काेराेना संक्रमण परीक्षण र पहिचानमा जोड दिन मोदीको आग्रह

बिएल संवाददाता

नयाँदिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाइ जित्न संक्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गरे छन्।  

भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिवार उनले अझै केही हप्ता नागरिकको सुरक्षासँग विशेष सरोकार राख्ने यी काममा लाग्न आग्रह गरेका हुन्।

केन्द्रीय सरकारले घोषणा गरेको ‘लकडाउन’लाई कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्रीहरुलाई उनले धन्यवाद ज्ञापन समेत गरे। 

‘लकडाउन’का कारण कोरोना भइरसविरुद्धको लडाइमा सफलता मिलेको पनि बैठकमा उनले बताए। 

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार कोरोना विरुद्धको लडाईमा प्रदेशहरुले गरिरहेको कामको बारेमा उनले जानकारी लिएका थिए। उनीहरुले गरेको सामूहिक सहकार्यको बारेमा प्रधानमन्त्री मोदीले विषेश चासो राखेका वक्तव्यमा जनाइएको छ । 

भिडियो बैठकमा अन्य देशहरुले गरिरहेको प्रयास र अभ्यासको बारेमा समीक्षा र चर्चा भएको थियो । 

बैठकमा प्रधानमन्त्री मोदीले जति सक्दो थोरै क्षति हुनेगरी कोरोना भाइरसको माहामारी नियन्त्रण गर्ने साझा उद्देश्य रहेको बताए। उनले भने “अझै केही हप्ता हामीले कोरोना भाइरसबाट संक्रमित भएको शङ्का लागेकालाई परीक्षण गर्ने, पहिचान गर्ने ,आईसोलेसन र क्वारेनटाइनमा राख्नेतर्र्फ विशेष जोड दिनुपर्ने भएको छ ।” 

प्रधानमन्त्री मोदीले अत्यावश्यक स्वास्थ्य सामाग्रीको उत्पादन, वितरण र उपलव्धतामा ख्याल गर्न पनि आग्रह गरेका छन्। 

कोरोना भाइरसबाट संक्रमितलाई उपचारको प्रर्याप्त व्यवस्था भएको सूनिश्चित गर्न पनि उनले जोड दिए। 

बैठकमा सहभागी मुख्यमन्त्रीहरूले नेतृत्वदायी भूमिका, निरन्तर मार्गनिर्देशन र कठिन समयमा विषेश सहयोग गरेको भन्दै प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । 

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग यसअधि गत मार्च २० तारिखमा पनि भिडियो बैठक गरेका थिए। 

प्रकाशित मिति: : 2020-04-02 20:36:42

प्रतिकृया दिनुहोस्