पछिल्लो केही दिन लकडाउन खुकुलो भएसँगै उपत्यकामा २ दिनमा ४ जनामा कोरोना संक्रमण देखिएको छ। यसरी संक्रमित देखिनेमा सबै मानिस बाहिरी जिल्लाबाट काठमाडौं आएको खुलेको छ।
उपत्यकामा नयाँ संक्रमित थपिएसँगै नाकामा थप कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
'अब नाकामा थप कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले वितरण गरेका पासहरू अब रद्द गर्ने र सम्वधीत निकायले अत्यावश्यक काम हेरेर दिएका पासलाई पनि चेक गरेर मात्र छिर्न दिइने छ,’ डिआइजी पोखरेलले बिएल नेपाली सेवासँग भने।
मंगलवार गृह मन्त्रालयले गरेको निर्णय अनुसार आज देखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ईपास समेत खारेज गरेको हो।
उपत्यकाभित्र संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर ठिमी र काठमाडौंको चन्द्रागिरि नगरपालिकामा थप कडाइ गरिएको छ। संक्रमित रहेको टोलमा मानिसलाई हिँडडुल गर्न समेत रोक लगाइएको छ।
यस्तो क्षेत्रमा पूर्ण सिल गरेर कन्ट्रायक ट्रेसिङको काम भइरहेको डिआइजी पोखरेलले भने।
यसैबिच महानगरपालिकाले पनि बिहान ८ बजेसम्म अत्यावश्यक सामानहरू किन्न आग्रह गरेको छ।
महानगरले बिहिबार बिहान माईकिङ गर्दै कोरोनाको संक्रमण बढेको भन्दै तरकारी तथा अत्यावश्यक किन्न निस्कनेलाई सजकता अपनाउन आग्रह गरेको हो।
यसैबिच बैंक तथा वित्तीय संस्थाहरू पनि सिमित खुल्ने भएका छन्। त्यसैगरी उपत्यकाका निजी पेट्रोलपम्प सातामा एक पटक मात्र खुल्ने भएका छन्।
यता सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ।
यसरी हिँड्ने कर्मचारीको पनि पास चेक गरेर उनीहरुले पनि तोकेको निकायबाट जारी भएका पास बाहेक अरू पास भए खारेज हुनेछ।
यसैबिच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै उन्मुलन नहुन पनि सक्ने चेतावनी दिएको छ।
यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने डब्लुएचओले बताएको हो।
डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका हुन्।
नेपालमा हालसम्म २ सय ५० जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।