चिउराकै भरमा नौ दिन पैदल यात्रा

रासस

सुर्खेत

'रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ', डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । 

हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताए ।

उनले भने, 'लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौँ । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौँ ।' अर्का मजदुर कर्णबहादुर बुढामगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताए । दुःखेसो पोख्दै बुढामगरले भने, 'बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।' यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उनको भनाइ थियो ।

उनले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताए । यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्याएपछि मात्र आफूहरुले बुझ्ने रासससलाई जानकारी दिए । 'हामीलाई बबई नाकाबाट आफैँले ल्याउने अनुमति छैन', अध्यक्ष मल्लले भने, 'यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।'

प्रकाशित मिति: : 2020-05-18 11:47:03

प्रतिकृया दिनुहोस्