व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ।
स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्री वितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र निर्माण थालिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।
नगरपालिकाले एउटै ढाँचाका संकलन केन्द्र निर्माण गर्ने गरी रु तीन लाखका दरले रु ३३ लाख बजेट विनियोजन गरिसकेको उनले बताए।
'व्यास बजार क्षेत्रमा रहेका २, ३ र ४ वडामा नगरपालिकाले नै कृषकका लागि बिक्रीवितरण गर्ने विक्रीकक्ष बनाउन प्रक्रिया अघि बढाइसकेको छ' उनले भने, 'पर्यटन र उद्योगले गति लिन नसक्ने अवस्था आएपछि फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनासहित नगरपालिकाले पहल कदमी थालेको हो।'
वडा कार्यालयमा कृषि क्षेत्रका लागि न्यूनतम रु १० लाख नघटाई आगामी बजेटमा सम्बोधन गर्ने योजना छ। वडामा निर्माण गरिएको संकलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको व्यास–१ का वडाध्यक्ष खरसिं दरैले बताए।
'व्यास–१ स्थित बुल्दीखोला पुल नजीकको ओरालामा तीन कोठाको संकलन केन्द्र निर्माण गरिएको छ' उनले भने, 'वडामा फलफूल तथा तरकारी संकलन केन्द्र नहुँदा खुला आकाशमुनि घामपानी र हावाहुरी नभनी सडक किनार छेउमा बसेर बिक्री वितरण गर्नुपर्ने सर्वसाधारणको बाध्यता थियो।' व्यास– ७ मा भने लकडाउनका कारण संकलन केन्द्र निर्माण प्रभावित भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए।