सनिउल्ला धोबी
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेसँगै अहिले स्थानीय तहले समेत उच्च सतर्कता अपनाएका छन् ।
जिल्लाका १० मध्ये अहिलेसम्म आठ स्थानीय तहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएको छ । कपिलवस्तु नगरपालिकामा नौ र कृष्णनगर नगरपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मायादेवी गाउँपालिका र बुद्धभूमि नगरपालिकाका चारचार, विजयनगर गाउँपालिकामा एक, शुद्धोधन गाउँपालिकाका एक र वाणगंगा नगरपालिकाकी एक बालिकामा संक्रमण देखिएको छ। शिवराज र महाराजगञ्ज नगरपालिकामा संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। उनका अनुसार कपिलवस्तुमा प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति र सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको छ।
कपिलवस्तुका १४० स्थानमा क्वारेन्टाइन दुई हजार ९०८ शय्या संख्यामा छ । त्यस्तै चार हजार ४२६ जना क्वारेन्टाइनमा छन् । हालसम्म कपिलवस्तुमा ५९३ जनाको स्वाब परीक्षण गरिएको छ ।
के भन्छन पालिका प्रमुख
यशोधराको खोरिया गाउँ सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएकाले सिल गरिएको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए। यशोधराका अन्तरवडा आवतजावतसमेत पूर्णरुपमा बन्द गरिएको बताइएको छ ।
त्यस्तै कपिलवस्तु नगरपालिकामा भारतबाट आएका नागरिकलाई उच्च निगरानीमा राख्ने र आवतवाजावतमा पूर्ण रोक लगाइएको नगर प्रमुख किरण सिंहले बताए। अहिले नगरपालिकाका टोलका नागरिकसमेत सचेत भएकाले बाहिरबाट आउनेलाई प्रवेशमा रोक लगाई तत्काल क्वारेन्टाइनमा पठाउने गरिएको नगर प्रमुख सिंहले जानकारी दिए।
कृष्णनगर नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएकाले सावधानी अपनाइएको छ। नगर प्रमुख रजगप्रताप शाहले सबैभन्दा बढी खुला सिमानाका कारण संक्रमित बढेको बताए। नगरको ११ वडामा एकबाट अर्कामा आवागमनसमेत बन्देज गरिएको जनाइएको छ।
मायादेवी गाउँपालिकामा समेत लकडाउनको पूर्ण पालन गरिएको छ । तेत्तीस विद्यालयलाई क्वारेन्टाइन बनाइएको गउँपालिका अध्यक्ष बजरंगी चौधरीले बताउनु भयो । मायादेवीमा आठ सय जना क्वारेन्टाइनमा छन् । गाउँपालिकाको पकडी बढी भीडभाड हुने चौराहा भएकाले त्यहाँ बढी कडाइ गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
बुद्धभूमि नगरपालिकामा चार संक्रमित देखिएपछि सतर्कता अपनाइएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए। विजयनगर गाउँपालिकामा एक जनामा संक्रमण देखिएसँगै सावधानी अपनाइएको अध्यक्ष गोपालबहादुर थापाले बताए। विजयनगरमा नगर प्रहरी परिचालन गरी सिमानामा खटाइएको छ ।
त्यस्तै शुद्धोधन गाउँपालिकामा एक संक्रमित देखिएकाले प्रशासनको निर्देशनलाई मानेर सावधानी अपनाइएको गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमानले बताए। वाणगंगा नगरपालिकामा एक बालिकामा संक्रमण देखिएकाले टोलटोलमा सतर्कता अपनाइएको छ ।
त्यस्तै शिवराज नगरपालिकाले कोरोनाविरुद्ध नयाँ रणनीति अपनाएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए। नगरपालिकाले यही जेठ २ गतेदेखि लागू हुने गरी औषधि पसल बिहान ७ बजेदेखि साँझ ७ बजे तथा खानेपानी तथा खाना पकाउने ग्यास बिहान १० देखि दिउँसो १ बजेसम्म बिक्रीवितरण मात्र गर्न नियम लागू गरेको छ । नगरपालिकाले पेट्रोल पम्प २४ घण्टा सञ्चालनमा रहने र सोबाहेकका अन्य पसल व्यवसाय यही जेठ ५ गते राति १२ बजेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।
महाराजगञ्ज नगरपालिकामा समेत उच्च सतर्कता अपनाइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए। नगरमा अहिले भारतबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेकाले उनीहरुको व्यवस्थापनमा जुटिएको नगर प्रमुख कलामले जानकारी दिए। नगरपालिकाका क्वारेन्टाइनममा एक हजार १०८ जना छन्। रासस