कोरोना कहर: यस्तो अवस्थामा छन्, ‘हटस्पट’ बासी

अछुत कोपिला

नेपालगन्ज

पछिल्लो समय प्रदेश नम्बर पाँच कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ।  प्रदेशकै बाँके जिल्लामा नेपालभरि सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। यो सँगै बाँके कोरोना भाइरसको उच्च जोखिम क्षेत्र ‘रेड जोन’ मा छ। नरैनापुरमा मात्रै ७३ जनामा कोरोना संक्रमण देखिएको यहाँको नरैनापुर गाउँपालिकालाई ‘रेड जोन’ घोषणा गरिएको छ। जिल्ला सुरक्षा समिति बाँकेले अनिश्चितकालिन बन्द ‘शिल’ गरेको छ। यहाँको नेपालगञ्ज उप–महानगरपालिकामा पनि २५ जनामा कोरोना संक्रमित भेटिएका छन्। खजुरामा एक जना थपिएका छन्।  बाँकेमा कुल संक्रमितको संख्या ९९ पुगेको छ। यो नेपालमा अहिले पनि कोरोना संक्रमण देखिएका मध्ये सबै भन्दा बढी हो। यसमध्ये २० जना निको भएर फर्किएका छन्। बाँकी सबै उपचाररत छन्।

प्रतिदिन कोरोना संक्रमण बढेसँगै यहाँ जोखिम मात्रै बढेको छैन। प्रत्येक दिन संक्रमित बढिरहेकोले यहाँको अवस्था अस्थिर छ। यहाँ नागरिक निकै त्रसित र भयवित छ। यसै सन्दर्भमा यहाँका विभिन्न क्षेत्रका नागरिकलाई बिएल नेपाली सेवाले यहाँको पछिल्लो अवस्थाको विषयमा जिज्ञासा राखेको थियो। प्रस्तुत छ उनीहरुले सुनेका, देखेका र भोगेका अनुभव:

कोरोना धनभन्दा ज्यान ठूलो हो भन्ने सिकायो

हेमन्त भट्टराई – व्यवसायी

यहाँको अवस्थाले निकै चिन्तिन तुल्याएको छ। भोलि के हुने यो यसै भन्न सकिने अवस्था छैन। भाइरसबाट विश्वका आर्थिक, सामाजिक, प्राविधिक र वैज्ञानिक रुपमा अब्बल राष्ट्रहरु नै हार खाइरहेका छन्। हाम्रो जस्तो आर्थिक रुपमा कमजोर राष्ट्रको लागि यो त मृत्यु जस्तै भएर आएको छ। यस्तो अवस्थामा अत्यन्त गम्भीर भएर सुरक्षा अपनाउनुको अर्को विकल्प हामीसँग छैन। देशमा संक्रमित बढिरहेका छन्।  जिल्लामा भयावह स्थिति सिर्जना भइरहेको छ। क्वारेन्टाइनमा मृत्यु हुनु सकारात्मक सन्देश होइन।

हामी कति असुरिक्षित छौं भन्ने उदाहरण पनि हो। यहाँका सरोकारवाला अब बिउझनै पर्छ। विशेष गरी भारतबाट आएका मानिसहरुको जुन किसिमको सुरक्षा हुनु पर्ने त्यसो हुन सकिरहेको छैन। सिंगो देश कोरोनासँग लडिरहेको छ। बाँकेको कुरा गर्दा यो हामी कसैले कल्पना समेत गरेका थिएनौं। पक्कै सबै पक्षबाट कमजोरी भएका छन्। झन् नरैनापुर ग्रामिण क्षेत्र समेत हो। अब पनि हामीले गम्भीरता देखाएनौं भने आगामी दिन झन अन्धकारमय देख्छु।

सिंगो नरैनापुर त्रसित बनेको छ

कृष्ण चन्द्र मौर्य– जनप्रतिनिधि (नरैनापुर–५)

अहिलेको हामी त्रसित, भयभित र आंतकित छौं। निरन्तर संक्रमित बढिरहेका छन्। अझै थपिन सक्ने सम्भावना उच्च छ। हाम्रो गाउँपालिकाका क्वारेन्टाइनमा बसिरहेका मानिस सबै भारतबाट आएका हुन्। ७ सय ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राख्ने ठाउँ नभएर खुला चौरलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न बाध्य छौं। पहिलो पटक संक्रमण देखिएका दाङमा उपचार भइरहको छ। अहिले यति ठूलो संख्यामा संक्रमित देखिए कि हामी आफैं अचम्ममा परेका छौं, कसरी व्यवस्थापन गर्ने भनेर।

