बिरालो पनि कोरोना भाइरसबाट संक्रमित !

एजेन्सी

काठमाडाै‌ं

बेल्जियममा एक बिरालोमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो। लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो।

उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन्।

प्रोफेसर स्टीभेन भ्यान हचले भनेका छन्,’भेटनरी मेडिसिन फ्याकल्टीले बिराले कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको छ। उक्त बिरालो आफ्नी मालिक्नीसँग बस्दै आइरहेको थियो। आफ्नी मालिक्नीसँगमात्र बस्दै आइरहेको बिरालो केही दिनदेखि बिरामी रहेको थियो। उसमा कोरोनाका लक्षणहरु देखिएका थिए।’

उनी अगाडि भन्छन्, ‘बिरालोले लगातार उल्टी गरेको थियो भने श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो। उनीहरुले बिरालो जिवित रहेको वा मरेको त्योबारे जानकारी मैले पाएको छैन।’

विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन्।

जनावर संक्रामक रोग विशेषज्ञले भने यस यो घटनाको विषयमा प्रश्न उठाएका छन्। यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए।

केहीले भने यो परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। यसबारे अझै धेरै परीक्षण गरिनुपर्ने उनीहरुको तर्क छ। यसबारेमा थप परीक्षण नगरिए त्यसले राम्रो नतिजा नदिने आलोचकहरुले बताएका छन्।

यसले मानिसहरुमा आफ्नो घरपालुवा जनावरको बारेमा डर उत्पन्न गर्ने उनीहरुको भनाई छ। अहिले बिरालोको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमालिकको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको बताइएको छ।

बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलो घटना हो। यसअघि हङकङमा दुई कुकुरमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो।

प्रकाशित मिति: : 2020-03-30 01:12:31

प्रतिकृया दिनुहोस्