भक्तपुर नगरपालिकाका मेयर हुन्, सुनिल प्रजापती, ५५ । उनी नेपाल मजदुर किसान पार्टीका नेता हुन् । उनी संविधानसभा र सांसद् भएपछि मेयर भएका हुन्, उनी ।
भक्तपुर नगरपालिकामा लगातार नेमकिपाले शासन गर्दै आएको छ । अधिकांश किसान रहेको यो नगर देशकै व्यवस्थित शहर मानिन्छ । शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको छ यो नगरले । एनजीओ निषेधप्रायः छ । अधिकांश नेवार समुदायको बसोबास रहेको भक्तपुरमा सबैभन्दा जनतामा स्थापित छ– नेपाल मजदुर किसान पार्टी ।
भक्तपुरको सबैभन्दा ठूलो जात्रा हो– बिस्केट जात्रा । नगरपालिकाले कोरोनाकै कारण बैशाख १ मा मनाइने यो जात्रा स्थगित गर्ने निर्णय गरेको छ, हजारौं सहभागी हुन्थे। विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस फैलिएपछि देशसँगै भक्तपुर पनि बन्द छ। मेयर नगरपालिकामा व्यस्त छन्– पहिलेभन्दा बढी। किसानका तरकारी जनताका चुलोमा पुर्याउन नगरपालिकाले बजारको प्रबन्ध गरेको छ। यसै सन्दर्भमा मेयर प्रजापतीसँग बिएल नेपाली सेवाका लागि माधव ढुङ्गेलले लिएको अन्तर्वार्ता :
सिङ्गो भक्तपुर नगरपालिका सुनसान छ। मान्छे घरबाट बाहिर निस्केका छैनन् तर तपाईंलगायत नगरपालिकाको टीम भने यति व्यस्त देखिन्छ। नगरपालिकामा काम हुन्छ ‘लकडाउन’मा पनि ?
जनप्रतिनिधि जनताको सेवाका निम्ति हो। त्यसैले सरकारले ‘लकडाउन’ भनेर घोषणा गरे पनि जनप्रतिनिधि, सेना, प्रहरी, सशस्त्रलगायत राज्यको सञ्चालन तहमा बसेकाहरूले आराम गर्ने समय होइन यो। यस्तै बेलामा सबैभन्दा बढी समस्या हुनसक्छन्। दुःखद् घटना हुनसक्छन्। हामी तयारी अवस्थामा बस्नुपर्छ। नगरपालिकामा निश्चित साथीहरू पालैपालो गरेर बस्नुहुन्छ। कुनै पनि महत्वपूर्ण शाखा खाली छैनन्। पाँच जना भएको ठाउँमा एक जना मात्र भए पनि उपस्थित हुनुहुन्छ। कुनै पनि बेला केही पर्यो भने जनताको समस्या सहजै समाधान हुन्छ।
मेयर स्वयम् नियमित हुनुहुन्छ। ‘लकडाउन’ का बेला जनतालाई के–के समस्या आइपर्दा रहेछन्?
अहिले दुई–तीन वटा महत्वपूर्ण काम छ। स्वास्थ्यसँग सम्बन्धित काम हुन्छ।सरसफाइको काम हुन्छ। सरसफाइका १६० कर्मचारीहरू कसैलाई पनि बिदा दिएको छैन। हिजो–अस्ति मात्रैको कुरा, खानेपानीको पाइपले गर्दा ढलको समस्या भयो भनेर साथीहरू आउनुभयो। हामीले डोजर पठायौँ । डोजरले काम गरेन । त्यसपछि पानी खोल्ने मेशिन पठाइदियौँ । त्यसले पनि काम गरेन। केही नलागेपछि धेरै जना मान्छे नै लगाएर खनेर बल्ल बेलुका सात बजे मात्र काम सक्यौँं। खानेपानी, ढल र स्वास्थ्यसँग सम्बन्धित समस्या भने दिनरात भन्ने नै हुँदैन।
अहिले हाम्रो बिस्केट जात्राको समय छ। केही साथीमा के हुन्छ, कसो हुन्छ भन्ने कौतुहल पनि छ। त्यसैले धेरैले फोन गरेर सोध्नुभएको छ। त्यसैले यी कुरा हामीले कतिलाई फोनमार्फत् जानकारी दिन्छौँ। कतिलाई सम्बन्धित साथीलाई सम्पर्क गर्न भन्छाैं।
राहत वितरणको चटारो कत्तिको छ ?
कोरोनासँग सम्बन्धित खाद्यान्न वितरणको पनि विषय छ। सबैतिर नाम संकलन भइरहेको छ। नामहरू संकलन भइसकेपछि पनि हामी अत्यन्तै सतर्कतापूर्वक छानबिन गर्छौँ। साँच्चिकै हाम्रो कार्यविधि अन्तर्गत पर्छ कि पर्दैन? उसले खान पाएको छ कि छैन? एकदमै छानबिन गरेर मात्र दिने हो। आफैँ खान पुग्ने भएकोलाई दिनका लागि यो रहत हुँदै होइन। खान नपाएका काम गरी खाने मान्छेलाई केन्द्रबिन्दुमा राखेर उहाँहरूको एक–एक गरी छानबिन गरिरहेका छौँ। अहिलेसम्म करिब २४०० जतिको नाम संकलन भएको छ। साथीहरू दिनुपर्ने हो कि होइन भनेर घर–घरमा जानुभएको छ।
दिनैपर्नेका लागि कहिलेदेखि दिने भन्ने नै छैन, आजको आजै दिनुहुन्छ, साथीहरूले। सबैलाई एकसाथ दिन्छौँ। घरघरमै पुर्याउने तयारी छ।
ऐतिहासिक बिस्केट जात्रा नै स्थगित गर्ने ठूलो निर्णय नगरपालिकाले गर्यो। यो निर्णय गर्नुअगाडि कस्तो गृहकार्य गर्नुभो? फेरि यो धार्मिक विषय पर्यो, मान्छेको आस्थासँग जोडिने। यसबारे बताइदिनुस् न?
रोगव्याधिकै कारण जात्रा स्थगित भएको त हामीले सुनेका छैनौँ। मल्ल कालमा एकचोटी आजभन्दा ३ सय ५६ वर्षअगाडि काठमाडौं र ललितपुरका राजाहरूले सल्लाह गरेर भक्तपुरको जात्रालाई बन्द नै गर्नुपर्छ भन्ने दबाब दिएर बन्द गराएको इतिहासमा पाउँछौँ। रोग आएर बन्द भएको यसअघि सुनेको छैन। परम्परा यति नै सालदेखि सुरु भएको भन्ने हुँदैन। मल्ल कालमा करिब चार सय वर्ष अर्थात् मल्ल कालदेखि सुरु भएको भन्ने सुन्ने सुनेको छु। कति साँचो हो वा होइन, त्यो तथ्यप्रमाण हामीसँग छैन। फेरि कति सालदेखि सुरु भयो, संवत हुँदैन। इतिहासकारहरूको पनि व्यक्तिपिच्छे फरक–फरक सुन्ने गर्छौँ।
यसपालि बिस्केट जात्राको के–के चाहिँ मनाइन्छ ? जात्रा हुन्न, पूजा चाहिँ हुन्छ?
बिस्केट जात्रा भक्तपुरको महत्वपूर्ण चाड हो। परम्परादेखि चलेको कुरोलाई नरोक्ने, जनताबाहिर पनि ननिस्कने गरी बीचको बाटोबारे छलफल गर्यौँ। बिस्केट जात्रा परम्परा र संस्कृति हो। त्यस कारण लिङ्गो उभ्याउने दिन, ढाल्ने दिन, भैरवको रथ तान्ने दिन हजारौँ हजार मान्छेको जमघट हुन्छ। त्यस कारण प्रमुख जिल्ला अधिकारी, गुठी संस्थानका प्रमुख, टोल–टोलका जो–जो जात्रा गर्नुहुन्छ,उहाँहरूका नाइकेलाई बोलाएर छलफल गर्यौँ।
हामीले भन्यौँ– आज सारा विश्व नै कोरोनाविरुद्ध लडिरहेको छ। एकातिर कोरोना भाइरस, अर्कोतिर सारा विश्वका मानव जाति छन्। त्यस कारण संकटको घडीमा कोही पनि निस्कन नहुने बेला तपाईंहरू दुई–तीन जना गएर पूजा मात्रै गरिदिनुस्। भोज खाने, मोजमस्ती, रमाइलो अर्को साल गर्न सक्छौँ। अथवा, कोरोनालाई जितिसकेपछि अर्को समयमा हामीले क्षमापूजा भनेर गरौँ वा अरु केही गरौँ भनेर आग्रह गर्यौँ उहाँहरू खुशी हुनुभो। यो साल देवतालाई ‘देग छेँ’ (देवता राख्ने घर) बाट निकाल्दैनौँ। हामी दुई–तीन जना बसेर पूजाआजा सम्पन्न गर्छौं। पूजा मात्र गर्छौं। बाहिरका मान्छेलाई पनि आउन दिने छैनौँ । एकदमै सामान्य रुपमा गर्छौँ । सबै बसेर निर्णय गरिसकेको हुँदा परम्परागत रुपमा चलि आएको पूजा सामान्य रुपमा हुन्छ । मास जम्मा हुँदैन।
राहतमै फर्कौं, नगरपालिकाले राहत दिनुपर्ने भनेर ठहर गरेका मान्छेलाई के–कति दिनुहुन्छ?
