको पानी माटोमै बिलाउँथ्यो। तालमा जान्नथ्यो। त्यो चेतना थियो त्यति बेला। बुवाहरूको पालामा घैया, मकै लगाउने चलन थियो। हाम्रा पालामा पर्यटनको हब भैदियो। मान्छेले करेन्सि हात लाउन पायो। पैसाले सबै कुरा गर्ने भयो।

तारानाथले विगतका किस्साहरु सुनाइरहँदा फेवा तालको चिसो हावाले स्पर्स गरिरहेको थियो शरीरका अंगअंगमा। सरकारको अनुदान नीति, कृषिप्रदान देश गाउँबाट तीब्र गतिमा भइरहेको बसाईसराई र संघीयता नेताहरुका क्रियाकलाप सबैलाई मनन् गरेर उनले बीचमै ठट्टालु पारामा भने, ‘मिल्ने दश पन्ध्र जना साथीहरुको समूह बनाऔं। बस्ती रित्तिदै गएको पहाडको एउटा वडा नै खरिद गरौं। अनि एक जना त्यहाँको वडा अध्यक्ष बनौं। बजेट सदुपयोग गरौं। कृषि र पर्यटनमा बिशेष जोड दिऔं। नेपालकै नमूना वडा बनाउनतिर लागौं। यस्तो पो कल्पना गर्छु म त हिजो आज।’

उनको भनाइलाई   त्यतिखेर ठट्टाकै रुपमा लिइयो। तर पछि सोच्दै जादा निकै गम्भीर लाग्यो। सरकारी बजेट आउँछ सदुपयोग हुन सकेको छैन। काम गर्न भित्रैबाट उत्साहित हुनेले पाउदैनन् कुनै अनुदान। अनुदान पाउन पहुँच चाहिन्छ। कृषिप्रदान देशमा छैनन् कृषि सम्बन्धी कुनै गतिला योजना। भएका योजनाहरु पनि कार्यान्वयन हुन सकेका छैनन्। कृषकले पाएका छैनन् समय सापेक्ष तालिम। बिदेसिन बाध्य छ युवा जनशक्ति।

तारानाथ पहारीलाई हरदम चिन्ता हुन्छ गाउँ समाज र देशको। पर्यटनको गन्तब्य भएका ठाउँ बनाउन लागिपरेकै हुन्छन् उनी। दुई वर्ष गेष्ट हाउस चलाएर व्यापारिक गोरेटोमा पाइला टेकेका पहारीले १३ दिने प्याराग्लाइडिङको तालिम लिए। त्यतिखेर लाइसेन्स भन्ने थिएन। सुरूमा प्याराग्लाइडिङको डोरी समात्न सिकाउने ब्लुस्काइ प्याराग्लाइडिङको संचालक नारायण पराजुली दुर्घटनामा परी खुट्टामा नराम्रो चोट पाएपछि रिक्स ठाने उनले त्यो काम। घरबाट पनि मनाही गरेपछि छोटो समयमै छोडिदिए प्याराग्लाइडिङ।

२०५८ सालमा ४ जना साथीहरू मिलेर रोयल सफारी टुर्स एण्ड ट्राभल्स सुरू गरे। एक वर्ष राम्रो चल्यो। सानो बस थियो जो काठमाडौं पोखरा दौडिन्थ्यो। अब ठूलो बस चाहियो सानोले मात्रै खर्च धानेन भन्ने भयो। हाइडोलिक ढोका भएको पुसब्याक सिट भएको पहिलो बस थियो त्यो। सौराहा-काठमाडौं, काठमाडौं-पोखरा गुड्थे बसहरू। पछि माओवादी गतिविधि बढ्दै गयो। संकटकाल सुरु भयो। टिम तितरवितर भयो। संकटकालले खायो व्यापार व्यवसाय सबै।