सबै भन्दा बढी मेरै वडाका नागरिक छन्। वडासँग न कुनै अधिकार र न कुनै स्रोत।  गाउँपालिका समेत लागिरहेको छ। आइसोलेसन वार्ड बनाउने काम बल्ल सुरु गर्ने निर्णय भयो। एकातिर बढ्दो संक्रमण अर्कातिर आम नागरिकका दुःख। अबको हाम्रो वडा र सिंगो गाउँपालिकाको भविश्य देखेर निकै चिन्ता लागेको छ। कति जनाले ज्यान गुमाउने हुन्। सबै भन्दा डर यसैमा लागेको छ। अब हामी हाम्रा नागरिक गुमाउन चाहन्नौं। सरकारलाई आग्रह छ। कृपया हामीलाई कृपा गरिदिनुहोस्।

हामी पनि आफ्नो क्षमताले भ्याएसम्म हरसम्भव लागिरहेका छौं। अबको हाम्रो आवश्यकता पूर्ण व्यवस्थित क्वारेन्टाइन, सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षण, नागरिकको बाँच्ने अधिकारको ग्यारेन्टी राज्यले गर्नुपर्छ। अबको एक सेकेण्ड हाम्रो लागि अति महत्पूर्ण छ। पछिल्लो अवस्थाको कुरा गर्नु पर्दा सिंगो गाउँपालिका शिल छ।

चार वटै नाकामा सुरक्षाकर्मी खटिएका छन्। मानिसहरुलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ। बाहिर निकस्दा एक जना मात्रै निस्किन अनुरोध गरेका छौं। सुरक्षाको बाहिरी घेरामा सुरक्षाकर्मी छन्। नेपाली सेना, प्रशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले पहरा दिइरहेको छ ।

यो खुल्ला सीमानाको उपज हो

बसन्ती अधिकारी–अध्यक्ष नेकपा कोहलपुर नगर कमिटि

कोरोना भाइरसको कहर बाँकेमा समेत देशभर द्रुतगतिमा फैलिरहेको छ। बाँकेको नरैनापुर कोरोना भाइरसको ‘केन्द्रबिन्दु’को रुपमा देखापरेको छ। यो क्रम ज्यामितीय हिसाबले बड्दो छ। यो महामारीको रुपमा फैलन सक्ने जोखिम देखिन्छ। यो खुल्ला सीमाको उपज हो। नरैनापुर कोरोनाको ‘हटस्पट’ बन्न पुगेको छ।

सामान्यतया लकडाउनको समयमा खाद्य सामग्री खरिद, औषधि उपचार, खानेपानी, दूध, बिद्युत, दूरसञ्चार, फोहोरमैला व्यवस्थापनका अत्यावश्यक कार्यहरु बाहेक अन्य कार्य गर्न प्रतिबन्ध लगाइएको हुन्छ। तर बाँके जिल्लामा हेर्दा बाँकेमा पनि लकडाउन छ र ? भन्ने अवस्था सृजना भएको देखिन्छ। यहाँ कुनै सवारी साधन रोकिएको छैन। निर्वाद रुपमा गाडिहरु चलिरहेका छन्।

स्थानीय प्रशासन प्रहरी मुकदर्शक भएर बसेको छ। समन्वय, सहकार्य छैन। अब विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी छ भनेको अवस्थामा हामीले पनि उच्च सर्तकता अपनाउन जरुरी छ। धेरै मानिसको आवातजावत हुने भएकोले पनि यहाँ सतर्कता नअपनाउने हो भने ठूलो मूल्य चुकाउनु पर्ने अवस्था सृजना हुन सक्छ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरनका लागि एकिकृत कार्ययोजना बनाई अघि बढ्न जरुरी हुन्छ । भरपर्दो सूचना, अस्पतालहरुमा पुर्ण तयारी, सडकमा अपनाउनु पर्ने सावधानी, बाहिरबाट भित्रिएकाको ट्रेस, क्वारेन्टाइनको प्रभावकारी व्यवस्थापन तथा आर्थिक रुपमा पर्न सक्ने जोखिमलाई समेत सम्बोधन हुने गरि एकीकृत कार्ययोजना साथ अघि बढ्न जरुरी हुन्छ।