नेपाल सरकारले एउटा मापदण्ड बनाएकाे छ। त्यसमा अलिकति परिमार्जन गरेर हामीले कार्यविधि पारित गर्यौँ । दुई जनासम्म भएको परिवार र दुईभन्दा बढी भएको परिवार भनेर दुई किसिमको बनाएका छौँ। दुई जनासम्मको परिवारलाई १० किलो चामल दिन्छौँ। दुईभन्दा बढी भएको परिवारलाई पाँच जनासम्म भयो भने २० किलो चामल दिन्छौँ। त्यही अनुपातमा चिउरा, दाल, साबुन, तेल, नून सबै दिन्छौँ। त्यसरी दिने निर्णय गरेका छौँ। सबै वडामा त्यही हिसाबले दिन्छौँ।
अहिले नगरपालिकाका कति जना कर्मचारी नियमित काम गरिरहेका छन् ?
दुइटा जिम्मेवारीका साथीहरूले धेरै काम गर्नुहुन्छ। एउटा, सरसफाई रोक्नु हुँदैन। यो अत्यावश्यक क्षेत्रभित्र पर्छ। त्यसमा १ सय ६० कर्मचारी सबैले गर्नुहुन्छ। अर्को, जनस्वास्थ्य क्षेत्रमा हाम्रो धेरै स्टाफ भए पनि अहिले १३ जना जतिले नियमित काम गर्नुहुन्छ। हामीसँग जनस्वास्थ्यमा ९६ जना हुनुहुन्छ। ३० जना डाक्टर, नर्स र अरु कर्मचारी हुनुहुन्छ। त्यसपछि भक्तपुर नगरपालिकाको प्रशासन शाखा, दर्ता शाखा, सचिवालय लगायत प्रत्येक शाखामा एक–एक गरी करिब १२–१५ जना हुनुहुन्छ।
उहाँहरूको सुरक्षा र सुविधाको व्यवस्था के छ?
नगरपालिकाका सबै कर्मचारी सचेत भएर नागरिकको सुरक्षामा काम गर्नुपर्छ। त्यसैले सबैका निम्ति गेटमै साबुन–पानीले हात धोएर मात्र भित्र पठाउने गरेका छाैँ। प्रत्येक ठाउँमा स्यानिटाइजरको व्यवस्था छ। मास्क अनिवार्य गरेका छौँ । बाहिरका मान्छे नभेट्ने नीति बनाएका छौँ।
नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको के व्यवस्था गरेको छ ?
नेपाल सरकारले एकैसाथ सबै स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउने भनेर पत्राचार गरेको छ तर पूर्वतयारीबिना त्यसरी गर्नु त्यति उपयुक्त देख्दैनौँ । बरु जहाँ–जहाँ आवश्यक छ, त्यो ठाउँका लागि आवश्यक सामान पठाइदिनुपर्यो। हामीलाई ठाउँ मात्र भएर पुग्दैन । ठाउँ त छ । ठूल्ठूला भवनहरू छन्।
ती ठाउँमा हामीले आइसोलेसन वार्ड बनाउन, क्वारेन्टाइन नै राख्न पनि कुनै गाह्रो छैन । त्यसको निम्ति जनशक्ति आवश्यक पर्छ । विभिन्न खालका उपकरण आवश्यक छ, औषधि होलान्। ती सबै नेपाल सरकारले दिएको भए त्यस्तो अवस्थामा हामी गर्न सक्थ्यौँ तर नेपाल सरकारले जनशक्ति पठाउँदैन । सामग्री पठाउँदैन। यतिसम्म कि खाटहरु नै पठाउँदैन भने हामी कसरी बनाउन सक्छौँ ?
