झण्डै डेढ महिना भारतीयभूमिमा शरणार्थी जीवन बिताइरहेका नेपालीले बिहीबार जब स्वदेशी धर्ती चुम्न पाए, उनीहरूको खुशी हेर्न लायक थियो। देश प्रवेश गर्दा उनीहरू युद्ध जिते जस्तो महसुस गरिरहेका थिए।
बैतडीको भारतीय नाका झुलाघाट र दार्चुलाका दत्तु र खलंगा नाकाबाट भित्रिरहेका नेपालीका अनुहार मलिन भए पनि आँखामा चमक देखिन्थ्यो। बैतडी र दार्चुलाका तीन नाकाबाट बिहीबार २५ सय ९५ जनाले मातृभूमी टेक्दाको दृश्य कारुणीक लाग्थ्यो।
आफ्नै देश आउन पनि उनीहरूले विदेशी भूमिमा डेढ महिना बन्दी जीवन बिताउन बाध्य भए।
दार्चुलाको दत्तु नाकाबाट ९ सय २० र खलंगा नाकाबाट ३ सय ७६ गरि कूल १२ सय ९६ जनाले आफनो धर्ती टेक्न पाए। नेपाल भित्रिएका नागरिकहरूमा सुदूरलगायत कैलाली र सुर्खेतका बासिन्दा पनि थिए। उनीहरूलाई बुढानिलकण्ठ स्कुलका पुर्व विद्यार्थी तथा व्यासमा बस्ने सौका समुदायले प्रत्येक सदस्यलाई नगद ५ सयसहित खाजा र पानीले स्वागत गरेका थिए।
यसरी दार्चुला नाकाबाट भित्रिएकामध्ये दार्चुला बझाङ र बैतडीका सम्वन्धित गाउँ र नगरपालिकाले सवारी साधनको व्यवस्था गरि क्वारेन्टाइनमा राख्ने सर्तमा आफूसँगै लगेका थिए। उनीहरू हाल टाढाका नेपाली सदरमुकामको क्वारेन्टाइनमा बसेका छन्। सदरमुुकाममा बिहीबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ३० पुगेको छ।
बैतडीको झुलाघाट नाकाबाट १२ सय ९९ नेपाली बिहीबार साँझ सीमा पुल बन्द हुनुअगाडी नेपाल प्रवेश गरेका छन्। यो स्थानीय प्रशासनले आशा गरेभन्दा दोब्बर संख्या हो। बैतडीमा पनि सुदूरका पहाडी जिल्लाका स्थानीयलाई उनीहरूको गाउँपालिका र नगरपालिका पठाइएको छ भने बाँकीलाई सदरमुकाम र नजिकका गाउँ र नगरपालिकाका क्वारेन्टाइनमा व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले विएल नेपाली सेवालाई बताए। झुलाघाटबाट आउनेहरूमा बैतडीकै पुर्चौडी हाटका बासिन्दा आधाभन्दा बढी छन्। आठ वटा बस पठाउँदा पनि पुर्चौडीका आधा मानिस सदरमुकाममै छन्। सहायक प्रमुख जिल्ला अधिकारी नेगीले शुक्रबारसम्म सबै जनाको व्यवस्थापन गरिसक्ने गरि प्रशासनले स्थानीय निकायसँग मिलेर काम गरिरहेको छ।
नेपालीहरू आउने क्रम हेर्दा शुक्रबार पनि झुलाघाट नाका व्यस्त रहने अनुमान गरिएको छ।
यिनै मजदुर वर्गको समर्थनले वर्तमान सत्तामा पुगेको ओली सरकारले कहिले पनि उनीहरूको समस्यालाई गम्भीर रुपमा लिएनन्।
मजदुर वर्गका यी नेपाली भारतमा कोरोना सन्त्रासबीच बन्दी जीवन बिनाइरहँदा ओली सरकार कहिले बाँस्कोटा बचाउन व्यस्त थियो त कहिले अध्यायदेश ल्याउन र फिर्ता गर्न हतारमा। कहिले आफ्नो कुर्सी कसरी बचाउने भन्ने चिन्तामै रुमल्लिरहेको थियो। आज पनि अवस्था केही परिवर्तन भएको छैन। उनीहरूले भने नेतालाई त देश भन्दा आफ्नो चिन्ता बढी रहेछ।
गृहको निर्देशनमा स्थानीय प्रशासनले सीमावर्ती भारतीय प्रशासनसँग आन्तरिक समन्वय गरी भारतमा फसेका नेपालीलाई स्वदेश ल्याउन ल्याइएको हो।
गत चैत २५ मै सर्वोच्च अदालतले सीमा फसेका नेपालीलाई स्वदेश ल्याउन आदेश दिए पनि गृहको आदेश र दुवै देशका अन्तर्राष्ट्रिय सीमा लकडाउनमा भएको सहमतिका कारण एक महिनादेखि भारतका क्याम्पमा नेपालीहरू शरणार्थी जीवन बाच्न बाध्य थिए।