यति बेला सिङ्गो संसारको आकाशमाथि कोरोना भाईरस नामको एउटा कालो बादल मडारिएकाे छ। इतिहासका विभिन्न अध्यायमा अनेक प्रकारका रोग र महामारीले लाखौं मानिस प्रभावित भएका छन् भने धेरै मृत्युको मुखमा नपुगेका होइनन्।
तर, अहिलेको अत्याधुनिक र नयाँ आबिष्कारको होड चलेको बेला विज्ञान र प्रबिधिको युगमा लाखौं मानिस सङ्क्रमणकाे शिकार भएका छन्। हजारौं मानिसले मृत्युवरण गरिसकेका छन्। महिनौसम्म कुनै औषधि पत्ता नलाग्दा विश्व त्रसित छ।
कोरोना भाइरस के–के कारणले सर्दछ र राेकथामकाे उपाय के हुन सक्छ भनेर यति बेला संसारभरिका बैज्ञानिक अहोरात्र खटिएका छन्। तर, उनीहरु पनि लक्ष्यमा पुग्न नसक्दा मानव सभ्यता र विज्ञानमाथि नै चुनौति थपिएकाे छ। अहिले सारा संसार ‘लकडाउन’ काे स्थितिमा छ भने सबैकाे जनजीवन कस्टकर बन्दै गइरहेकाे छ।
कोरोना फैलिन नदिन यति बेला चिकित्सकहरुले भेटघाट हुँदा एकआपसमा हात नमिलाउन, अङ्कमाल नगर्न, सार्वजनिक ठाउँमा खोक्दा तथा हाच्छ्यु गर्दा अनिवार्य मुख छोप्न उर्दी जारी गरेका छन्। जो सङ्क्रमित छन्, तिनलाई अस्पतालकाे ‘आइसोलेसन’ मा राखिएको छ भने शङ्कास्पद ब्यक्तिलाई ‘सेल्फ आइसोलेसन’ तथा ‘होम क्वारेन्टाइन’ मा बस्न आग्रह गरिएकाे छ।
हात मिलाउदा सङ्क्रमणको जोखिम बढ्ने त्रासका बीच केही शक्तिशाली राष्ट्रका प्रमुखले नमस्ते गरेपछि यति बेला पूर्वीय केही देशले आफ्नो देशको संस्कृति विश्वभरि फैलिँदै गएको भन्दै प्रसन्नता व्यक्त गरेका छन्।
सारा मानवजातिको अस्तित्व कोरोनाका कारण डगमगाएको बिषम परिस्थितिमा मेराे याे लेख जीवन र दर्शनबारे हिन्दू धर्म अनि पूर्वीय दर्शनको आँखाबाट नियाल्ने सानो जमर्को हो।
विश्वव्यापी रुपमा कोरोना सङ्क्रमण तीब्रहुँदै गएपछि थप सङ्क्रमण फैलिननदिन संसारभरि केही फरक अभ्यास गरिदैँछ। जस्तो कि:
-कसैसँग भेट हुँदा हात मिलाउनुको सट्टा नमस्कार गर्ने।
-घरबाहिर गएर फर्किएपछाडि हात खुट्टा धोएर मात्र घरभित्र पस्ने।
-बिरामी वा सङ्क्रमितका आसपासमा रहेका ब्यक्ति १४ दिनसम्म अलग्यै बस्ने।
-बाहिरबाट फर्किएपछि लगाएका कपडा फेरेर मात्र खाना खाने ।
नमस्कार गर्ने संस्कार नेपाली को हो। यस्तै मानिसको मृत्यु हुँदा काजक्रियाका लागि हामी १३ दिन अलग्गै बस्ने गर्छाै। त्यो अहिले ‘क्वारेन्टाइन’ बसेसरह हाे। हामी खाना खाँदा धोती फेरेर मात्र खान्छौ भन्ने जस्ता कुराहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। र, हाम्रो संस्कारप्रति गर्वका कुरा भेटिन थालेकाे छ।
अब एकछिन ठन्डा दिमागले सोचौं–हामीलाई हाम्रो संस्कृति अहिले मात्र याद आएको हो या सधैं यसकाे पालना गरिरहेका छौ? धोती फेरेर खाना खाने, बासीखाना नखाने, बाहिरबाट आउँदा हातखुट्टा धोएर धुप हालेर मात्र घर प्रवेश गर्नेलाई हामीले पाखण्डीको ट्याग भिराएयाैं। टपरे भन्याैं। नमस्कार गर्न छोडेर हात मिलाउनेभन्दा पनि माथि अङ्कमाल गर्ने संस्कार अपनायाैं। बिहान उठ्ने, आरती गर्ने, धुप बाल्ने, शङ्ख, घण्टा बजाउने जिम्मा मन्दिर र पण्डितमा मात्र सिमित गरिदियौ। आधुनिक बन्ने नाउमा, अरुभन्दा फरक देखिने होडमा आफ्नो पहिचान र धर्म आफैले फेरिदियौ।
अहिले बिपतमा हामी आत्मरतिमा रमाउँदै छाैं। यो त हाम्रा पूर्खाले अङ्गालेको संस्कार अनि संस्कृति भनेर लाजै नमानी कुर्लदैछौ। एकछिनलाई हामी कोरोना भाइरस र बिभिन्न धर्ममा ब्यक्त धारणा बुझ्ने प्रयास गराैं।
सुरुमा चीनको उहान शहरबाट सुरु भएको यो सङ्क्रमण अहिले सर्बत्र फैलिएको छ। दक्षिण कोरियाको एउटा चर्चका पादरीले क्रिश्चियन धर्मालम्बीलाई कोरोनाले छुन नसक्ने भनि सङ्क्रमित ब्यक्तिबाट अरुमा फैलाएको आरोप लगाइएकाे छ भने नेपालमा पनि कोरोनाका बारेमा विवादास्पद अभिब्यक्ति दिएका एक पास्टर पक्राउ परेका छन्।
