कोरोना छायाँमा अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्पले सुरू गरे खोपको राजनीति

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकामा कोरोना कहरमाथि चुनावी राजनीति सुरू भएको छ। राष्ट्रपति ट्रम्प आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा आफूलाई फाइदा हुने कोणबाट मात्र हरेक निर्णय लिन थालेका छन्। 

यसै क्रममा उनले आफ्नो कट्टर समर्थक मिडिया फक्स न्युजलाई अन्तर्वार्ता दिदै आफूले जिते मात्र अमेरिकाले कोरोनामाथि विजय प्राप्त गर्ने दाबी गरेका छन्। उनले आफू कोरोना भाइरसको खोप उपलब्ध गराउन लागिपरेको बताउँदै २०२० को अन्त्यसम्ममा खोप वितरण गर्न सक्षम हुने दाबी गरेका छन्।

उनले खोप वितरणमा सेना परिचालन गरिने जानकारी दिदै त्यसका लागि सेना तयार राखिएको पनि बताए।  पहिलो चरणमा ३०० मिलियन खोप तयार गर्ने लक्ष्यका साथ काम भैरहेको पनि राष्ट्रपति ट्रम्पले बताए। 

यता राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरिरहेका बेला ह्वाइट हाउसका स्वास्थ्यविज्ञहरूले भने यो वर्षको अन्तसम्ममा कोरोनाको खोप तयार हुने कुरामै आशंका व्यक्त गरेका छन्। उनीहरूले पहिलो त खोप तयार हुने कुराकै सुनिश्चितता भएको बताउँदै कथमकदाचित भैहाल्यो भने अर्को वर्षको मध्यतिर मात्र खोप वितरण गर्न सकिने बताए ।

कोरोना कहरबाट मुक्ति पाउँन ट्रम्पले जित्नुपर्छ कि हार्नुपर्छ ?,  अमेरिकामा नयाँ शिराबाट बहस सुरू भएको छ। ट्रम्पले आफूले मात्र कोरोना कहरबाट अमेरिकालाई मुक्त बनाउने दाबी गरेका छन् भने उनका आलोचकहरू ट्रम्पले जिते अमेरिका कोरोनासँग मात्र हैन, अरू धेरै विषयमा पनि कहिलै नजित्ने गरी हार्ने बताइरहेका छन्।

राष्ट्रपति ट्रम्पका आलोचकहरू भने उनकै गलत नीति र रबैयाका कारण अमेरिकाले कोरोनाबाट यति ठूलो धनजनको क्षति ब्यहोर्नुपरेको आरोप लगाउँछन्। उनीहरू भन्छन्, 'विश्वका अन्य देशसँग सहकार्य गर्नेभन्दा पनि एक्लै चल्ने नीतिका कारण उनले अमेरिकालाई पूरै एक्ल्याएका छन्। यस्तो अवस्थामा अमेरिका एक्लैले यो विश्वमहामारीबाट  मुक्त हुन सम्भव नै छैन।'
यसरी परस्पर विरोधी आरोप प्रत्यारोपको दौड सुरू भएकाले अमेरिकाको ४६औं राष्ट्रपतिको चुनाव कोरोनामाथि नै लडिने सम्भावना बढ्दो छ। यो अत्यन्त जाेखिमपूर्ण विषय भएकाले कस्ले, कतिबेला आफ्नो पक्षमा पासा पल्टाउला भन्न सकिने अवस्था छैन। 

प्रकाशित मिति: : 2020-05-14 23:29:36

प्रतिकृया दिनुहोस्