घरमै बसेर तथ्यपूर्ण समाचार लेख्न चुनौति 

मधु शाहीः पत्रकार

रिपोटिङ गर्न फिल्टमा न गई नहुने मेरो अचम्मको स्वाभाव छ। सुनेको भरमा समाचारका दुई शब्द पनि फुर्दैन। घटनास्थलमा पुगेर अवलोकन गरेपछि समाचार लेख्नुको आनन्द बेग्लै हुन्छ। पत्रकारिताको १२ वर्षे यात्रामा मैले स्थलगत रिपोर्टिङमा जोड दिदै आएकी थिए। त्यहि स्वाभाव शैली बन्दै गयो। म कार्यरत मिडियाले फिल्ड रिपोटिङमा विशेष जोड दिइरहन्छ। तर, अहिले पत्रकारीताको परिभाषा नै बदलिएको छ।

जति सक्दो फिल्डमा पुगेर समाचार संकलन गर्नु पर्ने विषय उल्टिएर घरमै बसेर सुरक्षित भई सत्य, तथ्य समाचार लेख्नु पर्ने देखिन्छ। कोरोना भाइरसको महामारीले विश्वभर कब्जा गर्दै जादा पत्रकारितामा समेत त्यसको गहिरो असर देखिएको छ। खास गरि हामी जस्तो विकासोन्मुख देशमा पत्रकारिता पेशा अपनाउदै आएका पत्रकारको अवस्था झनै चुनौतिपूर्ण छ। अहिले म घरमै बस्छु। समाचारका स्रोतहरुका फोन नम्बर टिपेर लिस्ट बनाएकी छु। दिनभरी एक राउन्ड सबैलाई फोन गर्छु। क्वारेन्टाइन, आइसोलेसन, सीमामा अलपत्र परेका नेपालीको अवस्था, लकडाउन पालनाको अवस्था र सरोकारबालाले के गरिरहेका छन्, फोनबाटै बुझ्न खोज्छु। फिल्डमा पुगेर समाचार लेख्ने स्थिति छैन।

पत्रकारको परिचय पत्रदेखि कोरोना भाइरस डराउदैन। केही दिन बाहिर निस्किएको थिए। आफन्ती र साथीभाइले गाली गर्न थाले। ज्यान भन्दा प्यारो पेशा होइन भन्दै सम्झाउन थाले। कता कता मनमा चिसो पस्यो। यो कस्तो पेशा ? निशाना नै पत्ता नलगाई हतियार चलाउनु परे जस्तै।  सावधानी अपनाएर सुचना संकलन गर्नु अहिलेको पत्रकारको चुनौति हो। संकटको बेलामा समाचारको सत्य तथ्य पत्ता लगाउन सजिलो छैन।

सुरक्षाको लागि रात दिन खटिरहेका छौं

कुलदेव चन्द्र–प्रमुख इ.प्र.का. कोहलपुर

हाम्रो काम पूर्ण रुपमा लकडाउन केन्द्रीत छ।  त्यस अलवा विभिन्न ठाउँमा हुने घटना, शान्ति सु–व्यवस्था कायम गर्ने काम भइरहेको छ। कोरोना संक्रमण बढिरहेको अवस्थामा हामीलाई झन् सुरक्षा व्यवस्था मजवुत बनाउनु पर्ने जिम्मेवारी थपिएको छ।  नरैनापुर हाम्रो छिमेकी स्थानीय तह हो। त्यहाँको सुरक्षा निकायसँग समेत बारम्बार सम्पर्कमा छु। प्रत्येक दिन साविकको भन्दा बढी ड्युटीमा म आफै खटिन्छु।

एकातिर जोखिम छ, अर्कातिर हामीलाई फुर्सद नै छैन। विषेश सुरक्षा अपनाएर जनताको सुरक्षाको लागि हामी निरन्तर लागिपरेका छौं।

