जुन २१ अर्थात साताको तेस्रो आइतबार। विश्वभरिका मानिसहरू कोरोना संक्रमणको कोलाहलका बीच ‘फादर्स डे’ मनाइरहेका छन्।
हिन्दू सभ्यतामा ‘बुवाको मुख हेर्ने दिन’ छुट्टै छ। तर, विश्वका अन्य मुलुकहरू भने बुवाको सम्झनामा ‘फादर्स डे’ मनाउँछन्। वास्तवमा ‘फादर्स डे’ को सुरुवात अमेरिकाबाट भएको हो। अमेरिकाको पश्चिमी भर्जेनियास्थित फेयरमोन्ट शहरमा पहिलो पल्ट ५ जुलाई सन् १९०८ मा मनाइएको मान्यता राख्ने धेरै छन्।
यसमा तर्क आ–आफ्नै छ। तर, मुलत दुई वटा कारण ‘फादर्स डे’ मनाउन थालेको ऐतिहासिक भनाई छ।
सोनोरा डोड नाम गरेकी एक महिलाले यो अभियानलाई जारी राखेपछि बाध्य भएर अमेरिकी राष्ट्रपति केल्भिन कोलीले सन् १९२४ मा ‘फादर्स डे’ मनाउन स्विकृति दिनु परेको भनाई पनि छ। सन् १९६६ मा राष्ट्रपति लिन्डन जान्सनले एक कदम अघि बढ्दै जुनको तेस्रो आइतबार ‘फादर्स डे’ मनाउने आधिकारीक घोषणा गरेपछि यो परम्परा अहिलेसम्म यथावत छ।
‘फादर्स डे’ मनाउने परम्पराको सुरुवात भएको घटनालाई अमेरिकी मिडियाले निकै रोचक ढंगले प्रस्तुत गरेका छन्। ६ डिसेम्बर १९०७ मा अमेरिकाको मोनोगाहस्थित एउटा कोयला खानीमा ठूलो दुर्घटना भएको थियो। जसमा ३ सय ६२ मजदुरको निधन भयो। मृतक बुवाको सम्झनामा गोल्डन क्लेटन नाम गरेका एक व्यक्तिले एउटा विशेष स्मृति सभाको आयोजना गरे। जुन स्मृति सभाको आयोजना अर्को वर्ष पनि जारी रह्र्यो।
यसरी कोइला मजदुरमा आफ्नो अविभावक गुमाएको सम्झनामा ‘फादर्स डे’ मनाउने परम्पराको सुरुवात भएको एकातर्फ दावी छ भने अर्को तर्फ सोनेरा डोडले आफ्नो बुवाको त्यागमा अमेरिकी जनमत तयार पारेको भनाई छ।
केही इतिहासकार ‘फादर्स डे’ सन् १९०८ देखि मनाउन सुरु गरेको बताउँछन्। तर, स्पष्ट जानकारी भने कसैसँग छैन। केही इतिहासकारले भने १९ जुन १९१० देखि ‘फादर्स डे’ मनाउन सुरु भएको दावी गरेका छन्।
सोनोरा १६ वर्षको हुँदा उनको आमाले उनीसँगै ५ भाईलाई छोडेर गएकी थिइन। यसपछि परिवार पाल्ने मात्र होइन, छोराछोरीको हेरविचार गर्ने जिम्मेवारी पनि बुवाको काँधमा आयो। सोनोराका बुवा विलियम ज्याकसल स्मार्ट पेशाले सिपाही थिए। उनले आफ्नो सन्तानलाई आमाको कमि कहिल्यै महसुस हुन दिएनन्।
सोनोराले सन् १९०९ मै आमाको सम्मानमा ‘मदर्श डे’ मनाउने गरेको कहानी सुनेकी थिइन। यसैले आमाको अभावमा आफू र भाईको हेरविचार गर्ने बुवाको सम्मानमा पनि उनलाई ‘फादर्स डे’ मनाउने विचार पलायो। उनले यसलाई अभियानकै रूपमा फैलाउन थालिन। उनले त्यति बेलै अदालतमा मुद्धा दर्ता गराएकी थिइन। जसमा लेखिएको थियो– उनको बुवाको जन्ममिति ५ जुन हो। त्यसैले परिवार प्रति समर्पित बुवाहरूको सम्मानमा जुनमा ‘फादर्स डे’ मनाउन दिइयोस्।
यति बेला एउटा युवतीको अभियान भनेर खासै महत्व दिइएन। तर, उनले अमेरिकी कांग्रेसमा प्रतिनिधित्व गर्ने नेताहरूसँग कुरा गरेर यसलाई अभियानकै रूपमा अगाडि बढाउने सोच बनाइन र यसका लागि वासिङ्टनमा क्याम्पेनको आयोजना गरिन्।
सोनोराको यही प्रयासका कारण जुन महिनामा ‘फादर्स डे’ मनाउन अमेरिकी सरकारले मान्यता दियो। अमेरिकी कांग्रेसबाट यसलाई कानुनको रूपमा मान्यता दिइएपछि छुट्टि दिने समेत घोषणा भयो। यसपछि ‘फादर्स डे’ मनाउने अभियान युरोप हुँदै विश्वका विभिन्न देशसम्म पुग्यो।
सोनोरा आफ्नो बुवाको जन्मदिन ५ जुनमै ‘फादर्स डे’ मनाउन चाहन्थिन्। तर, ‘फादर्स डे’मा छुट्टि दिने नियमका कारण यसलाई पहिले १० जुन बनाइयो र पछि जुनको तेस्रो आइतबारमा सहमति बन्यो।
अमेरिकाको गृहयुद्धमा समेत लडेका सोनोराका बुवाले पहिलो श्रीमतिले छोडेर गएपछि अर्को बिहे गरे। तर, उनको पनि निधन भयो। दुईवटै श्रीमति आफूसँग नभएपछि उनले एक्लै ६ छोराछोरीको हेरविचार गरे।
सोनोराको यस अभियानमा अमेरिकाको चर्चले ठूलो सहयोग गरेको थियो।