चन्दननाथ नगरपालिकामा एक करोडको कोरोनाविरुद्ध विपत् कोष

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि एक करोडको विपत कोष स्थापना गरेको छ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिइन्। 

‘नगरपालिकाले कोरोना विरुद्धको विपत् कोषका लागि नगरपालिका मातहतका सबै कर्मचारीले एक दिनको तलब र नगर कार्यपालिका सदस्यले दुई दिनको बैठक भत्ता जम्मा गर्ने निर्णय पनि गरेका छो,’ उनले भनिन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समपूरक कोष र लक्षित वर्गको विनियोजित बजेट रकमान्तर गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ।

श्रमिक, मजदुर तथा विपन्न नागरिकको पहिचान र लगत संकलन गरी राहतस्वरूप दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

यस्तै जिल्लाका अन्य स्थानीय तहले पनि कोरोनाविरुद्धको विपत कोष स्थापना गरेका छन्। पातारासीले १० लाख, तातोपानीले आठ लाख, तिलाले १० लाख, हिमाले १० लाख र सिँजा गाउँपालिकाले १५ लाख रुपैयाँको विपत् कोष स्थापना गरेका छन्।

प्रकाशित मिति: : 2020-04-05 23:15:39

प्रतिकृया दिनुहोस्