यस्तै भारत लगायत मुलुकका मुसलमान समुदायले पनि मुस्लिम धर्मालम्बीलाई यो भाइरस सर्न नसक्ने र अल्लाहले रक्षा गर्ने भन्दै मस्जिदमा भेला हुने, नमाज पढ्ने र सभा सम्मेलन गरेको कारण तिब्र सङ्क्रमण फैलिएको स्वयम् सरकारले बताइरहेकाे छ।
हिन्दू धर्मशास्त्रले भन्दछ– भगवानको काम मानिसलाई सही मार्ग देखाउने मात्र हो। मानिसले जे कर्म गर्दछ, त्यसको शुभ अशुभ फल उ आफैले भोग्नु पर्छ। न त भगवानले हाम्रो पाप स्विकार गर्नु हुन्छ, न त पुन्य नै। यसको मतलब कोरोनाबाट बाँच्न हामी आफैले शास्त्रोक्त कर्म गर्नुपर्दछ।
यति बेला संसार नै ‘लकडाउन’ काे अवस्थामा छ। कोरोनाको फैलावट र सङ्क्रमण तिब्र छ। मानिस महिनौदेखि घरभित्र कैदी बनेका छन्। कोरोनाले आफू पनि सङ्क्रमित भइन्छ कि वा मरिने पो हो कि भन्ने चिन्ताले धेरै जना डिप्रेसनको शिकार हुन पुगेका छन्।
अब जन्म र मृत्युबारे हिन्दू दर्शन र धर्मशास्त्रले के भन्छ? एकछिन त्यता अध्ययन गरौ।
-हिन्दू धर्मग्रन्थ अन्तर्गत अठार पुराणमध्ये गरुणपुराण र भबिष्यपुराणका अनुसार जब हामी भ्रुणको रुपमा आमाको गर्भमा हुन्छौ। त्यही बेलामा नै जन्म पश्चात जीवन कस्तो हुने, जीवनमा के गर्ने, कहिले मर्ने, त्यो सबै निश्चित भइसकेकाे हुन्छ। याे निश्चित भएर नै हामी यस धरतीमा जन्म लिन्छौ तर जन्मिएपछि सबै कुरा बिर्सन्छौ।
भागवत गीता अध्याय २, श्लोक २० मा भनिएको छ–
न जायते म्रियते वा कदाचि
नायं भूत्वा भविता वा न भूय: |
अजो नित्य: शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ||
अर्थात :
आत्माका लागि न कहिल्यै जन्म छ न मृत्यु। आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिने छैन। उ अजन्मा छ, नित्य छ, शास्वत छ र पुरातन छ। शरीर मर्दा पनि उ मर्दैन।
चाणक्य नीति अध्याय ४, श्लोक १ मा भनिएको छ,
आयुः कर्म वित्तञ्च विद्या निधनमेव च।
पञ्चैतानि हि सृज्यन्ते गर्भस्थस्यैव देहिनः॥
अर्थात :
मानिसको आयु, कर्म, धन, बिधा र मरण यि पाँच कुराहरु गर्भमा नै लेखिएकाे हुन्छ। हिन्दू धर्मशास्त्रले देह र आत्मालाई फरक रुपमा परिभाषित गर्दछ। आत्मा अजर, अमर, अविनाशी छ। यो जन्मिदा पनि जन्मिदैन र मर्दा पनि मर्दैन। मर्ने भनेको त देह मात्र हो।
बेद, उपनिषद, पुराण, गीता र विभिन्न नीतिमा मानिसले जन्मेदेखि मर्ने बेलासम्म गर्नुपर्ने आचार र बिचारका बारेमा अनगिन्ती नियम उल्लेख गरिएका छन्। जीवनभरि सदाचारमा बाच्नु पर्ने र मृत्यु पश्चात पाप तथा पुन्यकर्म गरेअनुसारको फल भोग्नुपर्ने तथा पूर्वजूनिमा गरेको धर्मको आधारमा फेरि अर्को जन्म लिएर पृथ्वी लोकमा पुन:जन्म लिनुपर्ने जुन मान्यता छ, त्यसले पनि हामीलाई सधैं एउटा नैतिकताको अदृष्य बन्धनमा बाधिराखेको छ। चाहे त्याे पापको डरले होस् या धर्म कमाउनका लागि। पूर्वीय धर्म र दर्शनले जुन जीवन पद्दति अवलम्बन गर्नेकुरा सिकाएका छन्, ती अति गहन र मननयोग्य छ।
आज सारा संसारले पूर्वीय संस्कार र आध्यात्मिकता बारे खोज र अनुसन्धान गर्न थालेका छन्। हाम्रा बेद अनि पुराणका राम्रा पक्ष अबलम्बन गर्न खोज्दैछन्। हाम्रा शास्त्रीयमान्यतालाई विज्ञानसँग तुलना गर्दै हाम्रो संस्कृति विज्ञानसम्मत रहेको मान्दै छन्। तर, हामी भने–हामी को हौ, हाम्रो धर्म संस्कार, संस्कृति र दर्शन के हो बुझ्दै नबुझी आधुनिकीकरणको नाममा पश्चिमा संस्कृति अगाल्दै हाम्रो सनातन परम्पराबाट च्युत हुँदैछौ। आज सिङ्गो विश्वले हाम्रो दर्शन र संस्कृतिका राम्रा पक्ष पछ्याइरहेको परिवेशमा हामीले पनि एकपटक पूर्वजहरुले देखाएको मार्ग पछ्याउने कोसिस गर्ने हाे कि?