एउटा तस्वीर छिमेकी भारतको– कोरोना भाइरसको संक्रमणले निकै प्रभावित देश इरानमा फसेका ११ सय आफ्ना नागरिकमध्ये ७ सय जनालाई बिहीबार मात्र उद्दार गर्यो। र बाँकीका लागि पुनः प्रयासरत छ।
अर्को तस्वीर आफ्नो देशको– कोरोना भाइरसको संक्रमणको जोखिमका बीच भारतले २१ दिने ‘लकडाउन’ को घोषणा गर्यो। र, भारतको काला पहाडतिर पेट र जहान पाल्न पुगेका निरीह नेपालीहरू विश्व स्वास्थ्य संगठनले महामारी भनेर घोषणा गरिसकेको रोगबाट जोगिन सुदूर पहाडको अन्तिम सदरमुकाम दार्चुलाको सीमा नजिकै आइपुगेपनि आफ्नो देशको आगनमा खुट्टा टेक्नबाट बञ्चित छन्।
अहिले दार्चुलाको भारतीय नाका धार्चुलाको दृश्य बयान गर्न निकै गाह्रो छ। धार्चुलाबाट धनगढीको दूरी ३ सय २७ किलोमिटर मात्र टाढा छ। काठमाडौंभन्दा निकै नजिक। यहाँ प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बस्छन् र यहीबाट स्थानीय सरकार सञ्चालन हुन्छ।
तर, कोरोनाविरूद्धको लडाईंमा उनको सरकारले के गरिरहेको छ, कसैले अनुभव पनि गर्न पाएका छैनन्। देश ‘लकडाउन’ भएको पनि दश दिन बितिसकेको छ। तर, उनको क्याबिनेटले के गर्दैछ, कसैलाई पत्तो छैन।
के मुख्यमन्त्री भट्टलाई यति पनि थाह छैन, सुदूरको नेपाली सीमाबाट ४ सय किलोमटर दूरीमा छिमेकी भारतीय राज्य उत्तराखण्डको राजधानी देहरादून पर्दछ। जहाँ मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत बस्छन् र उनले पनि मोबाईल फोन बोक्छन्। आफ्ना छिमेकी समकक्षीलाई दुबैका सीमामा देखिएको यो मानवीय समस्या भन्न सकिन्न र? यस्तो मानवीय समस्या समाधान गर्न सकिन्न भने कुर्सीमा बस्नुको मात्र के अर्थ भयो। अरु समस्याको झन् कुरै नगरौं ।
यो राज्यविहिन अवस्थामा तलब खाने दार्चुलाका जनप्रतिनिधि लुकेर बसेका छन्। यसलाई निर्लज्जताको पराकाष्टा मान्दा हुन्छ। यो अवस्था पक्कै पनि इतिहासको पानामा लेखिने छ, एक दिन।
भारतीय ‘लकडाउन’ मा खोसिएको रोजगारीसँगै घरजहान र ज्यानको मायाले हिँडदैं दार्चुलाको सीमा पारी धार्चुला पुग्ने नेपालीको संख्या बिहीबारसम्म एक हजार नाघेको छ। जसमा ४० महिला छन् भने नाबालक र शिशुको संख्या यकिन छैन।
‘लकडाउन’मा सीमा पुल नखु्ल्ने जानकारी पाएपछि पाँच दिनदेखि मुलुक पस्न नपाएका नेपालीमध्ये सयभन्दा बढी ज्यान जोखिममा मोलेर महकाली तर्दैै घर पुगिसकेको खबर आएको छ, बैतडी र दार्चुलाका विभिन्न घाटबाट। यी दुई पहाडी जिल्लाको भारतसँग १० वटा परम्परागत नाका छन् ।
गृहको आदेश नआएको भन्दै नेपालले आफ्ना नागरिकका लागि सीमा पुल नखोलेपछि भारतले मानवीय आधारमा आफ्नो भूमिमा बसोबासको व्यवस्था गरेको छ।
धार्चुलामा अहिले विभिन्न पाँच स्थानमा अस्थायी क्वारेन्टाइन बनाएर नेपाली बसोबास गरेका छन्। उनीहरूको खानपिनको व्यवस्था पनि भारतीय सरकारले नै गरेको छ।