हामीले भक्तपुर नगरपालिकाभित्र रहेका छ वटा अस्पतालहरू छन् । सबैलाई बोलाएर भन्यौँ– तपाईंहरूले कति तयारी गर्न सक्नुहुन्छ, नेपाल सरकारले यस्तो भनेको छ ।
हामीले भन्यौँ– तपाईंहरू आफ्नो क्षमताअनुसार गर्नुस् भन्यौँ । कसैले आइसोलेसनका लागि दुई वटा, कसैले छ वटा, कसैले १२ वटा, कसैले एउटा फ्ल्याट छुट्याउनुभएको छ । कथम्कदाचित परिहाल्यो भने हस्पिटलमै मात्र हाम्रो व्यवस्था छ । नगरपालिकाले छुट्टै क्वारेन्टाइन, आइसोलेसनको निम्ति गरेको छैन ।
मुख्य कारण के हो भने हामीले राम्रो बन्दोबस्त गर्न सकेनौँ भने बनाएकोभन्दा नबनाएकै वेश हुन्छ । जस्तो, अस्ति (पश्चिम) तराईमा भारतबाट आएकाहरू पाँच सयभन्दा बढी क्वारेन्टाइनबाट भागे। त्यहाँ कुनै बन्दोबस्त नभइसकेपछि त्यो क्वारेन्टाइन वा आइसोलेसनमा राख्नु र नराख्नुको अर्थ हुँदैन ।
हामीले जहाँ आवश्यक छ, त्यहाँ राज्य(सरकार)ले सामानको व्यवस्था गरिदिनुपर्छ । कोरोना संकछ हामीले कल्पना गरेका थिएनौँ । अस्पतालको आवश्यकता पर्छ भनेर अस्पताल बनाउँदै छौँ । कलेजको आवश्यकता छ भनेर कलेज बनाउँदैछाैँ। पहिले नै सोचेर बनाएको भए हामी एकदमै सुरक्षितसाथ बनाउन सक्थ्यौँ ।
हामीले अहिले गर्नसक्ने अवस्था छैन । अहिले न पसल खुल्छ, न केही ल्याउन सकिन्छ । ठाउँको हामीसँग कमी छैन तर जनशक्ति र उपकरणहरू सरकारले पठाइदिँदैन भने अस्पतालले गर्न सक्लान् तर नगरपालिकाले सक्दैन । हामीले सबै अस्पतालका डाक्टरहरूलाई नै बोलाएर कुराकानी गरेका छौँ ।
संघीय सरकारसँगको समन्वय कस्तो छ ?
कोरोनासँग सम्बन्धित कामका हिसाबले त ठीकै छ । संघीय मामिला, गृह, आपूर्ति मन्त्रालय र हामी समन्वयात्मक हिसाबले गएका छौँ । त्यसदेखि बाहेक जुन हिसाबले नेपाल सरकारले कानून बमोजिम स्थानीय तहलाई बलियो बनाउने भन्ने संघीयताको मर्म हो, त्योअनुरुप भइरहेको जस्तो हामीलाई लाग्दैन ।
केही उदाहरण मात्रै, १२ कक्षासम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई भनिएको छ तर अहिले शिक्षक कसले खटाउँछ ? संघीय सरकारको शिक्षा मन्त्रालयले खटाउँछ । खारेज भइसकेको अस्तित्व कहीँ नभएको जिल्ला शिक्षा अधिकारीलाई अहिले जिल्ला शिक्षा समन्वय इकाइ भनेर गठन गरिदिएको छ।
शिक्षकको खटनपटन उसले गर्छ । तलब खुवाउने नगरपालिकाले, शिक्षकको खटनपटन उसले गर्ने ? न यो कानून संविधानसँग मिल्छ, न संघीयताको भावनासँग मिल्छ । त्यो कुरामा भने हामीले नेपाल सरकारको आलोचना गरिरहेका छाैँ । त्यसरी स्थानीय जनता बलिया हुँदैनन्।
संघीयताको मुख्य कुरा भनेको स्थानीय तहलाई बलियो बनाउने हो । अधिकार विकेन्द्रीकरण गर्ने हो । अधिकार विकेन्द्रीकरण गर्ने संविधानको भावना हो तर सरकारको व्यवहारले केन्द्रिकृत गर्दैछ । हिजोको जुन मानसिकता छ, त्यही मानसिकता अनुसारै काम भइरहेको भनेर हामीले आलोचना गरिरहेका छौँ ।
गरीब मजदुरलाई त राहत बाँडिरहनुभएको छ । किसानका लागि चाहिँ राहत के छ?