सानो गाडी र कम्पनी अर्को पार्टनरले लियो। बैंकमा आफ्नो घर धितो राखेर लिएको ठूलो गाडी उनको भागमा पर्ने नै भयो। जसलाई उनले सबलाइन टुर्स एण्ड ट्राभल्सका नाममा चलाउँदै गए। २०७१ सालमा उक्त बस कवाडीमा बेचेर आफ्नै जमिनमा १८ कोठे भवन बनाई ‘हेलो इन गेष्टहाउस’ सुरू गरे।  गेष्ट हाउस सुरु गरेको दुई महिना के भएको थियो भूकम्पले बितण्डा मचायो। त्यसपछि सुरु भयो नकाबन्दी। आलोपालो सबैले व्यापार सुतायो। त्यतिबेलै घरबाट दवाव आउन थाल्यो विहेको लागि। रोयल सफारीको सेटलमेन्ट बाँकी थियो। जीवनमा बनाएका तमाम योजनाहरु कल्पनामा खेलिरहेकै थिए। तर थिएन त्यति चाडै बिहे गर्ने सोच। बिभिन्न बाहाना बनाएर टार्दै आएका तारानाथसँग एकदिन बुवा प्रेमराजले भन्नुभएछ,‘केटी हेर्न नै नजाने तैले मेरो बेइजत गरिस्।’

बुवाप्रतिको आदर र माया बोकेको मुटुमा एकाएक चस्का गयो। उनले सोचे बुवाको मन दुखाउनु हुन्न। केटीसम्म हेरौं न त। बिहे गर्नै पर्ने बाध्यता आइपरेमा ६ महिना पछि गर्नुपर्ला।

‘हेर्न त गएँ तर केटीको अनुहार नै याद थिएन। भाइ रोशनलाई साथमा लगेर गएको थिएँ। घरको भर्‍याङ उक्लिँदा भाइसँग सोधेँ, ‘कस्तो लाग्यो।’ भाइले राम्रै छ भनिदिए। अनि मैले पनि बुवाले सोध्दा राम्रै छ बुवा भनिदिएँ। भोलिपल्टै बुवाले त टिकोटालोको दिन र बिहेको दिन तय गरेर आइदिनु भो। हप्ता दिनभित्रै बिहे भयो,’ त्यो समय याद गर्दै सुनाए उनले।

लजालु स्वभावका उदार अनि सहयोगी मन भएका पहारीको सामान्य जीवन र उच्च विचार लोभलाग्दो देखिन्छ।  जिन्दगीका तमाम घटनाहरू छन् जो बेलाबखत बास माग्न आउँछन् स्मृतिपटलमा। तर पनि सबैभन्दा बढी पर्यटकीय गन्तब्य बोकेका गाउँहरुले झल्को लगाइरहन्छन् मनमा हरदम। विकासको भोक लागेर पर्खाइमा बसेका ठाउँको चयन गर्न लागिपरेकै छन् उनी।

सबलाइन ट्राभल्स सञ्चालन गर्दा उनी काठमाडौंमा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) को सदस्य थिए। भिटोफको क्रियाकलाप निकै नै मन पर्थ्यो उनलाई। एउटा ठाउँ प्रमोसन गरौं भन्यो व्यवसायीको टोली जाने। गाउँ पर्यटनको कुरा बुझ्दै गए पहारी। गहिरिँदै हेर्दा गाउँ पर्यटनलाई प्राथमिकतामा राख्नुपर्छ। यसको प्रवर्धन गर्नु पर्छ भन्ने ठानेर पहारीले तात्कालिन अध्यक्ष चित्र बहादुर गुरूङ र महासचिव राजकुमार थापासामू प्रस्ताव राखे, ‘तपाईँहरूकै कार्यकालमा पोखरामा पहिलो शाखा खोलौं न त।’

पहारीको प्रस्तावले निकै खुसी भए गुरूङ र थापा। गण्डकी कास्की गुरूङ मगरको मिश्रित संस्कृति भएको ठाउँ। २०७१ मा पोखरा फर्किएर पहारीले गठन गरे तदर्थ समिति। तदर्थ र कार्यकाल मिलाउँदा साढे तीन वर्ष जति भिटोफ कास्कीको अध्यक्ष बने उनी। त्यो समयमा उल्लेखनीय काम पनि भए। त्यति बेला सिरूबारी घलेगाउँ जस्ता एकाद नाम चलेका होमस्टे मात्र सञ्चालनमा थिए। धेरै जसो खुलेर पनि बन्द भैसकेका थिए। उनकै पालामा होमस्टेलाई तीन प्रकारले वर्गीकरण गरेर हेर्न थालियो।

ती तीन प्रकारमा थिएः चलिरहेका, चलेर बन्द भएका र चल्न इच्छुक।

दोस्रो र तेस्रोका समस्या खोज्दै जाँदा निष्कर्ष निस्कियो- मार्केटसँग जुझ्न नसकेको। होमस्टेको मार्केट कहाँ छ त्यो समेत थाहा नभएको भन्ने कुरा। अनि भिटोफ कास्कीले सुरू गर्‍यो। विभिन्न गोष्ठी सेमिनार, कुक, म्यानेजमेन्ट, व्यक्तित्व विकास, सोसल मिडिया अपडेट जस्ता नयाँ ट्रेनिङहरू।

