म्यान्मामा छन्दको स्थिति र छन्द दिवस

म्यान्मा (बर्मा) मा छन्द कविता लेखनको थालनी ९० वर्ष अघिदेखि नै भएको हो। सन् १९३० तिर उत्तर बर्माको कछिन् प्रदेशलाई कर्मथलो बनाएर कवि शोभाकर शर्माले ‘ऐरावती भक्ति माला’ नामक खण्डकाव्य लेखेर यसको सूत्रपात गर्नुभएको हो। यस कार्यले बर्माका नेपाली आदिकविको श्रेय उहाँलाई जान्छ। त्यसपछि अन्य कविहरूले पनि छन्दमा कृति लेखन र प्रकाशन गर्दै आएका छन्।

म्यान्मा (बर्मा) मा छन्दको पुनरूत्थान र विकासका लागि वरिष्ठ साहित्यकार कवि जगदम्बाश्री ठाकुरप्रसाद गुरागाईँज्यूले सरल र सुबोध छन्दवाटिका नामक पुस्तक लेखेर प्रकाशित गर्नुभएको छ। जसबाट कतिपय छन्दका सिकारूहरू लाभान्वित भएका छन्।

पुराना छन्दकविहरू (कताकति नयाँहरू पनि) का रचना भानुभक्तीय शैलीमै हुन्थे। रचनामा व्याकरणको भन्दा छन्दभंग नहोस् भन्ने बढी चिन्ता रहन्थ्यो। हिजोआज छन्दको अभियान तथा आन्दोलन  चलेका हुँदा सचेतता आएको देखिन्छ। नेपालमा  हुने यस्ता अभियान र  आन्दोलनले बर्मामा प्रभाव नपार्ने कुरै भएन। छन्द बचाऊँ अभियान- २०५३ को प्रस्तावमा छन्द दिवस प्राप्त भएको जानकारी यसका सामाजिक सन्जालबाट पाउँदा खुसी लागेकै थियो। अझ छन्ददिवस समेत नेपाललगायत विश्वका धेरै देशमा आ-आफ्नै तरिकाले मनाएको पाउँदा  अध्ययनको दायरा समेत म स्वयम्ले पनि बढाएँ।

अध्ययन गर्दै जाँदा  नेपालको हाम्रो पात्रोमा एउटा लिंक राखिएको रहेछ सो र अन्य सामग्री अध्ययन गर्दा वि.सं. २०५३ वैशाख ८ गतेलाई कवि माधव वियोगीज्यूको प्रस्तावमा नेपाल सरकार, पञ्चाङ्ग निर्णायक समितिले छन्ददिवस घोषणा गरेको जानकारी प्राप्त भयो। सो दिन छन्द बचाऊँ अभियान - २०५३ आरम्भ भएको दिन  रहेछ। आदिकवि भानुभक्त आचार्यले अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यको सूत्रपात गर्दै नेपाली छन्द कविता र त्यसको सहजतामा बल दिई क्रान्ति नै ल्याउनुभएको हो।

भानुका पूर्ववर्ती कविहरूले संस्कृतका क्लिष्ट शब्द प्रयोग गरेका कविताहरूलाई मात्र कविता मान्ने र त्यस्ता रचना गर्नेलाईमात्र कवि भन्ने गर्थे। भानुको उक्त अभियानले नेपाली भाषाको त्यो ढुङ्गे पर्वतलाई भत्काएर समथर भूमि तुल्याउन सफल भयो। यस कामले नै भानुलाई कालान्तरमा आदिकविको शिखरमा स्थापित गरेको हो। यसको श्रेय युवाकवि मोतीराम भट्टलाई जान्छ। कवि मोतीराम भट्टले पनि  आफ्नो साहित्यिक अल्पायुमै नेपाली भाषा साहित्यको संरक्षण, सम्बर्द्धन, परिमार्जन, प्रकाशन, प्रसारणजस्ता काममा समर्पित भएर नेपाली भाषा साहित्यको अमूर्त आन्दोलन नै गरेका हुन्।

पछि कविशिरोमणि लेखनाथ पौडेल महाकवि लक्ष्मीप्रसाद देवकोटा र कवि बालकृष्ण  समादिले पनि नेपाली साहित्य र छन्दको विकासका लागि काम गरेका हुन्। राष्ट्रकवि माधवप्रसाद घिमिरेको पनि ठूलै त्याग तपस्यापूर्ण देन रहेको छ। जो शताब्दी नाघिसक्दा पनि समर्पित रहनुभएको छ नेपाली वाङ्मयको उत्थान यज्ञमा।

