चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीबाट सर्वाधिक प्रभावित मुलुकमध्येको एक हो इटाली।
फ्रेबुअरी २१ मा कोरोनाको महामारी सुरु भएयता इटालीमा १८ हजार २ सय ७९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। कोरोना भाइरसबाट ज्यान गुमाउने मुलुकमा इटाली पहिलो नम्बरमा रहेको छ।
बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ।
इटालीले देशमा जारी लकडाउनलाई मे ३सम्म बढाउने योजना बनाएको छ।मन्त्रीहरूसँगको छलफलपछि इटालीले यस्तो योजना बनाएको रोयटर्सले देशका दुई ट्रेड युनियन श्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा उल्लेख गरिएको छ।
इटाली मार्च ३ देखि लकडाउनमा रहँदै आएको छ। उसले लगाएको लकडाउनको पछिल्लो समयसीमा अप्रिल १३ मा सकिदैंछ।
‘आजको कुराअनुसार प्रधानमन्त्रीले रोक लगाइएका गतिविधि सुरु गर्ने अवस्था नरहेको निश्चित गर्नुभएको छ,’ यूआईएल युनियन नेता करमेलो बार्बाग्यालोले भने।
तर बन्द उद्योगहरू खोल्न अप्रिल सकिनु अगावै सरकारले केही खुकुलो प्रवाधान ल्याउनसक्ने ट्रेड युनियनले बताएका छन्।