प्रतिष्ठानमा भीड घटाउन टेलिफोनबाटै विशेषज्ञ सेवा (भिडियाे)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले अस्पतालमा भीडभाड कम गर्न टेलिफोनबाटै विशेषज्ञ सेवा दिन सुरु गरेको छ। कोरोना भाइरसको जोखिम बढ्दै गएकाले उपचारमा सहज बनाउन टेलिफोनबाट विशेषज्ञ सेवा सुरु गरिएको हो।

संसारभर फैलिएको कोरोना भाइरसको त्रासले जोखिम बढ्ने भएकोले अस्पताले टेलिफोनबाटै सुविधा दिने गरी निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। 

‘जोखिम कम गर्न र अस्पताल आउन नसक्ने बिरामीको लागि टेलिफोन मार्फत् विशेषज्ञ सेवा सुरु गरेको हो,’ उनले भने, ‘टेलिफोन सेवाका साथै अस्पतालमा पनि ओपीडी चलिरहेको छ भने इमर्जेन्सी सेवा त छँदैछ।’ 

उनका अनुसार अस्पतालमा इमरजेन्सी, ओपीडी र शल्यक्रिया सेवा उपलब्ध छ। स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागि यो सुविधा प्रभावकारी हुने प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानका अनुसार हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. पुजनकुमार रोकायाले बिहान ८ बजेदेखि १० बजे, मेडिसिन विशेषज्ञ डा. धीरज गुरुङले बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा. निराजना कास्यले बिहान १० देखि १२ बजेसम्म, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिनेछन्। 

त्यस्तै सर्जरी विशेषज्ञ डा. सूर्यमान लिम्बु र इमेरजेन्सी हटलाइनका लागि डा. सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ।

रजिस्ट्रार काफ्लेले प्रतिष्ठानले सुरु गरेको सेवा प्रभावकारी बन्दै गएको बताए।  ‘डाक्टरहरुले बिरामीले फोन गरिरहेको बताउनु भएको छ,’ उनले भने, ‘बिरामीले बताएको समस्याको आधारमा औषधी सिफारिस गर्ने गरिरहनुभएको छ।’

प्रकाशित मिति: : 2020-05-22 16:29:43

प्रतिकृया दिनुहोस्