पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानी पनि कोराेना सङ्क्रमित

भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार पूर्वप्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

पाकिस्तानी पूर्वप्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए । 

पूर्वप्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गरेकाे डनले समाचारमा उल्लेख गरेको छ ।

पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६६७ पुगेको छ भने दुई हजार ५७४ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्वप्रधानमन्त्रीले कैयौँ वकीलहरूमा सङ्क्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाईका लागि आफु प्रत्यक्ष हाजिर नहुनेगरी व्यवस्था गरिदिन आग्रह गर्नुभएको डनले लेखेको छ । 

पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति: : 2020-06-13 21:19:11

प्रतिकृया दिनुहोस्