कोरोना भाइरसविरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।
बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो चरणमा नेपाल ल्याइएको स्वास्थ्य सामग्री अनुदानमा पठाइएको हो।
करिब सवा ८ करोड रुपैयाँभन्दा धेरैको स्वास्थ्य सामग्री नेपालले बुझेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
प्राप्त सामग्रीमा १० हजार थान एन-९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, पीसीआर मेसिन दुई थान, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छ।
चैत २८ गते तिब्बत सरकारको विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री ल्हासा हस्तान्तरण गरेकी थिइन्।