दार्चुलाकाे सदरमुकाम खलंगाको ठिकपारी भारतको धार्चुलामा रहेका १ हजार ५ नेपालीले हात जोडेर घर फर्कीन दिन सरकारसँग अनुरोध गरेका छन्।
गत बुधबार आमा बितेर क्याम्पमै क्रियामा बसेका दार्चुला शैल्यशिखरका बासुदेव भट्टलाई आइतबार छाडिएपछि आफूलाई पनि छाडिनु पर्ने उनीहरुको माग छ। प्रधानमन्त्री लगायत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उनीहरुले अनुरोध गरेका छन्।
‘हामी गरिब जनता हौं। हाम्रो जिम्मा सरकारको हो,’ उनीहरुले अनुरोध गर्दै भनेका छन्। अन्तर्राष्ट्रिय सीमामा आफूलाई शरणार्थी जीवन जीउन बाध्य पारिएको उनीहरुको गुनासो छ। तीन साताअघि नेपाल सरकारले उनीहरुको जिम्मा लिन नमानेपछि उनीहरुलाई भारतको धार्चुलाका विभिन्न पाँच स्थानमा क्वारेन्टाइनमा राखिएको थियो।
५ सय ७६ जना पहिलो दिन राखिएका नेपाली मजदुरको संख्या दोस्रो दिन एक हजार ६ पुगेको थियो। क्वारेन्टाइनको समय सकिदा पनि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन। भारतीय सरकारले गरेको स्वास्थ्य परीक्षणमा पनि उनीहरु करोना संक्रमित नरहेको पुष्टि भएको छ। तर पनि नेपाल सरकार अध्यादेश ल्याउन मग्न छ।
‘हामी रोगभन्दा शोकले मरिरहेका छौं,’उनीहरु भन्छन्–‘मरे आफ्नै देशमा मरौंला। बाँचे पनि त्यही बाँचौला, जसरी पनि हामीमाथि दया गर्नुहोस्।’
भारतले आफ्नो नाकामा कडाई गरेपछि ज्यान जोखिममा राखेर दिनहुँ नेपाल प्रवेश गरेका नेपाली पनि घटेका छैनन्।
धार्चुलामा फसेका बझाङका ७३ वर्षीय बृद्ध संग्राम जाग्रीले आफ्नो देश टेक्न आग्रह गरिरहँदा शुक्रबार १२ जना, सोमबार ४ जना नेपाली महाकालीमा हामफालेर दार्चुला पुगेका थिए।यसरी काली तरेर आएका १६ मध्ये २ जना भागेका छन्। आफ्नो गाँउ तिर भने १४ जनालाई सुरक्षाकर्मीले सदरमुकामकाे क्वारेन्टाइनमा राखेका छन्।
दार्चुलाको आहिलेको अवस्थाले सरकारको मनोदशा र बेथितीलाई कहिलेसम्म दर्शाउने हो र के–के देख्न र सुन्न पाइने हो हेर्न बाँकी नै छ।