कोरोना संन्त्रासका बीच यो नयाँ वर्षमा डडेल्धुराको महाभारत क्षेत्रमा पाटेबाघ भेटेर हौसिएका संरक्षणकर्मीले शुक्रवारदेखि फेरि यो अभियान दोहर्याएका छन्।
मुख्यतया चितुवाको बासस्थान रहेको डडेल्धुरास्थित महाभारत पर्वतको २५ सय मिटरको उचाईमा बाघ (रोयल बंगाल टाईगर) भेटिनु मुलुकको संरक्षण इतिहासको पहिलो घटना थियो।
२४ सय ९७ मिटर उचाईस्थित डडेल्धुराको र भागेश्वर मन्दिर नजिक बाघ क्यामरामा कैद हुनु आश्चर्यको विषय भएपछि वन मन्त्रालयले फेरि अध्ययन गर्न लागेको हो।
यसपालि अध्ययनको दायरा बढाइएको छ। महाभारत पर्वत हुँदै सीमा नदी महाकाली किनार र डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुढा हुँदै कञ्चनपुरको सीमा चुरे पर्वतसम्म ३० जोडी क्यामेरा राख्ने काम शुक्रबारबाट सुरु भएको छ।
डडेल्धुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार जेठ १२ गतेसम्म एक महिनाका लागि बाघ भेटिन सक्ने सम्भावित ठाँउमा क्यामेराकाे काम सुरु गरिएको छ।
बाघले आफ्नो वासस्थान फैलाएको चर्चा पहिले देखिकै हो तर सरकारले गरेको अध्ययनमा क्यामरामा चाँहि पहिला पटक कैद भएको थियो । सम्पुर्ण भू–भागको ७५ प्रतिशत क्षेत्र वनले ढाकेको डडेल्धुरास्थित महाभारत पर्वत जिल्लाको लाईफलाईन पनि हो। तर यो लाईफलाईन संरक्षणमा चुनौती थपिदै गएका छन् अतिक्रमणका कारण।
यो पर्वतमा विडालवंशीय लगायत अन्य वन्यजीवनको अध्ययन गर्न पहिलो पटक गत मार्च ६ देखि अप्रिल ६ सम्म एक महिना ३६ जोडी क्यामरा जडान गरिएकाे थियाे। विश्व वन्यजन्तु कोष र तराई भू–परिधि कार्यक्रमका पाँच जना प्राविधिक र डिभिजनल वन कार्यालयका पाँच जना यो काममा खटिएका छन्।
एक महिनाभित्र क्यामेराले लिएका तस्विरलाई अनुसन्धानकर्मीले अध्ययन गरेर महाभारत पर्वतमा बाघ भए नभएको पत्ता लाउने छन्।
भागेश्वर क्षेत्रमा भेटिएको बाघ रैथाने हो की घुम्दै पुगेको भन्ने विषयलाई यो दोस्रो अध्ययनले थप पुष्टि गर्ने छ। हिँउ पर्ने महाभारत पर्वतमा फेरि बाघ भेटिएकाे खण्डमा संसारकै संरक्षणकर्मीका लागि वन्यजीवनमा अध्ययन गर्ने नयाँ बाटो समेत तयार हुनेछ।
‘यत्रो उचाईमा बाघ भेटिनु हर्षका साथै दु:खको कुरा पनि हो। तराई र भित्री मधेशमा रमाउने बाघ वातावरणीय विनाश र आहाराको खोजीमा महाभारत पुगेको हो भने प्रकृतिको पारस्थिकिय प्रणाली(ईको सिस्टम) का लागि चिन्ता गर्नुपर्ने विषय पनि हो,’नयाँ वर्षमा डडेल्धुरामा बाघ भेटिएपछि वन मंत्रालयका प्रवक्ता डा. सिन्धु मल्लले बताए। उनले महाभारत वनक्षेत्रमा अझैं सघन अध्ययन हुनुपर्ने औल्याए।
संकटमा रहेको पाटेबाघ नेपाललगायत विश्वका १४ वटा देशमा मात्रै पाइन्छ। सन २०२२ सम्म मुलुकमा बाघको संख्या दोब्बर पार्ने अभियानमा संरक्षणकर्मी लागेका छन्। सन २०१८ को बाघ गणनामा उनीहरुको संख्या नेपालमा २ सय ३५ छ।