मानिसको पुर्खा-
हामी मानव जातिको पुर्खा बाँदर, हाम्रो पुर्खौली थात थलो अफ्रिका महादेशको घना जङ्गल हो, जुन डार्विनले पत्ता लगाईदिएका थिए। एक्काइसौं शताब्दीका बाँदर वंशीय उन्नत सर्वश्रेष्ठ प्राणी विभेदपूर्ण ढङ्गले थरि थरि जात जातिमा विभक्त छौं। कोहि बाहुन(ब्राह्मणीय कूलका) कोही क्षेत्रि (कुलिन सम्भ्रान्त) वर्गका कोही वैश्य (जनजाति समुदायका) कोही शुद्र (दलित वर्गका) वर्ग भित्र पनि उपवर्ग छन्।
कोही सृष्टिकर्ता ब्रम्हाको मुखबाट जन्मिएका कोही बाहु कम्मर र कोही पैतालाबाट जन्मिएका अरे! त्यसैले वेदका अन्ध अर्ध ज्ञाताहरूका अनुसार हामी ब्रम्हाका आधुनिक पुस्ता हौं भने पवित्र धर्मशास्त्र बाईबलका अनुसार हामी आदम र हब्बाका सन्तान हौं।
यहाँ वेद, बाईबल, उद्विकासको सिद्धान्तले हामीलाई जुनसुकैको पुस्ताको रूपमा सिफारिस गरे पनि अथवा मानिसलाई ब्रम्हाले बनाए पनि आदम र हब्बाले जन्म दिए पनि बाँदरबाट विकसित भए पनि या जमिनको माटो र कुखुराको सुली मिसाई मानव आकृति दिए पनि हामी एउटै पूर्खाका सन्तति हौं। एउटै कूलघरानका एकबाट हामी हरेक जन्मिएका हौं र विश्वभर छरिएर फैलिएका हौं।
तर भिन्न कसरी? झनै नानाभाँति अनेक थरी जात जाति कोही छुन मिल्ने पवित्र कोही छुन नमिल्ने अपवित्र (अछुत) कस्तो विडम्वना? एउटै पुर्खाबाट विकसित पुस्ता छुवाछुत जस्तो जघन्य अपराधबाट ग्रसित विभेदपूर्ण जीवन बाँचिरहेका छन्।
छुवाछुत व्यवस्थाको श्रीगणेश-
जातीय छुवाछुत भनेको अरू केही होइन व्यक्तिमा भएको विकृत मानसिकताको उपज हो। जसको श्रीगणेश भेदभाव धार्मिक रूपमा हिन्दु ग्रन्थ अनुसार भागवत १८ को ४ मा भएको वर्ण व्यवस्थासँगै मर्यादा पुरूष श्री रामको पाला त्रेता युगदेखि द्वापरहुँदै कलि युगसम्म जातीय छुवाछुतको जराले खुट्टा घुमाईरहेको छ। पृथ्वी जगतका पहिलो ब्रम्हाको मानसिक मानव पुत्र मान्छे मनुले जातीय भेदभावको परम्परा लिखित रूपमा व्यवस्था गरे पश्चात झनै उग्र रूपमा छुवाछुतको सामाजिक कुप्रथा सङ्गठित र व्यवस्थित ढङ्गले प्रचलनमा आएको पाइन्छ।
यदि छुवाछुतको इतिहासलाई विस्तृत रूपमा खोतलेर हेर्ने हो भने वेद, पुराण, भागवत, रामायण, माहाभारत लगाएतका विश्व विख्यात पुस्तकहरूलाई आधार मानि तत्कालिन सनातन वैदिक समाजलाई नियाल्नुपर्छ। किनभने धार्मिक शास्त्रहरू व्यवस्था हुन्। व्यवस्था भनेको नै कानुन हो जसले मानिसलाई अनुशासनमा बस्न मद्दत गर्छ तर भागवतमा गरिएको उक्त वर्ण व्यवस्थाको ब्राम्हणवादी भन्दा पनि बाहुनवादीले चरम दूरुपयोगगरिएको पाइन्छ।
फलस्वरूप त्रेतायुगमा विश्वकर्मा जातका ऋषिमुनिले तपस्या गर्दा अनिष्ट हुन थाल्यो भन्दै बध गरिनु, शुद्र जातको भएकै कारणले एकलब्यले दोर्णाचार्यबाट शिक्षा दीक्षा प्राप्त गर्नबाट बञ्चित गरिनु लगाएतका केही प्रतिनिधि घटनाले के थाहा दिन्छ भने जातकै कारणले धार्मिक, आर्थिक, सामाजिक सांसकृतिक, शैक्षिक रूपमा शुद्रहरू माथिको जातीय छुवाछुतको भेदभाव उहिले हजारौं वर्ष अघिदेखि जवर्जस्त अस्तित्वमा ल्याइएको हो।