यो रोग नै विचित्रको छ। कति बेला के हुने हो थाहा छैन। हामीले जनतालाई जनचेनता फैलाइरहेका छौं। आफू समेत सुरक्षित भएर काम गरिरहेको अवस्था छ। सेवाग्राहीहरु आउँछन्। उनीहरुसँग सामाजिक दुरी कायम गरेर, सुरक्षित रहेर पनि सेवा प्रवाह गरिरहेका छौं। अहिले सम्म कुनै पनि किसिमको समस्या आउँन दिएका छैनौं। सबैलाई सुरक्षित रहन अपिल गर्दछु। 

सरकारले परिक्षणको दायरा बढाउनु पर्छ

डाक्टर देवेन्द्र आचार्य –चिकित्सक

म एक चिकित्सक हुँ। दैनिक बिरामीको उपचारमा खटिरहेको छु। त्यो भन्दा बाहिरबाट हेर्दा एक पनि एक नागरिक हुँ। यो लकडाउनको समय हो। तर लकडाउनको पूर्ण पालना नभएको देख्दा भोलीको सम्भावित विपद् निकै डर लाग्दो छ। यस्ता क्रियाकलापले थप चूनौति थपेका छन्। यहाँ संक्रमण ठूलो संख्यामा देखिनुले विपद्को कालो बादल माडारिएको छ।

खुला सीमानाले हामीलाई कुन हद सम्म जोखिमयुक्त बनायो। म त भन्छु कृपाया घरबाट बाहिर ननिस्किदिउ। अहिले हामीले निकै जोखिम मोलेर काम गरिरहेका छौं। लक्षण बिना नै संक्रमण देखिने भएकोले सबै भन्दा जोखिममा हामी स्वास्थ्यकर्मी नै छौं।

यहाँ परिक्षणको दायरा कम भएर मात्रै हो। भोलिको हाम्रो अवस्था झन् भयानक हुन सक्छ। स्थानीय तह, प्रशासन र सरकारले पीसीआर जाँच बढाउनुको विकल्प छैन। स्वयम् व्यक्ति सचेत हुने र लकडाउनको पूर्ण पालना नै अहिलेको अपरिहार्य आवश्यकता हो।

अझै सम्वेदनशिल देखिएनन्

बलराम शर्मा –सभापति कोहलपुर नगर समिति

यो महामारीको समय हो। यसको औषधि अहिलेसम्म बनेको छ। सरकारले लकडाउन गरिरहेको छ। दुरी कायम गरी सुरक्षित रहनुपर्छ। यो अहिलेको अपरिहार्य आवश्यकता समेत हो। एक व्यक्ति अर्को व्यक्तिको सम्पर्कमै नजाऔं।  कोहलपुर लगायत बाँकेको अवस्था के देखिएको छ भने, मान्छेहरुले संम्वेदनशिल रुपमा लिएकै छैनन्।

सामदुरी समेत कायम गरेको देखिदैन। म त भन्छु, हामीले खाद्यान्न पसल समेत बन्द गर्नु पर्छ। नागरिकलाई खाना पुगाउने संयन्त्र विकास गरौं। लकडाउनको पालना नै भएको छैन भन्ने लाग्छ। नाका बन्द गरिएको भनिएको छ तर मान्छेहरु भकाभक आइरहेका छन्। नाका पूर्ण रुपमा बन्द गरौं। यो आवातजावत गर्ने समय नै होइन। 

हाम्रो संक्रमण बढ्दो अवस्थामा जिल्ला प्रशासनले गरेको काम ठिकै छ। नरैनापुर क्षेत्रका मानिसहरुलाई समेत कुनै पनि ठाउँमा आउन जान बन्देज नै गरौं केही समय। नरैनापुरलाई शिल गरिएको छ। जुन राम्रो हो। तर प्रभावकारी बनाउनु पर्ने हुन्छ। नेपालगञ्जमा समेत कोरोना देखिएको छ। जनतालाई आउन जान समेत नदिउँ। आफ्नो तर्फबाट सबैले सहयोग गर्नु पर्छ। पक्ष विपक्ष भन्ने अवस्था होइन यो। त्यसैले एकजुट भएर विपत्तिको कसरी सामना गर्ने हातेमालो सुरु गरौं। नत्र पछि निकै ढिलो भइसकेको हुनेछ।

प्रकाशित मिति: : 2020-05-22 14:34:41

प्रतिकृया दिनुहोस्