यो राहत मजदुरलाई मात्र होइन, खान नपाएका सबैका निम्ति हो । किसान पनि होला । त्यो किसानले खेतीमा काम गर्न पाएनन् । खान पाएनन् । उसलाई पनि हो, अहिलेको राहत । हामीले किसानका लागि व्यवस्थापन गरेका छौँ । किसानको खेतमा काउली, आलु, सागजस्ता तरकारी फलिराखेको छ। सबै तरकारी खेर जान दिनुहुँदैन भनेर बिहान पाँचदेखि आठ बजेसम्म र बेलुका पाँचदेखि सात बजेसम्म सबै ठाउँमा बजार राखेका छौँ । २५ ठाउँमा ससाना टुक्रामा एक–एक मीटरको फरकमा तरकारी बेच्ने व्यवस्था गरिदिएका छौँ । पाँच बजेपछि ठाउँ–ठाउँमा विस्तारै किसानले तरकारी बेच्छन्। अनि खरीद गर्नेहरूले आफ्नो टोलभित्रको खरिदकर्ता त्यही ठाउँमा तरकारी किन्न आउँछन् । किसानको तरकारी पनि खेर गएन, जनताले ताजा तरकारी पनि खान पाए। त्यो सन्तुलन मिलाउने गरी हामीले काम गरिराखेका छौँ।
व्यावहारिक हिसाबले नै भनेको ठाउँमा तपाईंले भन्नुभए जस्तै गरी किन्न र बेच्न पाउने व्यवस्था छ ?
विल्कुलै छ। भक्तपुरमा हामीले धेरै हिसाबले अभ्यास पनि गर्यौँ । काठमाडौंमा धेरै तरकारी जाने ठाउँ हो नि भक्तपुर भनेको त। लकडाउनपछि सुरुमा हामीले सोच्यौँ– ठूल्ठूला ठाउँमा तरकारी बेच्न दिनुपर्यो भनेर तौमरी चोक, दत्तात्रेयको चोक, नासमा चोकजस्तोमा ठाउँ–ठाउँमा घेरा हाल्दिऊँ। त्यसपछि मान्छे सबै त्यहाँ केन्द्रित भए। त्यो त राम्रो भएन।
सञ्चारमाध्यमले पनि देखाए– भक्तपुरमा उल्लंघन भयो । यसो हेरेको हुन पनि हो । त्यो त गर्न खोजेको होइन । किसानको तरकारी जनताको मुखसम्म पुर्याउने हो। त्यो सन्तुलन मिलाउन खोजेको, हाम्रो ठाउँका लागि उपयुक्त भएन ।
तत्काल बदलेर गरेर बजारको लामो ठाउँ तोक्यौँ । सुकुलढोकादेखि न्हासमनासम्म भनेर तोकिदियौँ– करिब एक किलोमिटरजति । त्यहाँ पनि नगरभरिकै मान्छे केन्द्रित भए । दुई–तीन दिनमै बदल्यौँ । अब भएन, के गर्ने ? वडाले पायक परेको ठाउँमा वडाबासीका लागि भनेर राखिदिने भनेपछि प्रत्येक वडामा दुई–तीन ठाउँ गरेर २५ ठाउँमा राख्यौँ । त्यसमा पनि २३ ठाउँमा एकदमै व्यवस्थित भो । दुई ठाउँ तालाको र त्रिपुरासुन्दरीमा अलिकति भीड भइरहेको छ बजार क्षेत्र भएकाले । त्यसबारे हामी छलफल गरिरहेका छौँ । त्यसलाई पनि दुई–दुई ठाउँ गरेपछि ठीक हुन्छ । तरकारी खरीद–बिक्रीका लागि केही समस्या हुँदैन । त्यो हिसाबले हामी मिलाउँदै पनि छाैँ ।
आममान्छेलाई केही अपील गर्नुहुन्छ ?
भक्तपुर नगरपालिका किसानको बाहुल्यता भएको नगर हो । नगरबासीको महत्वपूर्ण जात्रा बिस्केट जात्रा हो । त्यस कारण विस्केट जात्राको समयमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले बिगतका वर्षमा जस्तै यो वर्ष पनि आज लिङ्गो उभ्याउने हो, आज भैरवको रथ तान्ने हो, आज ब्रम्हायणी देवको जात्रा हो, माइश्वरी, इन्द्रायणी, महारयी, महाकालीको जात्रा हो भनेर कृपया घर बाहिर ननिस्किदिनुस् । हाम्रो आग्रह हो । यो तपाईं–हामी सारा जनताका निम्ति हामी बोलिरहेका छौँ । यो मानव जातिले कोरोना भाइरसको विरुद्धमा गरिरहेको संघर्ष हो । अत्यन्त ठूलठूला शक्तिशाली भनिने अमेरिका, युरोपकै विकसित इटालीजस्ता देशहरू कोरोनाको प्रतिरोध गर्न असमर्थ भइरहेको समय हो । हाम्रो देशमा अत्यन्त थोरैमात्र संक्रमित छन्। यसैमा सीमित होस् । हामी कामना गर्न चाहन्छौं ।