नेपालको इतिहासलाई अध्ययन गर्ने हो भने जयस्थिति मल्ल [१३०५-१३३५] ले पेसाको आधारमा जातको व्यवस्था कामको बाँडफाड गरिदिँदा त झनै व्यवस्थित तथा विधिवत् ढङ्गले जातीय भेदभाव (छुवाछुतको समस्या) बल्झिदै गएको हो। मल्ल माहासयले आफ्नो मल्ल जातिको राज्य व्यवस्थालाई सुरक्षित तथा सुनिश्चित गर्न विहारका ब्राम्हणको सुझावमा काठमाडौं उपत्यकामा कुनियतका साथ षड्यन्त्रपूर्वक जातीय व्यवस्था लागू गरे।
जातीय पेशागत व्यवस्थाको दूष्प्रभाव हालसम्म उच्च अस्तित्वमा कायम नै छ। यस जघन्य जातीय छुवाछुत व्यवस्थालाई गोर्खाका राजा राम शाहले निकै नै कडाइका साथ लागू गरे जसको निरन्तरता पृथ्वीनारायण शाह, भिमसेन थापा, जङ्गबहादुर राणाले दिएको पाइन्छ।
जङ्गबहादुर राणाले मुलुकी ऐन १९१० मा छुवाछुतलाई कानुनी मान्यता दिए र कठोरताका साथ देशभरि लागू गरे। तत् पश्चात खिचातानि, काटमार, भ्रष्टाचार, मोजमज्जा, ऐस आरामको बाटोबाट अघि बढेको नेपालको जहानीया राणा शासन दिन दुःखी गरिबको टाउकोमा टेकेर शासन सञ्चालन गर्यो।
पञ्चायतमा राजा महेन्द्रले मुलुकी ऐन २०२० लागू गरि छुवाछुतको अन्त्य त गरे तर पञ्चायतका कुरौटे, भरौटेले कार्यान्वयन हुन दिएनन्। बरू राजा माहाराजाका निकटस्तले नातावाद, कृपावाद, चाकरी चाप्लुसी, पूँजिवादको आधारमा राजधानीबाट दुरदराजमा बस्ने सबै जातजातिलाई जातीय तहगत संरचना अनुसार शोषण गरि निरंकुश सामन्ति ढङ्गले अघि बढे।
जसले गर्दा जातीय छुवाछुतलाई त निकृष्ट मानवीय संवेदनाहिन ढङ्गले सामाजिक संस्कृतिको रूपमा विकास गर्दै मानव अधिकारको हनन् हुने गरि देशलाई गरीबीको दलदलमा भाँसेर राखिदिए।
आज नेपाल-
कुनै बेला नेपाललाई विश्वले शान्तिका अग्रदूत बुद्ध जन्मिएको देश, सगरमाथा हिमालको देश, स्वाभिमानी वीर बहादुरहरूको देश, पवित्र तपोभूमी एवम् मन्दिरहरूको देश, सामाजिक, सांस्कृतिक विविधताले भरिपूर्ण देश, विश्वभर पाइने सबै खाले मौसम, हावा, पानी, आद्रता, धरातलीय भौगलिक विविधता पाइने देश प्राकृतिक अनुपम सौन्दर्यताले भरीपूर्ण सुन्दर, शान्त, विशाल देशका नामले परिचित यो राष्ट्रको परिचय आज आएर बदलिएको छ।
राजनीतिक अस्थिरताको देश, छाउपडी जातीय छुवाछुतले व्याप्त देश भ्रष्टाचार, बलतकार बढी हुने देश दरिद्रताले दलियको आदि अनेकौं घिनलाग्दा निच एवम् तुच्छ नाम उपनामले चिन्न थालेका छन्। यो देशमा मान्छे मान्छे बीचको जातीय छुवाछुतको भेदभावले समग्र नेपाली समाज नै अमानवीय एवम् जर्जर बन्दै गइरहेको छ। आखिर कहिलेसम्म मानसिक रोग रूपी जातीय छुवाछुतलाई सामाजिक समस्याको रूपमा पालेर विदेशी प्रभुसँग हात फैलाईरहने?
जातको व्यवस्था-
जात एउटा पहिचान हो। पहिचानका लागि जात जातिको व्यवस्था गरिएको हुन्छ। संसारभरि अनेक थरी जाति छरिएका छन्। स्वतन्त्र अस्तित्वसहित सम्मानपूर्वक जीवनयापन गरिरहेकै छन्। हाम्रो समाज मात्र किन छुवाछुतको समस्याबाट ग्रसित ?
यदि पेशाकै आधारमा जात जाति छुट्याउने हो भने हामी सबै नेपालीहरू त शुद्र (दलित) वर्गमा गणना हुनुपर्ने किन? जो सबैभन्दा तल्लो जाति हो उसले सबैभन्दा बढी श्रम गर्छ भनिन्छ। यदि त्यस्तो हो भने श्रमका लागि त लाखौं नेपालीहरू खाडी तथा युरोप, अमेरिका, अस्ट्रेलिया,अफ्रिकी मुलुक जाने गर्छन्।
जहाँ घर चर्पी सफा गर्ने होस् या मसाज गर्ने, होटेलमा वेटर, भाडा माझ्ने होस् या चौकिदारी, भेडा बाख्रा चराउँने गोठाला हुन् या निर्माणको काम गर्ने ज्यामी कोही कसैलाई केही किन अछुत या शुद्र भनिएन?
