जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ राहत माग्न आएका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका छन्।
लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मानसिंह थापासहितका मजदुहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग राखे।
मजदुरहरुको मागबाट रिसाएका वडाध्यक्षले सुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा वडाअध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताए।
गुरुप्रसाद र मानसिङलाई बचाउन जाँदा छिमेकी ग्वाता थापासमेत घाइते भएका छन्।
घुँडामा गहिरो चोट लागेका थापाको थापाको अहिले होलेरीस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको छ।
वडाध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर १५ हजार रुपैयाँमा जबरजस्ती मिलापत्र गर्न बाध्य पारेको पीडितको भनाइ छ।
‘मिलापत्र नगरी उपचार गर्न नजानू भनेका थिए’, पीडित थापाले भने, ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आए।’
उपचारपछि पीडित थापाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गर्ने बताएका छन्।
वडाध्यक्ष थापा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन्। उनी यसअघि पनि पटक पटक यस्ता क्रियाकलापमा संलग्न रहेको स्थानीयले बताएका छन्।