पञ्चेश्वर, पश्चिम सेती, सुख्खा बन्दरगाह,सेती लोकमार्ग बारे सुन्दा सुन्दा सुदूरपश्चिमेली पछिल्लो पुस्ता पनि बुढो हुन थालिसक्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रममा फेरि पश्चिम सेतीको नाम लिइन् र यहाँका पाका पत्रकार डिआर पन्तले सहनै सकेनन् र लेखे, ‘पश्चिम सेती अगाडी बढाइनेछ भनेर सुन्दा सुन्दै म बुढो भए। यो सुन्दा सुन्दै तेस्रो पुस्ता बुढो हुन लागिसक्याे। कर्मकाण्ड जस्तो हरेक वर्ष श्राद्ध गर्नै पर्ने?’
वास्तवमा अहिलेसम्म सुदूरको नियति यहि हो। तर, कोरोना कहरबीच पश्चिमी सीमा कञ्चनपुरलाई महाकाली पारीको नेपाल र भारतसँग जोडने चारलेन पुलमा भइरहेको कामले सुदूरको यो सपना समयमै पुरा हुने छाँट देखाएकाे छ।
भारतीय राजधानी दिल्ली र औद्योगिक नगरी नोयडालगायत औद्योगिक क्षेत्र रुद्रपुर र महेन्द्रनगरबाट नैनिताल जाने बाटोमा उत्तराखण्ड सरकारले स्थापित गरेको औद्योगिक करिडोरको सबैभन्दा नजिक बनिरहेको चारलेन पुलका कारण कञ्चनपुरवासी उत्साही पनि छन्।
‘लकडाउन’ का कारण एक महिना निर्माण प्रभावित भए पनि अहिले यहाँ क्वारेन्टाइनमा बसिसकेका ५० मजदुर र यन्त्रका साथ धमाधम काम भइरहेको छ।
महाकाली पुल योजनाका रुपमा २०७४ साल भदौमा निर्माण सुरु भएको ३ अर्ब २७ करोड लागतको यो नयाँ महत्वाकांक्षी पुलमा एका तिरबाट आउने अर्को तिरबाट जानेमात्र गरि पुल डिजाइन भएकाे छ।
‘प्रिस्ट्रेस्ड आरसीसी ग्रीडर’ आधुनिक प्रविधिमा बनिरहेको देशकाे यो पहिलो चारलेन पुल हो। यहाँ एउटा लेनमा १७ गरी दुईवटा लेनमा ३४ वटा खम्बा (पिलर) रहेका छन्। चारलेन पुलको बीचमा ३ मिटर खाली भाग छ भने हरेक ५० मिटरमा दुबै पुललाई अन्य खम्बाभन्दा छुट्टै डिजाइन गरिएका खम्बाले जोड्छन्।
दुबै पुलको बीचमा रहने तीन मिटर खाली भागसमेत जोड्दा २७ दशमलव ८ मिटर कूल चारलेन पुलको चौडाईं रहेको योजनाका इञ्जिनियर सुलभ न्यौपानेले बिएल नेपाली सेवालाई बताए।
दुबै लेनमा चौडा सडक र पैदल बाटोको व्यवस्था गरिएको पुलको लम्बाईं ८ सय मिटर छ। न्यौपाने साधरण राजमार्गका पुलभन्दा यस पुलका दायाँबायाँ रहने बारहरु गोलाईंमा भित्रतीर ढल्काइएको बताउँछन्।
पुलका दुबै लेनमा ढलानको काम भइरहेको छ। महाकाली पुल योजना मातहत निर्माण कम्पनी कुमार–सिएफईसी जेभीले काम गरिरहेको पुललाई एकपटक म्याद थपेर २०७८ जेठमा काम सम्पन्न गर्ने गरि फेरी जिम्मा लगाइएकाे हो।
कुमार–सिएफईसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयका अनुसार पुलका ३४ मध्ये २८ वटा खम्बा तयार भइसकेका छन्। ‘पुललाई एक पिलरबाट अर्कोमा जोडने २८ स्ल्याभमध्ये पाँचवटा ढलान भइसकेको छ। छैटौंकाे ढलान गर्ने तयारी गरिरहेका छौं, उनले भने।
एउटा पिलरबाट अर्को पिलरमा स्ल्याभको लम्बाई ५० मिटर छ। बर्खा सुरु हुनुअघि ६ स्ल्याभ बनाउनु आवश्यक छ। थपिएको म्यादमा काम सक्न असोजबाटै काम सुरु गर्ने कम्पनीको योजना रहेको पाण्डेय बताउँछन्।
कालीमाथी इष्ट ईण्डिया कम्पनीले चन्द्र शमशेरको पालामा बनाएको पुल पुरानो हुुँदै जाँदा भारतले बिहान,दिउँसो र साँझ तीन पटकमात्र आफूलाई पायकपर्ने समयमा खोल्ने गरेकाे थियाे। यसले कञ्चनपुरको गड्डाचौकी नाका मुलुककै सबैभन्दा झण्झटिलो नाकाका रुपमा बदनाम छ।
सन १९२८ मा निर्माण सम्पन्न भइ सञ्चालनमा आएको यही पुलबाट ढाई किलोमिटर दक्षिण नेपालले आफ्नो चार लेनको पुल बनाउन थालेको हो। नयाँ पुल बनिरहेको ठाउँबाट दुई किलोमिटर मुनि एशियाको दोस्रो लामो दाबी गरिएको दोेधाराचाँदनी जोड्ने झोलुंगे पुल मनमोहक देखिन्छ।
राष्ट्रघाती मानिएको महाकाली सन्धिका बेला जलविद्युतको ड्याम बनाउन नेपाली भूमि कब्जा गरेको भारतले टनकपुर ब्यारेजसम्म सडक नबनाइदिँदा कञ्चनपुरबाट भारतसँग ठूला मालवाहक गाडीको पहुँच छैन। टनकपुर बजार र ब्यारेज पुरानो पुलबाट १० किलोमिटर उत्तर चुरे फेदमा छ।
टनकपुरवारी रहेको सुदूरको सबैभन्दा पुरानो व्यपारीक केन्द्र ब्रम्हदेवसम्म सरकारले बनाउनुपर्ने सडकलाई पूर्वपश्चिम राजमार्गमा जोडिसक्दा पनि सम्झौता अनुरुप भारतले दसगजा क्षेत्रमा बनाउनु पर्ने मटैनादेखि ब्यारेजसम्म २ किलोमिटर सडक अझैं बनाएको छैन।
टनकपुर ब्यारेज र गड्डाचौकीको पुरानो पुललाई पन्छाएर भीमदत्त नगरपालिका र कालीपारीको महाकाली नगरपालिकालाई जोडने यो नयाँ पुल बनेपछि कालीपारी सुख्खा बन्दरगाह बनाउने सपना नेताहरुले स्थानीयलाई बाँडदै आएका छन्।