ब्राजिलले कोरोना भाइरस (कोभिड–१९)बाटमृत्यु भएका तथा संक्रमितको पूर्ण तथ्यांकसहितका वेबसाइट पुनः सञ्चालनमा ल्याएको छ।
शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो। यसपछि ब्राजिल सरकारले मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको छ।
राष्ट्रपति जायर बोल्सोनारोले कोभिड–१९ का सम्बन्धमा हुँदै आएको सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउनका लागि बेवसाइट बन्द गरिएको दाबी गरेका थिए। यता स्वास्थ्य मन्त्रालयले सबै तथ्यांक बारे जानकारी नदिइ पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट भएका मृत्यु तथा संक्रमणबारे मात्रै बताउने उल्लेख गरेको थियो।
तर सर्वोच्च अदालतमा सो बेवसाइड सञ्चालनको माग गर्दै मुद्दा दायर भएको थियो। मंगलबार सर्वोच्च अदालतले सूचना लुकाउनु सेन्सरसिप हुने भन्दै सरकारलाई तथ्यांक सार्वजनिक गर्न आदेश दिएको हो।
सर्वोच्चले बेवसाइट सञ्चालन गर्न आदेश दिएको केही घण्टापछि नै ब्राजिल सरकारले पूर्ण तथ्यांकसहितको बेवसाइट पुनः सुचारु गरेको छ।
ब्राजिलमा संक्रमितको संख्या अमेरिकापछि विश्वमै सबैभन्दा धेरै छ। जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसारस दक्षिण अमेरिकी देश ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख ३९ हजार भन्दा धेरै पुगेको छ। त्यसमध्ये ३८ हजार चार सय भन्दा बढीको मृत्यु भएको छ।
यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको थियो। डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न भनेको थियो।
उसले कोरोना भाइरसविरुद्धको अभियान ब्राजिलमा प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रमुखले भने,‘ सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ। उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ।’
तर राष्ट्रपति बोल्सोनारोले भने ब्राजिल डब्लुएचओबाट बाहिरिने भन्दै चेतावनी दिने गरेका छन्।