जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ। अधिकांश ठाउँमा वर्षा हुनेछ। अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ। यो क्रम आगामी तीन÷चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले आम सर्वसाधारणमा अनुरोध गर्नुभएको छ। विभागले तराई र चुरिया क्षेत्रमा बढी पानी पर्ने जनाइसकेको छ।
नियमितजसो वर्षा भएकाले मुलुकका खोला, नाला, नदीहरु उर्र्लन थालिसकेको छ। मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ। यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ। तराई र चुरिया क्षेत्रमा चट्याङ्को पनि उत्तिकै सम्भावना छ।
“यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुनसक्छ, खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउनसक्छ, त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ, मौसमविद् पौडेलले भने, “जमिनको बनावट वरिपरीको क्षेत्र हेरेर सावधानी अपनाउनु जरुरी छ।”
यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै मुलुकभर भारी वर्षा भयो। जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ। विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा यस्तो अवस्थामा अझै चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ। पर्वतलगायत केही स्थानमा बाढी पहिरोले मानवीय क्षति भइसकेको सन्दर्भमा तीनै तहको सरकारको समन्वयमा पूर्व तयारी र राहत उद्धारका लागि आवश्यक काम गर्नुपर्ने टड्कारो आवश्यकता छ।
अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने जलविज्ञ सुनिल पोखरेलले बताए। “ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी बढेर सतर्कतासम्म पुग्नसक्छ, पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्छ”, पोखरेलले भने।
उनका अनुसार कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ। नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको उनले बताए। ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ। सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पु¥याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ।
सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ। सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पुर्याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल मन्त्रालयगत रुपमा जिम्मेवारी छुट्याएर आवश्यक तयारी गरिरहेको बताउनुहुन्छ। विगतको अनुभवबाट सिकेर धेरै ठाउँमा नयाँ कार्ययोजना बनाई लागू गरिएको र क्षति न्यूनीकरणका लागि पूर्वसूचना र पूर्वतयारीको अवस्थालाई चुस्त पारिएको उनले बताए।
सूचना प्रणालीको व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले समन्वय गरिरहेको छ। यसको अलावा पूर्वतयारी, पूर्वसूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा समेत गृहमन्त्रालयले आवश्यक तयारी गरेको छ। प्राधिकरणका अनुसार यसपटक डुबान, कटान, बाढी, पहिरो र पानीजन्य रोगका कारण झण्डै ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक पूर्वतयारी गरिएको छ।
नेपालमा मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजार मानिसले ज्यान गुमाउँछन्। जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम पर्छ।