मुख्यमन्त्री गुरुङ भन्छन्- 'कोरोनाका  विरुद्ध  सामूहिक प्रयासको आवश्यकता'

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताएका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले भाइरस विरुद्ध आम सर्वसाधारण सचेत रहनुपर्ने बताए। 

'यसले पारेको असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नो तर्फबाट लाग्नुका साथै यस विरुद्धको लडाइँमा सामूहिक सचेतता आवश्यक छ' उनले भने। 

उक्त कार्यक्रममा उनलाई रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। 

सो अवसरमा रोटरी क्लब अफ डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले कोरोना भाइरस रोकथामका लागि क्लबले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामग्री र राहत उपलब्ध गराइसकेको जानकारी दिए। 

'रोटरी क्लब अफ इन्टरनेशनले असारको दोस्रो हप्ताभित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने तयारी भइरहेको छ' उनले भने। 

प्रकाशित मिति: : 2020-06-21 12:59:32

प्रतिकृया दिनुहोस्