काठमाडौंको बाटोमा १० वर्ष ट्याक्सी गुडाएपछि तनहुँ, भानु गाविसका एक अधबैसे युवालाई लाग्यो, कति अरूको गुलामी गर्नू!
दुई वर्षअघि नेपालमा मजदुरहरूको बलियो सरकार निर्माण भएको थियो, अभूतपूर्व! पेशाले मजदुर थिए। त्यसैले आशावादी नबन्ने कुरै भएन। त्यसमा पनि नेपाल भ्रमण वर्ष–२०२० को धुमधाम तयारी थियो,सरकारको।
काठमाडौंमा एक दशक ट्याक्सी चलाउने क्रममा मालिक र मजदुरबीचको भिन्नता चाल पाएका उनी हौसिएका थिए– मालिक बन्न। उनले गाउँको घरजग्गा नै धितो राखे। ३० लाख ऋण निकाल्न। उनको सामान्य जोडघटाऊ थियो, बैकको ऋण बिस्तारै तिर्दा पनि १० वर्षभित्र ब्याज मज्जाले चुक्ता हुन्छ। त्यसपछि गाडी आफ्नो। अर्थात गाडी साहु।
चैत ९ गते बैकले ऋण प्रवाह गर्यो। उनी दंग परे। चैत १० गते दिनभरी ट्याक्सी चलाउने क्रममा ३५ सय कमाईं भयो। उनले औला भाच्दै हिसाब निकाले–यही औसतमा कमाईं भए ८ वर्षमा ऋण चुक्ता।
तर, भाग्यलाई अर्के मन्जुर थियो। उनले ऋणपान गरेर ट्याक्सी चलाउन थालेको भोलिपल्टै अर्थात चैत ११ गते सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन ‘लकडाउन’गर्ने निर्णय गर्यो। यसपछि उनको भाग्य नै ‘लकडाउन’ भयो।
दीपक प्रसाद हाडखले। अहिले बिलखबन्दमा छन्। ‘लकडाउन’ को मारले न उनीसँग दैनिकी घर चलाउन पैसा छ, न आफ्नो दुई छोरालाई स्कुल पढाउने पैसा नै। यो भन्दा पनि चर्को समस्या दुई–दुई दिन बिराएर बैकबाट तारम्तार फोनको घण्टी बजिरहन्छ, ‘ब्याज डिपोजिट’ का लागि।
चैत र वैशाखमा जेनतेन उनले दुई महिना घर चलाए। तर, जेठपछि उनलाई घर चलाउन हम्मे हम्मे परिरहेको छ। यस्तो अवस्थामा बैकबाट ‘ब्याज’ का लागि बज्ने घण्टीले उनको आत्मबल कमजोर बनाएको छ। हरेक दिन उनी रेडियो, अखबार र टेलिभिजनमा आफू जस्ता मजदुरका लागि सरकारले केही आर्थिक प्याकेजको घोषणा गर्छ कि भनेर नियाल्ने गरेका छन्।
तर, सरकारी रवैया देखेर उनी निरास मात्र होइन, हतास बन्दै गइरहेका छन्। मजदुरको हितमा काम गर्ने सरकार भन्ने सोच पलाएर ऋण लिने आँट गरेका दीपकको कम्युनिष्ट प्रतिको त्यो धारणा पनि क्षीण हुँदै गइरहेको छ।
उनी परिवारलाई छोडेर अन्यत्र जाने अवस्थामा छैनन्। किनभने उनी जहाँ गए पनि मोबाइलको घण्टी बज्न छोडेको छैन र छोड्ने पनि होइन? केही दिनअघि काठमाडौंको सडकमा भेटिएका दीपक भन्दै थिए, ‘१४ प्रतिशत मासिक ब्याजमा बैकबाट ऋण लिएको थिएँ। अहिले बैकले १० प्रतिशत मात्र तिर्दा हुन्छ भन्छ। तर, आफूसँग पैसा छैन। कहाँबाट ल्याएर तिर्ने? न सरकारले हामी जस्ता मजदुरको आवाज सुनेको छ। न बैकले घण्टी बजाउन छोडेका छन्।’
उनले हालसम्म धैयर्ता गुमाएका छैनन्। सरकारले दिने पाँच किलो चामलको सहयोग लिन उनको स्वाभिमानले मान्दैन। तर, उनी चरम समस्याबाट घेरिएका छन्, यो पनि सत्य हो।
‘सरकारले अब लकडाउन खुकुलो बनाएर हामीलाई सहज ढंगले ट्याक्सी चलाउन दिएन भने सुकुम्बासी हुनुबाहेक अर्को विकल्प छैन,’ उनी भन्दै थिए, ‘अहिले त ब्याज तिर्नेभन्दा पनि जहान परिवारलाई भोकमरीबाट कसरी जोगाउने भन्ने नै हो।’
उनको परिवारमा दुई छोरा छन्। एक जना १० कक्षामा पढ्दै छन् भने अर्को ७ मा। बुवाको निधनपछि आमा र श्रीमती गरेर पाँच जनाको परिवार बसेको छ, काठमाडौंमा। बानेश्वरमा उनले भाडामा फ्लाट लिएका छन्। मासिक घरभाडा नै १५ हजार तिर्नुपर्छ। बेरोजगारीको यो अवस्थामा त्यो भाडा पनि कसरी तिर्ने?अर्को समस्या छ।
सरकारले आफू जस्ता मजदुरहरूको विषयमा कुनै योजना बनाएको नदेखेर उनी चकित परेका छन्।
‘हामीले सरकारलाई मेरो सबै ब्याज तिर्दे। घरमा खाना भएन चामल दे भनेर भनेकै छैनौं,’ उनले सरकारको गैरजिम्मेवारीपन प्रति औला उठाउँदै भने, ‘यति ठूलो महामारी आयो। हामी कसरी बाच्ने? हाम्रो परिवार कसरी बचाउने? बैकले आफ्नो ऋण कसरी उठाउने? हामी पुनः रोजगारीमा कसरी फर्किने? यो योजना पो सरकारबाट खोजिरहेका छौं।’
उनलाई सरकार कर नउठाई चल्न नसक्ने कुराको राम्रै हेक्का छ। तर, असहज परिस्थितिमा सरकारले पनि अविभावकत्व देखाओस् भन्ने उनको कामना छ।
‘अब हामीसँग तीन वटा विकल्प छ। कि बाहिर जाने, कि सुकुम्बासी बन्ने कि आत्महत्या गर्ने,’ उनले सरकारसँग आग्रह गरे, ‘पैसा नभएको अवस्थामा बैकले हामीलाई निचोरेर पनि केही पाउने होइन। त्यसैले सरकारले एउटा मध्यमार्गी बाटो निकाल्नु पर्यो। बैक पनि नडुब्ने, हामीले पनि आत्महत्या गर्नु नपर्ने।’
उनी आफू जस्ता विपतमा परेका मजदुरलाई आत्महत्या गर्नबाट जोगाउन सरकारले ठोस् नीति लिएर आओस् भन्ने कामना गर्छन। आफूहरू काममा फर्किएपछि सरकारले कर लिँदा पनि खासै फरक नपर्ने उनको जिकिर छ। भन्छन्, ‘हामीलाई आत्महत्या गर्न प्रेरित गर्ने कि हाम्रो ज्यान बचाउने? त्यो सरकारको हातमा छ।’