माल्दिभ्सबाट नेपाली कामदार धमाधम फर्किदै

विश्वव्यापी कोरोना भाइरसको संक्रमणका कारण माल्दिभ्समा अफ्ठेरोमा परेका नेपाली कामदारलाई हिमालयन एयरलाइन्सबाट शुक्रबार उद्धार गरिएको छ। एक सय पचासभन्दा बढी नेपालीलाई माल्दिभ्सको राजधानी मालेबाट उद्धार गरिएको माल्दिभ्स राष्ट्रिय टोलीका लन टेनिस नेपाली प्रशिक्षक कुमार अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए। 

होटल तथा विभिन्न पर्यटन व्यवसायमा संलग्न ७ सयभन्दा बढी नेपालीको कोरोनाका कारण रोजगारी संकटमा परेपछि यही सातादेखि उद्दार कार्य सुरु भएको हो। यसअघि नेपाल एयरलाइन्सले यसै साता डेढ सयको हाराहारीमा नेपाली कामदारलाई उद्दार गरेको थियो। 

अब २२ र २३ तारिख गरेर दुई किस्तामा पुनः नेपाली कामदार नेपाल फर्काउने तय भएको अधिकारीले बताए। ‘कोरोनाका कारण माल्दिभ्सको पर्यटन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ। धेरै नेपाली होटल तथा रिसोर्टमा कार्यरत थिए। केहीलाई कम्पनीले नै प्लेन टिकट उपलब्ध गराएको छ,’ अधिकारीले भने। 

माल्दिभ्समा कोरोनाका कारण ८ जनाले ज्यान गुमाएका छन्। यहाँ कोरोनाबाट ठिक हुनेको संख्या ८० प्रतिशत छ।

प्रकाशित मिति: : 2020-06-19 20:18:41

प्रतिकृया दिनुहोस्