कालीनदी पूर्वी भाग नेपालको हो, सो भूमि फिर्ता ल्याउन कांग्रेसको समर्थन हुन्छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताए।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कांग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १८१६ को सुगौली सन्धी र त्यसपछिका ऐतिहासिक दस्तावेजले काली नदी पूर्वको भूभाग नेपालको भएको बताउँदै यसबारे संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावले ऐतिहासिक एकता कायम गराएको बताए।

प्रतिनिधि सभामा प्रस्तुत संविधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सभापति देउवाले आफू आजको बैठकमा अरु विषयमा नगई केबल संविधान संशोधन प्रस्तावमाथि केन्द्रीत भएर कुरा राख्न उभिएको बताए।

‘आज म खासगरीकन यो संविधान संशोधनमा केन्द्रीत रहेर केही कुरा भन्न चाहन्छु। सुगोली सन्धी १८१६ अनुसार, कालीनदी पूर्वको नेपालको भूभाग नेपालको भएको स्पष्ट छ। अंग्रेजले छापेको नक्सा र चाइनिजको शब्द अनुसार पनि कुटीयाङदी भनेको काली नदी भएको कारण उक्त भूभाग नेपालको भएको स्पष्टै छ,’ उनले भने।

देउवाले नेपालको स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको रक्षार्थ प्रस्तावित संविधान संशोधनको प्रस्तावप्रति आफ्नो पार्टीले केन्द्रीय कार्यसमितिको बैठकले र आजै मात्र पनि संसदीय दलको बैठकबाट यो प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जानकारी दिए।

उनले यो सबै पार्टीहरुको यो प्रस्तावको पक्षमा समर्थन देखिनु राष्ट्रिय हितका लागि राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताका लागि राष्ट्रिय एकता रहेको सन्देश दिन सकेकोमा खुशी व्यक्त गरे।

उनले आफूलाई धेरै कुरा भन्न आवश्यक नभएको बताउँदै आजको प्रस्तावको पक्षमा सम्पूर्ण नेपाली एक हुनु देशको हितमा महत्वपूर्ण घडी भएको बताए।
साथै उनले उक्त भूभाग फिर्ता ल्याउन कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2020-06-13 14:36:07

प्रतिकृया दिनुहोस्