त्यहाँ जात छैन। भेदभाव छैन। छुवाछुत छैन। सबैले गर्ने कामको उत्तिकै सम्मान तथा मान्यता छ। सबै नेपाली एक जुट भइ आपसमा मिलेर बसेका हुन्छन्। नेपालमा मात्रै जातीय भेदभाव छ। जात व्यवस्थाकै कारणले अशिक्षा, गरिबी, भोकमरी, उत्पीडन आदिले हाम्रो समाज जगडिको छ।
त्यसैगरि गुण, स्वभाव, चरित्रका आधारमा व्यक्तिको जात छुट्याउने हो भने त्यो व्यक्ति शुद्र हो जस्मा रजगुणः२०% सत्तो गुण १०% र ७०% तमो गुण हुनेलाई शुद्र भन्नुपर्ने हो। तर यस किसिमको गुण भएका व्यक्तिहरू ब्राम्हण कुलमा, क्षेत्री, वैश्य, शुद्र समुदायलगाएतका सबै वर्गमा पाइन्छन्। तर एकलौटी ढङ्गले उक्त गुण शुद्रहरूमा मात्रै हुन्छ भन्नु सरासर झुट हो।
७०% सत्तो गुण, २०% रजो गुण र १०% तमो गुण हुने पनि शुद्र समुदायमा अधिक मात्रामा प्रशस्त छन्। यतिसम्म ज्ञान नहुनेहरूलाई कसरी ब्रामण कुलका, के क्षेत्री वंशका भन्नू? शील स्वभावका आधारमा असल खराब भन्नु पेशाकै आधारमा जातीय व्यवस्था गर्नु राम्रो हो तर भेदभाव तथा छुवाछुत कायम गर्नु अपराध नै हो। साथै एक किसिमको मानसिक पागलपनको रोग पनि हो। किनभने हामी बाहुन, क्षेत्री, जनजाति, दलित आदिदेखि अन्त्यसम्म सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक, नैतिक रूपमा सबै सँगसँगै छौं।
तथापि भेदभाव छ। मान्छेले मान्छेलाई दुर्व्यवहार गर्नु सामाजिक तथा मानसिक समस्या हो। नेपालको इतिहासमा शुद्र वर्ग बनाइएका मान्छेहरूको पनि आफ्नै इतिहास छ। गरिमा छ साथ सहयोग समर्थन छ।
वास्तवमा दलितहरू अर्थात शुद्र समुदायका मान्छेहरूले राज्यले मागेको बखत सदा सर्वदा आफ्नो तह र तप्काबाट राष्ट्रलाईसाथ, सहयोग, समर्थन मात्र नभएर जीवनको बलिदानि पनि अर्पण गरेका छन्।
नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहलाई तन, मन, धन, वचन, कर्मले बिसे नगर्चीले साथ सल्लाहा नदिएका भए शाहले युद्व जित्दै जाने थिएनन्। त्यसै गरी कीर्तिपुरको युद्वमा काजी कालु पाँण्डेलाई गुमाएपछि ज्यान जोगाउन भागेका पृथ्वी नारायण शाहलाई बिसे नगर्चीले डोकोमा बोकी भगाउन मात्रै होइन ज्यान जोगाउन र नेपाल एकिकरणको अभियान सफल पार्न पनि सहयोग गरेका थिए, जो एक दलित थिए। तर विडम्वना 'खोलि तर्दै लौरी बिर्सिदै' गर्ने जातिले गर्दा यो वर्ग पछाडि पर्दै गएको हो।
तत्कालिन अवस्थामा हातहतियार बनाउने काम पनि त शूद्रहरू कै थियो। शूद्र (दलित) वर्गकै भए पनि पानी नचल्ने जातकै भए पनि विख्यात भारतको संविधान तयार पार्ने डा.भीमराब अम्बेडकरले नेपालका राजालाई संविधान निर्माण गर्न तथा लेख्नमा सुझाव र सल्लाह दिई सहयोग गरेकै हुन्।
राणा र राजा फाल्न पञ्चायत ढाल्न होस् या१० वर्षे माओवादी युद्व, २०६२/६३ को जन आन्दोलन भाग २ सफल पार्न लाखौं नेपाली दलितहरू ज्यानको बाजी थाप्दै कहिले मुक्ति सेना त कहिले जनमुक्ति सेनामा भर्ना भएर देशलाई सामन्तिहरूको चंगुलबाट छुट्करा दिन लडेकै हुन्।
जातीय छुवाछुत जस्तो जघन्य अपराध समाजको एउटा समस्या हो भन्दै देशलाई सर्वोपरी ठान्य दलितहरूको निर्दोषपनाको फाइदा सबैले लिएकै हुन्। तर एक दिन जब धैर्यताको बाँध फुट्छ त्यसबेला नदीमा धेरै पानी बगिसकेको हुनेछ।