पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा मंगलबारदेखि हट्ने, लकडाउन कायमै रहने

पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा मंगलबारदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार सम्पन्न सर्वपक्षिय वैठकले निषेधाज्ञा हटाउने र व्यवस्थित रुपमा लकडाउन जारी राख्ने निर्णय गरेको हो । 

बैठकले लकडाउनलाई पूर्ण पालन गरी कृषि कर्मलाई सुचार गर्ने, कृषिको लागि आवश्यक पर्ने वातावरणका लागि सहजिकरण गर्ने, खेतीपातीका लागि सामाजिक दुरी कायम गरी काम संचालन गर्ने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु संचालन गर्ने, मलखाद, विउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्लाअधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । 

यसैगरी बैठकले भारतीय  तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने, मंगलबारदेखि वीरगञ्जका अतिआवश्यक खाद्य सामग्री विक्री वितरण गर्ने किराना पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ ग्राहक र पसलेले सामान खरिद तथा विक्री गर्ने निर्णय गरेको छ । 

जिल्लामा गत वैशाख ३० गते एकै साथ फेरि ३९ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अर्को सुचना जारी नभएसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति: : 2020-05-18 17:24:05

प्रतिकृया दिनुहोस्