पुटिन थप सर्वशक्तिमान बन्दै, २०३६ सम्म राष्ट्रपति बन्ने अभियानमा

राष्ट्रपति ब्लादिमिर पुटिन १६ वर्षदेखि रुसको सत्तामा एकलौटी शासन चलाइरहेका छन्। रुसमा जारी संविधान संसोधनको एउटा प्रस्ताव पारित भएमा उनलाई थप १६ वर्ष देशको कार्यकारी पदमा आसिन हुने बाटो खुला हुनेछ।

त्यसैले उनले सोमबार रूसी जनतासँग भने, ‘यदि तपाईहरूले संविधान संसोधन सम्बन्धि विधेयकलाई मन्जुरी दिनुभयो भने म अर्को एक कार्यकालका लागि विचार गर्नसक्छु।’

वास्तवमा रूसमा पुटिनको कटपुतली सरकार छ। संसदमा उनको पुरा नियन्त्रण छ। त्यसैले अहिले अन्तर्राष्ट्रिय संस्थाहरूले उनी ३६ वर्षका लागि रुसी शासनका एकलौटी खेलाडी बन्न गइरहेको टिप्पणी गरेका छन्।

रूसमा राष्ट्रपतिको उम्मेदवारले ६–६ वर्ष गरि दुई कार्यकालका लागि चुनिन सक्ने प्रावधान छ। उनको अहिलेको कार्यकाल २०२४ मा समाप्त हुँदैछ। त्यसैले उनी अहिले नै संविधान संसोधन गर्न लालायित देखिएका छन्। संविधान संसोधनको प्रस्तावमाथि २५ जुनदेखि १ जुलाईसम्म देशभरि मतदान हुँदैछ। 

पुटिनको यो भनाई बाहिरिए लगत्तै विपक्षी नेताहरूले यसलाई संवैधानिक ‘कू’ भनेका छन्। उनीहरूले २०३६ सम्म सत्तामा बसिरहने पुटिनको रणनीतिको रूपमा यसको व्याख्या गरेका छन्।

तर, विपक्षीको आरोपको खण्डन गर्दै सरकारले भनेको छ, ‘संसदको भूमिका र प्रशासनिक नीतिलाई बलियो बनाउन संविधान संसोधन गर्न लागिएको हो।’ संविधान संसोधनमा संसद तथा अदालतले स्वीकृति प्रदान गरेको खण्डमा राष्ट्रपति पुटिनको अहिलेसम्मको कार्यकाललाई शून्य मानिने छ र यो अवस्थामा उनको राष्ट्रपतिको अघिल्लो यात्रा फेरि सुरु हुनेछ।

पुटिन ६ मे सन् २००० मा पहिलो पल्ट राष्ट्रपति नियुक्त भएका थिए। पहिले राष्ट्रपतिको कार्यकाल ४–४ वर्षको थियो। उनी दुई कार्यकाल राष्ट्रपति भएपछि २००८ मा पदबाट बाहिरिएका थिए। तर, उनले आफ्नो कट्टपुतली मेदवेदेवलाई राष्ट्रपति नियुक्त गरे र आफू प्रधानमन्त्री बने। उनले त्यति बेला सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित गराएका थिए। सन् २०१२ मा पुनः राष्ट्रपतिको निर्वाचन लड्नुअघि उनले यसको कार्यकाल ६ वर्ष बढाउन लगाए र पुनः अधिकार आफूमा निहित गराए।

रूसको जासुसी संस्था केजीबीमा रहेर १५ वर्ष विदेशमा काम गरेका पुटिन रुसका पूर्व राष्ट्रपति बोरिस येल्तसिनले १९९९ मा अपर्झट राजीनामा दिएपछि प्रधानमन्त्री नियुक्त भएका थिए। लामो समय निर्वाचन नहुँदा उनले बीचको समय कार्यवहाक राष्ट्रपतिको भूमिका समेत निर्वाह गरे।

२६ मार्च २००० मा पुटिनले आफ्नो पहिलो राष्ट्रपतीय निर्वाचन सामान्य अन्तरले जितेका थिए। उनी राष्ट्रपति बनेको केही महिनामै ब्यारेट्स सीमा रुसी जहाज डुबेको थियो। यसले उनको छवीमा ठूलो धक्का लागेको थियो। यो घटनामा १ सय १८ जनाको निधन भयो। पुटिनले यो घटनामा ४ दिनपछि स्पष्टीकरण दिनु परेको थियो।

पुटिनको कार्यकाल २०२४ मा समाप्त हुँदैछ। हालको कानुन अनुसार उनले पुनः चुनाव लड्न पाउने छैनन्। त्यसैले रुसको तल्लो सदन ड्युमामा पुटिनको कार्यकाल बढाउने विषयलाई लिएर प्रस्ताव ल्याइएको थियो। संसदमा यो प्रस्ताव पुटिनका खास मानिने भेलेन्टिना तेरेस्कोभाले दर्ता गरेकी थिइन। उनी १९६३ मा अन्तरिक्ष पुग्ने पहिलो महिला हुन्।

प्रकाशित मिति: : 2020-06-22 20:56:00

प्रतिकृया दिनुहोस्