नरैनापुरमा कोरोना संक्रमणका कारण मृत्यु भएका युवाको दाहसंस्कार, क्वारेन्टाइन क्षेत्र शिल

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका २४ वर्षीय युवाको  दाहसंस्कार गरिएको छ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको आइतबार बिहान कोरोना संक्रमणबाट निधन भएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा उनको आइतबार साँझ अन्त्येष्टि गरिएको छ।

शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो।

कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आजै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टिनदेखि करीब ३ किमीको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार दाह संस्कार गरिएको हो ।

भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दैआएका ती युवकको आज बिहान ४ बजेतिर  दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो ।

शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो।

पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो।

मृतक युवकसँगै आएका ३९ जना भगवानपुरस्थित दिपेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा अझै छन्। शनिबार मात्रै स्वास्थ्य कार्यालय बाँकेले उनीहरू सहित नरैनापुर गाउँपालिकाका २६३ जनाको कोरोना परीक्षण गरेको थियो। स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अन्यको स्वाब परीक्षणको क्रममा रहेकोले रिपोर्ट सोमबारसम्म आउँछ।

सङ्क्रमित ब्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

अहिले वडा नम्बर ५ को उक्त क्षेत्र शिल गरिएको छ।

उक्त क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। शुक्रबार नरैनापुरका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-05-17 23:17:40

प्रतिकृया दिनुहोस्