यति हुँदाहुँदै पनि पछिसम्म नेपाली साहित्यको सुमधुर सुललित र सरस अङ्ग छन्द उपेक्षित भएर लोपोन्मुख स्थितिमा पुगिसकेको थियो। छन्दलाई मायाँ गर्ने कतिपय कविहरूले अनेकानेक निन्दा उपेक्षा र उपहासादि सहेर नेपाली साहित्यको छन्द विधालाई विस्तारका लागि भरमग्दुर साधना गरे। तै पनि गद्यमा कविता लेख्ने क्रम बढ्दै गयो। छन्दमा लेखन भोलि सङ्कटमा पर्छ भन्ने लागेपछि छन्दलाई प्राण सम्झने कवि श्री माधव वियोगीले २०५३ वैशाख ८ गतेको दिन छन्द बचाऊँ अभियानको घोषणा गरी गाउँगाउँमा छन्द सिकाउँदै हिँडेपछि नै छन्दलेखनमा पुनर्जागरण भएको मान्नुपर्ने हुन्छ। जुन स्वस्थरूपमा अङ्कुरित भई वृक्ष बनी दिशा विदिशामा झाङ्गिएर फुल्न फल्न थालिसके छ। जसको प्रमाण आज देश विदेशमा बस्ने लाखौँ करोडौँ नेपाली जनताले छन्द कवितामा अभिरुचि राखी छन्द कविता सुन्ने सुनाउने मात्र नभएर लेख्न रहर गर्ने र लेख्न शुरू  गरेका पनि प्रशस्त देखिन थालेको छ। जे जति काम भएका छन्  ती सबै छन्द बचाऊँ अभियानका प्रेरणाबाट भएका हुन्।

कति विद्वानहरू, कविहरू कविताप्रेमीहरू, बुद्धिजीवीहरू यस आन्दोलनको प्रभावमा रहेर दत्तचित्त भएर लागेका छन्। फलस्वरूप छन्दको पुनरुत्थान, पुनर्जागरणको सुगन्ध महसुस सबैलाई हुन थालेको छ। आज छन्द कविताको मीठो गुञ्जनले विश्व नै आनन्दित भएको अनुभूति भएको छ मलाई त। छन्दको विश्वव्यापीकरण भएको छ। कवि माधव वियोगीको जति नै प्रशंसा गरे पनि कम हुन्छ। जति धन्यवाद दिए पनि थोर नै हुन्छ। हामी उहाँप्रति कृतज्ञ छौँ, सारा विश्व  पुलकित भएको छ। छन्दनायकको रूपमा माधव वियोगीले प्राप्त गरेको ख्याति सार्थक पनि छ।

माधव वियोगी


छन्दकै उत्थानका लागि उहाँले आन्दोलन नै गरी हरेक वर्ष महाकाव्य लेख्ने गरेको सुन्न र जान्न  पाउँदा उहाँको जीवन नै छन्दका लागि  रहेछ भन्ने बोध हुन्छ। उहाँको यो अभियानले विजयको शिखर टेकेकै छ , अझै माथि पुग्ने लक्षण देखिन्छ।

अहिलेको समय नेपाली वार्णिक छन्दको विकास र परिमार्जनको समय भएकोले यहाँ पनि छन्दमा कविता रचना गर्दा ज्यादै सतर्कता अपनाउन थालिएको छ। भर्खरै शुभारम्भ भएको अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलन २०७७ को पहिलो शृङ्खलामा म्यान्माको प्रतिनिधित्व गर्ने सुनौलो अवसर मिलेको हुनाले दुई कविता वाचन गर्ने मौका पाएको थिएँ। दुवै कविताको सकारात्मक समीक्षा पनि भएको रहेछ  जसबाट खुसी, उत्प्रेरणा र प्रोत्साहन प्राप्त भएको छ।

म्यान्मामा बखत बखतमा साहित्य सम्मेलन, कविगोष्ठीहरूको आयोजना हुने गर्छ। गद्य पद्य दुवै विधाका कविताहरू वाचन हुन्छन्। सन् १९९८को वृहत् साहित्य सम्मेलनमा १५० भन्दा बढी कविहरूले कविता पढेका थिए जसमा छन्दकविहरूको संख्या पनि उल्लेख्य थियो। यहाँका २ लाख नेपाली भाषीहरूको अनुपातमा यो उपस्थिति त्यति कम होइन। छन्ददिवसको घोषणा प्रशंसनीय छँदै छ। यस दिवसको सदुपयोग गरेरसबैले लाभ लिन सकौं, छन्दको युग पुनर्जागृत  जसरी भएको छ त्यसरी नै यो अझै झाङ्गिदै जाओस् भन्ने कामनाका साथ छन्दनायक वियोगीज्यूलाई हार्दिक बधाई अर्पण गर्दछु। जय छन्द!! 

यो पनि हेर्नुहोस्

छन्द चर्चा र छन्द बचाऊँ अभियान

प्रकाशित मिति: : 2020-06-17 10:11:00

प्रतिकृया दिनुहोस्