२०७१ चैतमा पोखरामा ३१ वटा होमस्टेहरुलाई उतारेर सुरू गरे नेपालकै पहिलो वृहत होमस्टे मार्ट। जसमा आयोजक बन्यो टुरिजम बोर्ड। अनि संयोजक बन्यो भिटोफ नेपाल कास्की। त्यतिन्जेल होमस्टे सञ्चालकहरू बिचमै परिचय थिएन। पछि मेला महोत्सवमा स्टल राख्नेदेखि गोष्ठी चलाउने, ब्रोसर बनाउने, पत्रकारलाई घुमाउने, लेख्न लगाउने जस्ता कार्यहरु गर्न थाले होमस्टे संचालकहरू। यस अर्थमा मार्ट कोसेढुङ्गा सावित भयो।

पहारीकै कार्यकालमा स्व. क्याप्टेन रूद्रमान गुरूङ गाउँ पर्यटन प्रवर्धन पत्रकारिता पुरस्कार वर्षमा २ जनालाई उपलब्ध गराउने सुरुवात समेत भयो।

सानैदेखि सामाज, संस्कृति, पर्यटन र जनावरप्रति रुचि भएका पहारी पछिल्लो समय चापाकोटमा रमाइरहेका छन्।

चापाकोट जहाँबाट देखिन्छ सुन्दर नगरी पोखरा। वरिपरि वनजंगल भएको बीचको ५० रोपनी जति खाली जमिन लिएर राजु दाहाललाई सहयात्री बनाइ सुरू गरेका छन् उनले चापाकोट एग्रो टुरिज्म एण्ड फार्म स्टे।

जहाँ हेर्दा नजिकै देखिन्छ फेवाको किनार। बिहान सूर्यका किरणसँगै उज्यालिदै आएका माछापुछ्रे र अन्नपूर्णका टाकुराको दर्शन गरेर योग गर्न सकिने उद्देश्यले तयार पारेका छन् योग कक्षसमेत। तलतिर माछापालन गरिएको पोखरी छ। जहाँ दुई दिन अघि मात्रै माहुर जातका ११ हजार भुरा राखिएका छन्। २५ वटा कडक नाथ ६० वटा गिरिराज गरी परीक्षणका लागि मात्रै ५०० वटा लोकल कुखुरा पालेका छन्। अनि छन् २२ सय वटा बोइलर कुखुरा, १७ वटा बाख्रा र दुई वटा उन्नत जातका गाई। तरकारी र फलफूल खेतीसमेत गरिएको उक्त ठाउँमा पुग्दा मन शान्त हुन्छ। छुट्टै तरङ्ग उत्पन्न हुन्छ शरीरमा।

लेकसाइडबाट १० कि.मी. टाढा रहेको उक्त फार्मभित्र चार कोठाको एउटा पुरानो घरलाई मर्मत गरी चिटिक्क पारिएको छ भने दुईटा नयाँ इको कटेज बनाइएका छन्। पहारीका अनुसार एक रातमा ४० जनासम्म बास बस्न सक्छन्। शान्त वातावरणमा एकातिर हिमालको दृश्यावलोकन गर्न पाइने अर्कोतिर ऐनाझै टलक्क टल्किरहने फेवाको किनार र जुनकीरीको सहर जस्तो देखिने पोखराको दृश्य हेर्दै अर्गानिक खाना र बासको आनन्द लिन सकिन्छ।

मिलनसार हिम्मतिला र खारिदै गएका तारानाथका सहयोगी पाइलाहरु गतिशिल बनेका छन् अचेल चापाकोट एग्रो टुरिज्म एण्ड फार्म स्टेमै। जुन फाम युवालाई प्रेरणा प्रदान गरी स्वदेशमै केही गर्न सिकाउने स्थल समेत बन्न सकोस्। शुभकामना।

सम्पर्कः
  • तारानाथ पहारी ९८५११०५०५८
  • राजु दाहाल ९८५६०४१९७५

यो पनि

गोठाला बन्दै पर्यटन उद्यमी (भिडियोसहित)

प्रकाशित मिति: : 2020-09-30 17:27:46

प्रतिकृया दिनुहोस्