कर्णालीका तीन जनामा कोरोना संक्रमण, पुन: परीक्षण गरिने  

कर्णालीका तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलालीको धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेसिनमा परीक्षणको क्रममा रुकुम पश्चिमका दुई तथा  मुगुका एक व्यक्तिमा रिपोर्ट पोजिटिभ आएको हो।

स्वाब संकलन गरेर २८ चैतमा सुर्खेतबाट कैलाली पठाइएको थियो भने रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि उनीहरुको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको छ। 

कैलाली पठाइएकामध्ये दुई जनाको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्काले बताए। ‘धनगढीमा परीक्षण गर्दा पोजिटिभ आएपछि ‘रिटेस्ट’का लागि  काठमाडौं पठाइएको छ,’ उनले भने, ‘सुर्खेतमा पीसीआर मेसिन नभएकाले आरडीटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएइको हो।’

त्यस्तै र्‍यापिड टेष्टका क्रममा मुगुका एक जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए। पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर सुर्खेत ल्याउने तयारी गरिएको छ।

पोजेटिभ देखिएका तीनै जना हालै भारतबाट फर्किएको जनाइएको छ।

प्रकाशित मिति: : 2020-04-16 21:56:07

प्रतिकृया दिनुहोस्