हिजोसम्म राष्ट्रियताको कुरा गरेर नथाक्ने नेपालको वर्तमान सरकार आफ्नो नागरिक बिचल्लीमा पर्दा टुलुटुलु हेरेर बसेको छ। र, हिजो जुन देशसँग सबैभन्दा बढी राष्ट्रियताको मुद्धामा भिडेको थियो, नेपाली जनतालाई पाल्ने जिम्मा उसैलाई दिएर आफू कानमा तेल हालेर सुतेर बसेको छ।
विदेशी भूमिमा यसरी असुरक्षित बस्नुपर्दा नेपालीहरू आफू राज्यविहिन नागरिक भएको महसुस गरिरहेका छन्। सायद कुनै पनि नागरिकका लागि योभन्दा कहाली लाग्दो अवस्था हुँदैन होला। उनीहरुले जसरी पनि आफूलाई भारतीय क्याम्पबाट निकालेर आफ्नो देश पस्न दिनुपर्ने सन्देश काली तरेर बुधबार दार्चुला पसेका नेपालीसँग पठाएका छन् ।
एक सय पचास मिटरको दूरीमा आफ्नो मुलुक छ। तर उनीहरु पाँच दिनदेखि सीमाबाट जन्मभूमिमा टेक्न पाएका छैनन्। हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ।
गत शनिबारदेखि सीमामा फसेका उनीहरुका लागि स्थानीय प्रशासनले गृहको आदेशभन्दै सोमबार साँझसम्म पनि सीमा पुल नखोलेपछि भारतीय प्रशासनले आफ्नो जिम्मामा लिएको थियो। सोमबारसम्म ५ सय ५७ मा रहेको संख्या अहिले बढेर हजार नाघेको छ।
जसमध्ये ६ जनाले कालीको भेल काट्दै जन्मभूमि प्रवेश गर्न खोज्दा प्रहरीको क्वारेन्टाइनमा बस्नु परेको छ । नेपालीलाई आफ्नो भूमिमा राखेकै भोलिपल्ट मंगलबार ९६ किलोमिटर दक्षिण बस्ने पिथौरागढ जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेड विजयकुमार जोगदण्डे धार्चुला पुगे र नेपालीको ‘लकडाउन’ अवधिभरका लागि आफ्नो प्रशासनले जिम्मा लिएको बताए।
तर, दार्चुलाको प्रशासन र सरकारले अहिलेसम्म नेपालीका बारेमा कुनै चासो राखेको देखिदैन्। यो ‘अभागी’ जिल्लालाई केन्द्रमा प्रतिनिधित्व गर्ने कांग्रेसका दिलेन्द्रप्रसाद वडु, सरकारी पक्षका सासंद गणेश ठगु्न्ना पनि यति बेला कत्तै देखिएका छैनन्। सायद उनीहरू पनि ‘होम क्वारेन्टाइन’मा होलान । स्थानीय बासिन्दामा यी दुईविरुद्ध व्यापक रोष छ ।
जोगदण्डेले दुबै देश ‘लकडाउन’ को अवस्थामा रहेको बेला आफूले मानवीयताका आधारमा नेपालीलाई गाँसबासको व्यवस्था गरेको र धार्चुलामा रहेका नेपालीलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
उनीहरुलाई धार्चुलाको ईण्टर मिडियट कलेज, फायर स्टेशन, निगालपानी, मिनि स्टेडियम र महाकाली किनारको गौशाला गरी पाँच ठाउँमा रखिएको छ ।
नेपालीलाई रखिएको क्याम्पमा भारतीय सुरक्षाकर्मी बाहेक अरुको पहुँच छैन । भारतीयले जे सूचना दियो, मान्नु पर्ने अवस्था छ ।
घरजहान पाल्न जानु पर्ने कालापहाड उनीहरु रहरले पक्कै पनि गएका थिएनन्। तर अफ्ठेरो अवस्थामा आफ्नै घर फर्किन पनि यस्तो होला भन्ने उनीहरुलाई लागेको थिएन। यति थाहा पाएको भए, सायदै उनीहरू भारत लाग्थे होलान। उनीहरु भन्दा बढी जान्ने गाउँको सरकार, त्यसपछि प्रदेश सरकार र सबैभन्दा माथि केन्द्रको सरकारमा बसेकाहरू यति बेला सुदूरपश्चिमेलीहरूको दुःखको रमिता हेरेर बसेका छन्, निर्लज्ज भएर ।